चरनको चरम अभावले मौरी किसान मारमा

कात्तिक २७, चितवन । चितवनमा वर्षेनी मौरीको चरन क्षेत्रफल खुम्चिदै गएको छ । व्यवसायिक मौरी किसान वृद्धि हुँदै जानु र चरन क्षेत्र प्रशस्त नहुंँदा मौरी किसान मारमा परेका छन् ।  मौरीपालनतर्फ किसानहरुको आकर्षण बढेपनि मौरीपालनका लागि चिउरी, तोरी, रुदिलो लगायतका बोटविरुवा कम हुँदा चितवनका किसानले अन्य जिल्लामा लगेर मौरी चराउनु पर्ने बाध्यता छ ।  भरतपुर महानगरपालिका वडा नम्बर ९ का मौरी किसान विष्णु भूषाल चरन अभावका कारण केही वर्ष अघिदेखि चरनको लागि दाङ, प्युठान, सर्लाही महोत्तरी जिल्लाहरुमा लगेर चराउंँदै आएको बताउँछन् । ‘चितवनमा चरन प्रशस्त छैन के गर्नु, अहिले डेढसय गोला लिएर दाङ आएको छु, उनले भने, चितवनमा ६० गोला छाडेर आएको छु ।’ गत वर्षभन्दा यसवर्ष मौसम, मह उत्पादनमा केही सुधार हुने भएतापनि चरनको अभाव सास्ती खेप्नु परेको उनले बताए ।  ‘गोलालाई गाडीमा राखेर बचाएर दाङ ल्याउनुपर्छ, फेरी केही समयपछि फेरी चितवननै फर्किनुपर्छ ।’ उनले भने । अहिले चितवनमा चिउरी पनि नफुलेको र भर्खर धान काटेर तोरी लगाउने बेला भएकोले चरनको चरम अभाव भएको उनको भनाइ छ ।  रत्ननगर नगरपालिका वडा नम्बर १५ का मौरी किसान रोशन पण्डित चरनकै अभावका कारण महको उत्पादन पनि घट्ने बताउँछन् । ‘मौरी किसानको संख्या र गोलाको संख्या बढेको छ । चरनचाँही वर्षेनी घट्दो छ ।’ चितवनको मौसमको भर नहुने र नियमित  हावा पानी आउने  भएकोले चरन अभाव हुने उनले बताए । ‘अहिले चितवनको मौसम राम्रो छैन । नियमित पानी जस्तै परेको छ, उनले भने, दाङतिर यो समय चिउरी र तोरी राम्रैसँग फुलेकोले चराउन लग्नुपर्ने बाध्यता छ ।’ पछिल्लो समय चितवन लगायत प्युठान, रोल्पा लगायतका मौरी किसानहरुले दाङ जिल्लामा मौरी चराउन ल्याएका कारण त्यहाँपनि चरन अभाव हुन थालेको घोराही नगरपालिका वडा नम्बर ४ का मौरी किसान गोपीचन्द्र न्यौपाने बताउँछन् ।  ‘अहिले हाम्रै जिल्लामा मौरी किसान बढेका छन् । यसमाथि चितवन, प्यूठान, रोल्पाबाट पनि मौरी ल्याउनुभएको छ, उनले भने, मौरीको गोला धेरै भएकोले चरन अभाव भयो ।’ चरन अभाव भएका कारण उत्पादनमा समेत ह्रास आउने उनले बताए । ‘अहिले मौरीले प्रसस्त रस चुस्न पाएका छैनन्, उनले भने, मेरोमा यसपटक उत्पादन ५० प्रतिशत मह उत्पादन घट्छ ।’  कतिपय फलफूल तथा अन्नबालीहरुमा विषादीको प्रयोग गरिएका कारणपनि मह उत्पादनमा ह्रास हुँदै गएको उनको भनाइ छ । नेपाल मौरीपालक महासंघका केन्द्रीय अध्यक्ष शिव प्रसाद शर्मा अहिले मौसम अनुकुल भएकोले गत वर्षभन्दा यस वर्ष मह उत्पादन बढ्ने अनुमान गरिएको बताउँछन् । ‘अहिले तराईका जिल्लामा चिउरी चाँडै फुल्न थालेको छ, उनले भने, गतसाल भन्दा यसवर्ष २० प्रतिशतले बढ्ने लक्षण देखिएको छ ।’  मौरी किसान बढेपनि जग्गा खण्डीकरण, वनजंगल मासिनु, रानी मौरीको गुणस्तरमा ह्रास र अव्यवस्थित विषादीको प्रयोगका कारण किसान र गोलाको संख्या बढेपनि मह उत्पादनमा भने ह्रास आएको उनको भनाइ छ । मंसिरबाट दाङ लगायतका जिल्लाहरुमा मह काढ्न शुरु गरिन्छ ।   उनका अनुसार आर्थिक बर्ष ०७५/७६ मा देशभर ३५ हजार मेट्रिक टन मह उत्पादन भएको थियो तर पछिल्ला वर्ष यो परिमाण घटेर वार्षिक एक हजार पाँचसय मेट्रिक टनसम्म उत्पादन भएको थियो । यसवर्ष देशभर तीन हजार मेट्रिक टन मह उत्पादन हुने अनुमान गरिएको छ ।  चितवनमा हाल व्यवसायिक किसानको संख्या साढे पाँचसयको हाराहारीमा छन् भने यहाँ ३५ हजार मौरीको गोला रहेका छन् ।  यसैगरी देशभर ११ हजार मौरी किसान रहेका छन् भने १ लाख भन्दा बढी गोलाबाट मह उत्पादन हुँदै आएको छ । नेपालमा मेलिफेरा र सेरेना जातको मौरीबाट मह उत्पादन हुँदै आएको छ ।