कुमारी बैंक–यती एयरलाइन्स व्यावसायिक सहकार्य सम्झौता

काठमाडौं (अस) । कुमारी बैंक र वायुसेवा कम्पनी यती एयरलाइन्स प्रालिले व्यावसायिक साझेदारीमार्फत संयुक्त रूपमा नेपालमै पहिलो पटक स्वाइप एन्ड फ्लाई क्याम्पेन सुरु गर्ने भएका छन् । यती एयरलाइन्सको स्काई क्लब कार्ड र कुमारी बैंकको भिसा डेबिट कार्डलाई एकीकृत गरेर कुमारी स्काई क्लब को–ब्रान्ड कार्ड जारी गरिनेछ । कुमारी स्काई क्लब कार्डवाहकले हरेक खरिदमा यो कार्डबाट भुक्तानी गर्दा हवाई यात्रा नगरे पनि यात्रा गरेसरह  निश्चित अंक प्राप्त गर्ने भएकाले ग्राहकसमेत प्रोत्साहित हुने बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले बताए । यती एयरलाइन्स र बैंकका साझेदार ग्राहकले जुनसुकै समय यो सुविधा प्राप्त गर्न सक्ने यती एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले जानकारी दिए । हवाई कम्पनी र वित्तीय क्षेत्रबीच यस किसिमको व्यावसायिक सहकार्य नेपालमै पहिलो पटक भएको हो ।  हाल कुमारी बैंकले १९६ शाखा, १७२ एटीएम, ३२ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेन्सन काउन्टरबाट बैंकिङ सुविधा दिँदै आएको छ ।