असोज ३१, रोल्पा । वर्षायाम लागेसँगै अवरुद्ध रोल्पाका अधिकांश ग्रामीण सडक अझै खुल्न सकेका छैनन् ।
एक नगरपालिका र ९ गाउँपालिका रहेको रोल्पामा ७२ ओटा वडा रहेका छन् । जिल्लाको सदरमुकाम लिबाङसँग सबै वडा सडक सञ्जालमा जोडिएको भएतापनि नयाँ ट्र्याक खोलिएको सडकमा पहिरो खसेपछि हाल अबरुद्ध भएका हुन् । वर्षा सकिएर चाडबाडको समय शुरु भएपनि गाउँ-गाउँ पुग्ने सडक नखुल्दा स्थानीयले सास्ती खेप्नु परेको छ ।
सडकमा पहिरो खसेर स्थानीयलाई हिड्डुल गर्न समेत गठिन भइरहेको रोल्पा नगरपालिका–१० धबाङका गिरीराज थापाको गुनासो छ । ‘गत साउन र भदौमा आएको वर्षाले सडक पूर्ण रुपमा ठप्प छ’ उनले भने ‘पहिरो नखसेको सडकमा पनि चिरा–चिरा परेर आवत–जावत गर्नै कठिन छ ।’
सम्बन्धित निकायले बेवास्ता गर्दा गाउँ जाने यात्रु प्रसस्तै भएपनि सवारी साधन चलाउनै मुस्कील परेको यातायात व्यवसायीहरुको गुनासो छ । स्थानीय सरकारले भएका सडकको स्तरोन्नति गर्ने भन्दा पनि नयाँ ट्र्याक खोल्नमै बढी ध्यान दिएकाले वर्षायाममा पहिरो जाने गरेको प्राविधिकहरुको भनाइ छ ।