नेपाल आउने पर्यटकलाई २०० डलर बोकेर आउन अध्यागमन विभागको आग्रह, कारण के हो ?

वैशाख ४, काठमाडौं । अन्तरराष्ट्रिय विमान स्थल (टीआईए) परिसरमा रहेको वाणिज्य बैंकको एटीएममा समस्या देखा परेपछि अध्यागमन विभाग, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले पर्यटकलाई नगद नै बोकेर नेपाल भ्रमणमा आउन आग्रह गरेको छ । कार्यालयले सूचना जारी गर्दै बैंक भुक्तानीमार्फत आगमन भिसा शुल्क स्वीकार गरिरहेमा बैंकमा समस्या देखिएकाले पर्यटकलाई नगद नै बोक्न आग्रह गरेको हो ।  बैंकमा डलर कार्ड नलिने समस्या देखा परेपछि पर्यटकको सहजताका लागि यस्तो व्यवस्था गरिएको अध्यागमन विभाग, टीआईए कार्यालयका प्रमुख पुष्पराज शाहीले जानकारी दिए । नेपाल राष्ट्र बैंकले यस विषयमा अध्ययन गरेको र वाणिज्य बैंकलाई अर्काे एटीएम राख्न पनि निर्देशन दिएको उनले बताए । यो समस्या हल नभएसम्म सूचना नहट्ने पनि उनको भनाइ छ ।  यो समस्या हल हुन अझै एक दुई दिन लाग्न सक्ने शाहीले अभियान डेल्लीलाई जनाकारी दिए ।  अहिले दैनिक बाह्य पर्यटक आगमनमा वृद्धि भएकाले उनीहरूलाई समस्या नहोस भनेर साथमा नगद नै बोकेर आउन आग्रह गरिएको शाहीले जानकारी दिए ।  टीआईए परिसरमा एउटा मात्र एटीएम मेसिन भएकोले पछिल्लो समय भीडभाड हुँदै अएको छ । प्राविधिक कठिनाइका कारण यात्रुले आगमनको समयमा भिसा कार्ड, मास्टरकार्डलगायत विद्युतीय माध्यमबाट भिसा शुल्क तिर्न समस्या परेको कार्यालयको भनाइ छ ।  त्यस्तै यात्रुले नगद नबोकेको अवस्थामा अध्यागमनमा अलपत्र पर्नुका साथै कतिपय अवस्थामा भिसा शुल्क तिर्न नगदको अभावमा प्रवेश अनुमति पनि पाउन नसक्ने हुन सक्ने सूचनामा भनिएको छ ।  अध्यागमनले सबै विदेशी यात्रुहरूको सुविधाका लागि र ई–बैंकिङ भुक्तानी बाधाबाट मुक्त हुनका लागि कम्तिमा २०० अमेरिकी डलर वा सो बराबरको परिवर्तनीय स्वीकृत मुद्राहरू नगदमा लैजान पनि अनुरोध गरेको छ ।