फेरि लकडाउन हुनु हुँदैन, अर्थतन्त्रले थेग्न सक्दैन : अर्थमन्त्री

पुस २६, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले फेरि लकडाउन हुन नहुने बताएका छन्। बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको दोस्रो वार्षिक साधारण सभामा अर्थमन्त्री शर्माले अब फेरि लकडाउन भयो भने मुलुकको अर्थतन्त्रले थेग्न नसक्ने बताए  । उनले भने, ‘त्यसैले अब फेरि लकडाउन गर्न हुँदैन ।’ कोभिड - १९ का कारण दुई वर्षसम्म व्यवसाय गर्न नपाएका व्यवसायीले वित्तीय संस्थाहरूबाट एकैपटक ठूलो परिमाणमा ऋण प्रवाह हुँदा यस्तो चाप परेको उनले बताए ।  अर्थमन्त्री शर्माले माघ महीनभित्रमा तरलता समस्या समाधान हुने पनि दावी गरेका छन् । उनले भने,  ‘तरलतामा देखिएको संकट समाधानका लागि प्रक्रिया अगाडि बढाइएको छ ।’ उनले अहिले बाहिर प्रचारमा आएजस्तै गरी अर्थतन्त्र संकटमा नपरेकोसमेत दावी गरे । उनले  सूचकहरमा केही दबाव परेको भए पनि त्यस्तो ठूलो संकट नआएको बताए । बैंक तथा वित्तीय संस्थाहरूले गरेको माग बमोजिम ३० प्रतिशत करबाट केही घटाउन सकिने उल्लेख गर्दै मन्त्री शर्माले बैंकहरूले पनि संकटका बेला बढी नाफामुखी हुन नहुने बताए । ‘संकट परेको बेला पनि बढी नाफा लिनुपर्छ भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ कि पर्दैन’, उनले भने, ‘संकटका बेला उद्योगधन्दालाई पनि बचाउनुपर्छ, जनतालाई पनि बचाउनुपर्छ र बैंकलाई पनि बचाउनुपर्छ भन्ने सबैको भावना हुनुपर्‍यो । यो भावना देखिएको छैन । संकटका बेला मिलेर एकले अर्कालाई बचाउने हो ।’  उनले मुलुकको गार्हस्थ उत्पादनमा बैंक तथा वित्तीय क्षेत्रको ठूलो योगदान रहेको चर्चा गर्दै संकटका बेला सरकार, निजी क्षेत्रलगायतले एकले अर्कालाई सहयोग गर्नुपर्नेमा जोड दिए । ‘मुख्य समस्या संकटका बेला पनि बढी नाफा लिनुपर्छ भन्ने प्रवृत्ति हो’, उनले भने, ‘यो प्रवृत्तिगत समस्यालाई समाधान गर्नको लागि एकअर्काका समस्या बुझेर सहयोग गर्नुपर्छ ।’ मन्त्री शर्माले दक्षिण कोरियालगायतका मुलुकमा शाखा खोल्न बैंकहरुलाई आग्रह गरे । कोरिया, जापान, इजरायललगायतका मुलुकबाट अनौपचारिक माध्यमबाट रेमिट्यान्स आउने गरेको सूचना प्राप्त भएको भन्दै उनले ती मुलुकमा शाखा खोल्न आग्रह गरे ।  उनले बैंकले व्यवसायीलाई ऋण उपलब्ध गराएपछि निश्चित समयसम्म ब्याज नबढाउनसमेत आग्रह गरे । उनले ऋण लिएर व्यवसाय थालनी गरेको केही समयमै बैंकहरूले ब्याज बढाउने गरेको गुनासो मन्त्रालयमा आउने गरेको भन्दै उनले त्यसो नगर्न आग्रह गरे । कोरोना संक्रमण बढ्न थालेपछि कोभिड- १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएससीसी) ले सरकारलाई देशभरका विद्यालय बन्द गर्न सिफारिस दिएको भोलिपल्टै अर्थमन्त्री शर्माले मुलुकमा फेरि लकडाउन हुन नहुने धारणा राखेका हुन्।  त्यसो त सीसीएमसीको आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णयलाई कार्यान्वयनमा लैजाने शिक्षा मन्त्रालयले निर्णय गरिसकेको छ ।