कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि

सरकारले पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ खोपको विज्ञान र नेपालमा खोप अभियान’ विषयक छलफल कार्यक्रममा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले पहिलो लगाएको खोपको मात्रा लगाएको आठ हप्तापछि दोस्रो मात्रा लगाउनुपर्ने भएकाले आगामी वैशाख ७ देखि १५ गतेसम्म दोस्रो मात्रा लगाउने तयारी गरिएको बताउनुभयो । माघ र फागुनमा पहिलो मात्रा लगाएको आठ हप्ता पुगेपछि सबैलाई वैशाख ७ गतेदेखि नै खोप लगाउने थालिएको हो । पहिलो चरणको खोप अभियानअन्तर्गत माघ १४ देखि ३० गतेसम्म लगाएका स्वास्थ्यकर्मी, अग्रपङ्क्तिमा काम गरेका सुरक्षाकर्मी, पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलगायतलाई ‘कोभिशिल्ड’ को दोस्रो मात्रा वैशाख ७ देखि १५ गतेसम्म लगाइने भएको छ । पहिलो चरणको खोप अभियान माघ १४ देखि फागुन पहिलो हप्तासम्म करिब चार लाख २९ हजारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइएको थियो । उक्त खोप अभियानमा कूल जनसङ्ख्या १.४ प्रतिशतलाई खोप प्रदान गरिएको थियो । सरकारले ७२ प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने लक्ष्यका साथ खोप किन्ने प्रक्रियासमेत अगाडि बढाएको उहाँले जानकारी दिनुभयो ।