कोरोना  संक्रमितको हेरचाहमा खटिएका नर्सको राष्ट्रपतिद्वारा उच्च प्रशंसा

वैशाख २९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर संक्रमितको हेरचाहमा खटिएका नर्सको उच्च प्रशंसा गर्नुभएको छ । उहाँले बुधवार ट्वीट गर्दै अन्तरराष्ट्रिय नर्स दिवस तथा २०१औं फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा शुभकामना दिंदै नर्सको उच्च प्रशंसा व्यक्त गर्नुभएको हो ।            ‘विश्वव्यापी महामारी कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर संक्रमितको हेरचाहमा अहोरात्र खटिनुभएका सम्पूर्ण नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै अन्तरराष्ट्रिय नर्स दिवस तथा २०१औं फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु’, उहाँले ट्वीटमा भन्नुभएको छ ।           बुधवार नेपालसहित विश्वभरि नै ‘नर्स : नेतृत्वका लागि आवाज, भविष्यको स्वास्थ्य सेवाका लागि एक दृष्टि’ भन्ने नाराका साथ अन्तरराष्ट्रिय नर्स दिवस मनाइँदै छ । रासस