व्यापारिक केन्द्र बन्दै बीपीनगर

–सिद्धराज भट्टविकासको पहिलो पूर्वाधार मानिने सडक सञ्जाल पुगेसँगै डोटीको बीपीनगर क्षेत्र पछिल्ला दशकमा मुख्य व्यापारिक केन्द्र बन्न थालेको छ ।  बीपीनगर र आसपासको क्षेत्र अदुवा, बेसारजस्ता कृषि उपजको उत्पादन र निर्यात गर्ने मुख्य क्षेत्रका रुपमा चिनिन्छ ।बड्डीकेदार गाउँपालिका–१ मा पर्ने यो क्षेत्रमा वार्षिक करोडौं मूल्य बराबरको अदुवा, बेसार, भटमास, कागतीलगायत कृषि उपजको कारोबार हुने गर्दछ । यसबाहेक यो क्षेत्रमा सङ्कलन हुने तेजपात, सम्य, झ्याउ पाखानबेदलगायतका जडीबुटी बाहिर निर

सम्बन्धित सामग्री

सडक सञ्जाल पुगेसँगै व्यापारिक केन्द्र बन्दै बीपीनगर

डोटी । विकासको प्रमुख पूर्वाधार मानिने सडक सञ्जाल पुगेसँगै डोटीको बीपीनगर क्षेत्र व्यापारिक केन्द्र बन्न थालेको छ । बीपीनगर र आसपासको क्षेत्र अदुवा, बेसारजस्ता कृषि उपजको उत्पादन र निर्यात गर्ने मुख्य क्षेत्रका रूपमा चिनिन्छ । बड्डीकेदार गाउँपालिका–१ मा पर्ने यो क्षेत्रमा वार्षिक करोडौं मूल्य बराबरको अदुवा, बेसार, भटमास, कागतीलगायत कृषि उपजको कारोबार हुने गर्दछ । यसबाहेक यो क्षेत्रमा संकलन हुने तेजपात, सम्य, झ्याउ पाखानबेदलगायतका जडीबुटी बाहिर निर्यात हुन्छ । यहाँबाट ठूलो परिमाणको जडीबुटी नेपालगञ्ज हुँदै भारत जाने गरेको स्थानीयवासी यमप्रसाद भट्टले बताए । तीन दशकअघि यो क्षेत्रमा सडक, स्वास्थ्य, शिक्षालगायत आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने प्रयास थालिएको थियो । ‘विकासका दृष्टिमा पहिलेको बीपीनगर र अहिलेको बीपीनगरमा धेरै फरक देखिएको छ’, केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पस बीपीनगरका प्रशासकीय अधिकृत यमप्रसाद भट्टले भने, ‘सडक, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा भइरहेका विकासले पहिलेको भन्दा अहिले आर्थिक क्रियाकलापमा वृद्धि हुँदै गएको छ ।’ डोटी र कैलाली जिल्लाको सीमा क्षेत्र हुँदै बग्ने ठूलीगाड नदी, उत्तरतर्फबाट आउने गडसिरी नदी र कापडी नदीको संगम नजिकैको मैदानी फाँटमा बीपीनगर बजार विस्तार भएको छ । यो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यसहित केबुलकार निर्माण गर्न पहल पनि थालिएको छ । यसका लागि बीपीनगरदेखि बनाना केदार हुँदै उदैनी केदारसम्म र अत्तरकाँडाको काफली गाडहुँदै बड्डीकेदारसम्म केबुलकार निर्माणका लागि पहल भइरहेको स्थानीय समाजसेवी पदमराज जोशीले बताए । यो क्षेत्रको नाम बीपीनगर राखिएकाले त्यहाँ घुम्न जाने जो कोहीले पनि नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई स्मरण गर्दछन् । २०४६ सालमा भएको राजनीतिक परिवर्तनसँगै स्थानीय प्रजातन्त्रप्रेमी बासिन्दाको पहलमा यो क्षेत्रलाई बीपीनगर नामकरण गरिएको हो । २०४६ अघिसम्म यो क्षेत्र ‘घोडिलास’ नामले चिनिन्थ्यो । धनगढी–डँडेलधुरा (भीमदत्त) राजमार्गमा पर्ने कैलालीको सहजपुर सडक खण्डबाट बीपीनगरको दूरी १८ किलोमिटर छ । यो सडकलाई साविकको भन्दा थप चौडा बनाएर स्तरोन्नति गर्ने काम भइरहेको छ । सहजपुरदेखि बीपीनगर र बोगटान क्षेत्र हुँदै जिल्ला सदरमुकाम दीपायलसम्मको सडक बन्दै छ । यस्तै धनगढीदेखि स्याउले–बीपीनगर हुँदै दीपायल सम्मको फास्ट ट्र्याक पनि निर्माणाधीन छ । सडक सञ्जालका दृष्टिमा यो क्षेत्र केन्द्र भागमा पर्न थालेकाले पनि यसको महŒव अझ बढ्ने देखिएको छ । यस क्षेत्रमा क्याम्पस, विद्यालय, स्वास्थ्य संस्था, इलाका प्रहरी कार्यालय सञ्चालनमा छन् । सम्भावना र अवसरको खोजी गर्दै स्थानीय युवा करन साउदले यो क्षेत्रमा हालै रू. १ करोडभन्दा बढीको लगानीमा सुविधायुक्त होटेल सञ्चालनमा ल्याएका छन् । रासस