विश्वका विभिन्न कोरोना विरुद्धको खोपको उत्पादन बढेसँग नेपालमा खोपको भण्डारण क्षमता विस्तार तथा खोप केन्द्रहरुलाई तयारी अबस्थामा राख्नेदेखि कर्मचारी परिचालनको कामलाई तीब्रता दिइएको छ ।
छिटै संभवत फागनुसम्ममा खोप आउने संकेत देखिएपछि नेपालमा रहेका १६ हजार खोप केन्द्रलाई उपयोगमा ल्याउने सरकारले तयारी गरेको छ । नीतिगत र कानुनी जटिलता फुकाइसकेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप कार्यक्रम प्रभावकारी बनाउन पाँच हजार कर्मचारी र ५२ हजार स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने अन्तिम तयारीमा छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमले एकदेखि आठ डिग्री सेल्सियसमा एक करोड ७० लाख खोपको भाइल भण्डारण गर्न सकिने पूर्वाधारको विकास भैसकेको बताउनुभयो ।