धरानका नवनिर्वाचित मेयरले गरे पदभार ग्रहण, पहिलो प्राथमिकता खानेपानीको समस्या समाधान

जेठ १०, धरान । एशियाली विकाश बैंकको ऋण तथा अनुदानमा सञ्चालित धरानमा खानेपानी परियोजनाले पनि पानी खुवाउन नसकेपछि नवनिर्वाचित मेयर हर्कराज साम्पाङले पहिलो प्राथमिकता मै खानेपानीको समस्या समाधानलाई राखेका छन् ।  उनले मंगलवार पदभार ग्रहण गर्दै पहिलो चरणमै खानेपानी वितरणलाई चुस्त बनाउँदै चुहावटलाई रोक्ने प्रतिबद्धता जनाए । खानेपानी वितरणलाई व्यवस्थापन गर्न नसक्दा नै खानेपानीको अभाव चुलिदै गएको उनको भनाइ छ ।  उनले भने, धरानको पहिलो समस्या भनेको खानेपानी हो, परियोजना सञ्चालन हुँदा पनि खानेपानीको अभाव भइरहेको छ, यसको समाधाननै मेरो पहिलो प्राथमिकतामा रहेको छ ।’ परियोजनाको उत्पादन बढाउने र स्रोत थप्ने कामलाई अघि बढाउने उनले बताए ।  आर्थिक अवस्थाको आधारमा नागरिकलाई वर्गिकरण गरेर नागरिकको अवस्था सुधारमा लाग्ने योजना रहेको उनको भनाइ छ । उनले भने, जनताले सरकार भएको महशुस गराउनेछौं, आन्दोलनबाट आएकाले स्थानीय सरकार रहेको अनुभुति गराउनेछौं ।’  राईले पदभार ग्रहण गरेसँगै वैज्ञानिक कर लागू गर्न अध्ययन गरी सुझाव पेश गर्न एक कार्यदल गठन गर्ने निर्णय गरेका छन् । कार्यदलको संयोजकमा उपमेयर अइन्द्रविक्रम बेघालाई जिम्मेवारी दिइएको छ भने सदस्य सचिवमा राजस्व महाशाखा प्रमुख छन् ।  यस्तै, सदस्यमा प्रमुख प्रशासकीय अधिकृत, नगर प्रमुखबाट मनोनित एक जना अर्थशास्त्री र सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष वा उनले तोकेको व्यक्ति कार्यदलमा सदस्य रहनेछन् । कार्यदलले धरानको कर वैज्ञानिक भए नभएको, आय स्रोतहरुको पहिचान गर्ने र दररेट निर्धारणको लागि अध्ययन गरि सुझाव दिने मेयर राईले जानकारी दिए ।  राईले खानेपानी परियोजनाकै विषयमा लामो समयदेखि आन्दोलन गर्दै आएका थिए । धरानका नागरिकको साना साना आवश्यक्तालाई प्राथमिकताको आधारमा समाधान गर्दै अघि बढ्ने उनको भनाइ छ । सर्वदलिय सहभागितामा धरानको विकाशमा मिलेर अघि बढ्ने उनले बताए । धरानलाई उन्नत शहर बनाउने उनले समेत उनले जानकारी दिए ।