अस्ट्रेलियाली र क्यानेडेली डलर अभाव

काठमाडौं। उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया र क्यानडा जाने विद्यार्थीको संख्या बढेसँगै बजारमा अस्ट्रेलियाली र क्यानेडेली डलरको नगद अभाव भएको छ । विद्यार्थीले विश्वविद्यालयको शुल्क बैंक ट्रान्सफरमार्फत भुक्तानी गर्ने भए पनि व्यक्तिगत खर्चका लागि नगद नै सटही गर्ने भएकाले अभाव भएको हो । सर्वसाधारणले नेपाल राष्ट्र बैंकको काउन्टरबाट समेत मागअनुसार सटही सुविधा नपाएको गुनासो गरेका छन् ।  राष्ट्र बैंकले हाल विद्यार्थीलाई भिसा तथा हवाई टिकट निश्चित भएपछि अस्ट्रेलियाली र क्यानेडेली ३ सय डलरसम्म नगदमा सटही सुुविधा उपलब्ध गराउँदै आएको छ । यसभन्दा बढी रकमका लागि भने बैंक, वित्तीय संस्थाले जारी गर्ने अमेरिकी डलरको विद्युतीय कार्डमार्फत सटही गर्न सकिने व्यवस्था गरिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डा. डिल्लीराम पोखरेलले जानकारी दिए । नगद सञ्चितिका कारण विद्यार्थीलाई मागअनुसार सटही सुविधा भने दिन नसकिएको उनले स्वीकार गरे ।  ‘अस्ट्रेलिया र क्यानडा जाने विद्यार्थीको संख्या बढेसँगै नगद सटही गर्ने चाप बढेको छ,’ उनले भने, ‘नगदको सञ्चिति कम भएकाले अस्ट्रेलियाली र क्यानेडेली डलर मागेअनुसार दिन सक्ने अवस्था छैन ।’ पछिल्लो समय विद्युतीय भुक्तानीको प्रयोग बढ्दै जाँदा पर्यटकले पनि नगद बोक्न छाडेकाले नगद सञ्चिति कम छ । तर, अन्य माध्यमबाट तोकिएअनुसार सटही सुविधामा भने समस्या नभएको उनले बताए ।  हाल राष्ट्र बैंकले उच्च शिक्षा अध्ययन गर्न जाने विद्यार्थीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ‘नो अब्जेक्शन लेटर (अनापत्तिको प्रमाणपत्र) का आधारमा सटही सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ । विद्यार्थीलाई विश्वविद्यालयको शुल्क भुक्तानी गर्न बिल भौचरका आधारमा सटही सुविधा दिने गरेको छ । यसबाहेक राहदानीबापत २ हजार ५ सय अमेरिकी डलससम्म सटही सुविधा पाउँछन् ।  नगदमै सटही सुविधा खोज्ने प्रवृत्तिले अभाव देखिएको सहायक प्रवक्ता पोखरेलले बताए । ‘अहिले हामीसँग पर्याप्त विदेशी मुद्रा सञ्चिति भएकाले तोकिएअनुसार सटही सुविधा दिन समस्या छैन,’ उनले भने, ‘अमेरिकी डलरको विद्युतीय कार्डभन्दा नगदमै जोड दिएकाले समस्या देखिएको हो ।’ अमेरिकी डलरलाई अस्ट्रेलियाली र क्यानेडेली डलरमा परिवर्तन गर्दा विनिमय दरका कारण केही अन्तर पर्ने भएकाले विद्यार्थीले सकेसम्म नगद नै खोज्ने गरेको उनले बताए ।  विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएको संस्था ओली एन्ड एशोसिएट्सका अपरेशन म्यानेजर युवराज कार्की डलर कार्ड बोकेर जान विद्यार्थीले झन्झट मान्ने गरेको बताए । यसैगरी डलर कार्ड स्थानीय मुद्रामा सटही गर्दा महँगो पर्ने भएकाले सकेसम्म नगद नै खोज्ने गरेको उनले अनुभव सुनाए ।  राष्ट्र बैंकको निर्देशनमा विद्यार्थीले अतिरिक्त न्यूनतम २ हजार ५ सय रुपैयाँदेखि अधिकतम ८ हजार अमेरिकी डलरसम्म वार्षिक निर्वाह खर्चसमेत सटही गर्न पाउने व्यवस्था छ । यसअनुसार बंगलादेश र पाकिस्तानका लागि २ हजार ५ सय, चीन, मलेशिया, थाइल्यान्ड र फिलिपिन्सका लागि ४ हजार, सिंगापुर, दक्षिण कोरियाका लागि ६ हजार, क्यानडा, अमेरिका, अस्ट्रेलिया र यूरोपेली मुलुकका लागि ८ हजार तथा अन्य देशका लागि ५ हजार अमेरिकी डलरसम्म वार्षिक सटही सुविधा पाउने व्यवस्था छ ।  कोभिड–१९ महामारी सकिएसँगै उच्च शिक्षा अध्ययन गर्न विदेश जाने नेपालीको संख्या बढिरहेको छ । यसले गर्दा उच्च शिक्षाका लागि नेपालबाट बाहिरिने रकम बढिरहेको छ ।  राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको ३ महीनामा मात्र उच्च शिक्षाका लागि ३२ अर्ब ९२ करोड रुपैयाँ बाहिरिएको छ । गत आवको असोजसम्ममा उच्च शिक्षाका लागि १७ अर्ब ८९ करोड रुपैयाँ बाहिरिएको थियो । गत आवमा मात्र उच्च शिक्षाका लागि १ खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको थियो ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा ३० हजारभन्दा बढीले नो अब्जेक्शन लेटर लिइसकेका छन् । यसमा बढी क्रमश: अस्ट्रेलिया, क्यानडा, जापान, अमेरिका र बेलायतको लागि जारी भएको मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए । गत आर्थिक वर्षमा एक लाख १० हजारभन्दा बढीले मन्त्रालयबाट नो अब्जेक्शन लेटर लिएका थिए ।  पछिल्लो समय विप्रेषण आप्रवाह वृद्धिसँगै विदेशी मुद्राको सञ्चिति सहज अवस्थामा छ । विदेशी मुद्राको सञ्चिति वृद्धिसँगै नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिबाट विदेश भ्रमणमा जाने नेपालीका लागि राहदानीबापतको सटही सुविधा बढाएर २ हजार ५ सय डलर पुर्‍याएको छ । 

सम्बन्धित सामग्री

विदेशी मुद्राको निक्षेप घट्दै

काठमाडौं । विदेशी विनिमय सञ्चितिमा ह्रास आइरहेका बेला गैरआवासीय नेपालीबाट विदेशी मुद्रामा निक्षेप ल्याउन बैंकहरूलाई प्रोत्साहन गरे पनि बैंकहरूमा भने विदेशी मुद्राको निक्षेप घट्दै गएको छ । नेपाल बैंकर्स संघको तथ्यांकअनुसार वाणिज्य बैंकहरूमा विदेशी मुद्राको निक्षेप ४ वर्षअघिकै विन्दुमा पुगेको छ । २०७५ असोजमा वाणिज्य बैंकहरूमा विदेशी मुद्राको निक्षेप ८७ अर्ब रुपैयाँ रहेकोमा २०७८ असोजमा १ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको थियो । त्यसपछि पुनः घट्दै २०७८ पुस मसान्तसम्ममा ९७ अर्बमा झरेको छ । नेपाल राष्ट्र बैंकको नीतिगत प्रावधानअनुसार एनआरएनका साथै विदेशी मुद्रा आर्जन गर्ने सर्वसाधारणहरूले विदेशी मुद्रामा निक्षेप राख्न पाउँछन् । विदेशी मुद्रा भित्र्याउने उद्देश्यले गत मङ्सिरमा राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई गैरआवासीय नेपालीबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न व्यवस्थालाई लचिलो बनाएको थियो । नयाँ व्यवस्थाअनुसार वाणिज्य बैंकहरूले गैरआवासीय नेपाली (एनआरएनए) हरूबाट अमेरिकी डलर, यूरो, पाउन्ड स्टर्लिङ, अस्ट्रेलियाली डलर वा क्यानेडेली डलर, जापनी येन र चिनियाँ युआनमा एकवर्षे अवधिको मुद्दती निक्षेप खाता खोल्न पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले २ वर्ष अवधिको मात्र खाता खोल्न सकिने व्यवस्थालाई परिवर्तन गरी एकवर्षे अवधिको र अमेरिकी डलरका अतिरिक्त जापानी र चिनियाँ मुद्रामा समेत खाता खोल्न सकिने सुविधा थप गरेको हो । यसै गरी मुद्दती खातामा राख्नुपर्ने न्यूनतम रकम पनि १० हजार डलरबाट घटाएर ५ हजार डलर कायम गरिएको छ । विदेशी मुद्रामा खाता खोल्ने ग्राहकको ग्राहक पहिचानसमेत अनलाइन माध्यमबाट गर्न सकिने व्यवस्था गरिएको छ । विदेशी मुद्रा भित्र्याउन खाता खोल्ने प्रावधान लचिलो बनाए पनि बैंकहरूमा विदेशी मुद्राको निक्षेप बढ्न सकेको छैन । अर्थमन्त्री जनादर्न शर्माले सार्वजनिक कार्यक्रमहरूमा बैंकहरूलाई एनआरएनबाट विदेशी मुद्रामा निक्षेप ल्याउने प्रावधानको मार्केटिङ गर्न आग्रह गर्दै आएका छन् । विदेशमा नेपालीहरूले ऋणात्मक ब्याजदरमा समेत निक्षेप राख्ने भएकाले त्यो रकम नेपाली बैंकहरूले ल्याउन सक्ने उनको भनाइ छ । हालसम्म नेपाल बैंकले मात्र औपचारिक रूपमा यस्तो योजना सार्वजनिक गरेको छ । गत सातामात्र नेपाल बैंकले एनआरएन डिपोजिट एकाउन्ट सार्वजनिक गर्दै अमेरिकी डलरमा साधारण बचत खातामा ४ दशमलव ५ र मुद्दती निक्षेपमा ५ प्रतिशत ब्याज दिने घोषणा गरेको छ । पछिल्लो समय विदेशमा बस्ने नेपालीहरूका साथै देशबाट समेत क्रिप्टोकरेन्सीलगायत अनलाइन मार्केटिङमा लगानी गर्ने क्रम बढ्दै गएकाले विप्रेषण आप्रवाहसमेत प्रभाव परेको राष्ट्र बैंकले अनुमान गर्दै आएको छ । मंगलवार पनि राष्ट्र बैंकले चेतनामूलक तथा वित्तीय साक्षरतासम्बन्धी सूचना जारी गर्दै क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ कारोबार तथा व्यवसायमा संलग्न नहुन आग्रह गरेको छ । छोटो अवधिमा उच्च प्रतिफल पाउने प्रलोभनमा परी क्रिप्टोकरेन्सीको प्रयोग, यससँग सम्बद्ध लगानी र नेटवर्क मार्केटिङ व्यवसायमा आबद्ध हुँदा लगानी डुब्ने उच्च जोखिम हुने तथा कानूनी झन्झटसमेत आउन सक्ने भएकाले यस्तो कारोबार तथा व्यवसायमा संलग्न नहुन स्वदेश तथा विदेशमा बस्ने नेपालीलाई सचेत गराएको छ । राष्ट्र बैंकले पटकपटक सार्वजनिक सूचना जारी गरी क्रिप्टोकरेन्सी तथा नेटवर्क मार्केटिङ लगानी नगर्न चेतावनी दिए पनि नेपालीहरूले कारोबार गर्न भने छोडेका छैनन् ।

अस्ट्रेलियामा लाखौँ डलर पर्ने सुन भएका चट्टान

एउटा क्यानेडेली खनिज कम्पनीले पश्चिमी अस्ट्रेलियास्थित एउटा खानीबाट गत हप्ता एक करोड १० लाख डलर मूल्य पर्ने सुन उत्खनन गरिएको जनाएको छ।