माघ ४, काठमाडौं । ५० लाख रुपैयाँ अनुदान पाउने सहज च्यालेञ्ज फण्डका लागि आवेदन माग गरिएको छ ।
कृषिजन्य आपूर्ति शृंखला तथा ढुवानीका प्रमुख समस्या र चुनौतिलाई सम्बोधन गर्ने नविनतम समाधानहरु लाई ५० लाख रुपैयाँ सम्म अनुदान दिन आवेदन माग गरिएको हो ।
सहज भनेर चिनेने नेपाल कृषि बजार विकास कार्यक्रम र आईडिया स्टुडियो नेपालको सहकार्यमा ‘सहज च्यालेन्ज फण्ड’ का लागि आवेदन माग गरिएको हो ।
माघ ४ गते भर्चुअल पत्रकार सम्मेलन गरि उक्त कार्यक्रमको घोषणा गरिएको हो ।
प्रदेश नम्बर १ मा कृषि उत्पादनहरुको आपूर्ति शृंखला तथा ढुवानी र मूल्य अभिवृद्धिमा देखिँदै आएका प्रमुख अवरोध तथा चुनौतीहरुलाई सम्बोधन गर्न उक्त फण्ड संचालन गरिएको हो ।
नविनतम व्यवसायिक योजना भएका स्टार्टअप, साना तथा मझौला उद्यमी र स्थापित सस्थाहरुले यसमा आवेदन दिन सक्ने छन् ।
आवेदकहरुले प्रदेश नम्बर १ मा कृषि उत्पादनहरुको आपूर्ति शृंखला तथा ढुवानी र मूल्य अभिवृद्धिमा रहेका समस्याहरुको समाधान प्रस्तुत गर्नुपर्नेछ । कार्यक्रमका लागि आवेदन मिति २०७८ फागुन ६ गते सम्म रहेको छ ।
सहज च्यालेन्ज फण्डको पहिलो चरणको कुल बजेट १ करोड ९५ लाख रुपैयाँ रहेको छ । जसमा सबैभन्दा ठूलो सहयोग राशी ५० लाख रुपैयाँ सम्मको हुनेछ ।
यसरी छनौट गरिएका आवेदकले नगद राशीसँगै व्यवसाय अगाडी बढाउन एक वर्षसम्मका लागि विभिन्न किसिमका प्राविधिक सहयोग पनि पाउन सक्नेछन् ।
सहज कार्यक्रम भनेर पनि चिनिने नेपाल कृषि बजार विकास कार्यक्रम दोस्रो चरण नेपाल सरकार र स्वीटजरल्याण्ड सरकार बीचको द्विपक्षीय सम्झौता अन्तर्गत संचालनमा छ ।
आईडिया स्टुडियो नेपाल नविन एवंम सृजनात्मक सोचहरुलाई उद्योगमा परीणत गर्न सहयोग गर्ने गैर-नाफामूखी संस्था हो । यसले नव उद्यमीहरुलाई सल्लाह, प्रशिक्षण, परामर्श, नेटवर्कीङ र सम्भावित व्यवसायलाई विज लगानीको अवसर पनि प्रदान गर्दै आएको छ ।