उपत्यकामा निषेधाज्ञा लागू गर्ने निर्णयपछि गाउँ फर्किन बाध्य सर्वसाधारण(फोटो फिचर)

वैशाख १४, काठमाडौं । कोरोना महामारीको दोस्रो लहर शुरु  भएसँगै नियन्त्रणका लागि उपत्यकामा वैशाख १६ गते बिहीवारदेखि एक हप्ता लामो  निषेधाज्ञा लागू हुने  भएपछि घर जाने यात्रुको भीडभाड बढेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमवार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेसँगै घर जाने यात्रुको संख्यामा बढेको हो । दुई दिन यात्रुलाई घर जाने समय दिने निर्णयपछि मंगलवार बिहानैदेखि कोटेश्वर, बल्खु, कलंकी तथा नयाँ बसपार्कमा घर जान यात्रुहरुको भीड लागेको हो ।उनीहरु गह्रुंगा झोला बोकेर गन्तव्यतिर हिंडिरहेको देखिएको छ । त्यसो त लामो दूरीका सार्वजनिक यातायातमा सिट नपाएको यात्रुले गुनासो गरेका छन् । कतिपय यात्रुले टिकट नपाउँदा अन्यौल बढेको बताएका छन् । तर लामो दूरीका सवारी साधन थोरै भएका कारण पनि टिकट अभाव भएको यातायात व्यवसायी महासंघले बताएको छ ।   नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लले बिहानदेखि नै नयाँ बसपार्कमा भीडभाड बढेको बताए ।  ट्राफिक प्रहरी महाशाखा रामशाहपथ अनुसार पछिल्लो २४ घण्टामा कम्तीमा ५० हजार ४५६ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन् । तस्वीरहरु : रासस