मझगाउँ विमानस्थलका लागि चाँडै बजेट पास हुन्छ : पर्यटनमन्त्री आले

महेन्द्रनगर । लामो समयदेखि बन्द रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालनमा ल्याउन चाँडै बजेट विनियोजन गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले विमानस्थल निर्माणका लागि बजेट चाँडै स्वीकृत गरिने बताएका हुन् । बुधवार मझगाउँ विमानस्थलमा आयोजित एक कार्यक्रममा पर्यटनमन्त्री आलेले विमानस्थल पुनः सञ्चालनका लागि ठेक्का प्रक्रिया सम्पन्न भइसकेको बताए । सेनाको ब्यारेकको दक्षिणतर्फ ५०० मिटर धावनमार्ग बढाएर क्षेत्रीय विमानस्थलको रूपमा सञ्चालनमा ल्याउन सकिने उनको भनाइ छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेशको उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री मानबहादुर धामीले पनि सहमति अनुसारको बजेट प्रदेश सरकारले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले नगरपालिकाले विमानस्थल सञ्चालनका लागि हालसम्म ३ करोड ५० लाख रुपैयाँ नागरिक उड्डयन प्राधिकरणको खातामा जम्मा गरिसकेको जानकारी दिए । विमानस्थल सञ्चालनका लागि तीन तहको सरकारबीच भएको लगानी साझेदारी विकासमा लागि उदाहरणीय भएको उनले बताए । विमानस्थल सञ्चालनमा ल्याउन लगानीको सम्बन्धमा गत फागुन ३ गते सुदूरपश्चिम प्रदेश सरकार, स्थानीय सरकार र मन्त्रालयबीच त्रिपक्षीय सम्झौता भएको थियो, जसअनुसार सुदूरपश्चिम प्रदेश सरकारले २५ प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधारा–चाँदनीले १० प्रतिशत खर्च बेहोर्ने भएका छन् । विमानस्थल सञ्चालनमा ल्याउन आवश्यक ५० प्रतिशत खर्च प्राधिकरण आफैले बेहोर्नेछ । २०५६ सालमा बन्द विमानस्थल पुनः सञ्चालनका लागि काम अघि बढेको छ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्राविधिक समिति बनाएर विमानस्थल पुनः सञ्चालनमा ल्याउन प्रक्रिया अघि बढाएका थिए । त्यसपछि विमानस्थल संरक्षणका लागि तारबार गरिएको थियो । स्थानीय तहसहितले खर्च बेहोर्ने साझेदारी गरेपछि प्राधिकरणले ठेक्का आह्वान गरी पुनः सञ्चालन कार्य अघि बढाएको हो  । विमानस्थल सञ्चालनका लागि १ हजार २०० मिटरको धावनमार्ग १ हजार ६८५ मिटर पु¥याउनुपर्ने सुझाव समितिले दिएको थियो ।