राजस्व अनुसन्धान विभागले करिब दुई महिनाअघि चार जनाविरुद्ध क्रिप्टोकरेन्सीसम्बन्धी पहिलो मुद्दा काठमाण्डू जिल्ला अदालतमा दायर गर्यो जसमा साढे ३७ करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको छ।विभागले फागुन ३० गते दुई जनाविरुद्ध पौने दश करोड रुपैयाँ बिगो र तीन वर्षसम्मको सजाय मागदाबी गर्दै दोस्रो मुद्दा दायर गर्यो।केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अभिनेत्री प्रियङ्का कार्की मुछिएको क्रिप्टोकरेन्सीसम्बन्धी प्रकरणबारे आइतवार सोधपुछ गरी अनुसन्धान अघि बढाइएको जनाएको छ।क्रिप्टोकरेन्सीसम्बन्धी एउटा प्रकरणमा आफ्नो नाम मुछिएपछि अभिनेत्री कार्कीले कानूनी उपचारबारे परामर्श थालेको बताएकी छिन्।फेसबुकको एउटा 'स्पोन्सर्ड' पोस्टमा कार्कीको फोटोसहित 'इन्भिजिबलफ्रेन्ड्स डट को' नामक वेबसाइटको लिङ्क राखिएको विज्ञापन केही दिनअघि देखिएको थियो।नेपाल राष्ट्र ब्याङ्कले क्रिप्टोकरेन्सीसम्बन्धी कुनै प्रकारको कारोबार नगर्न गत माघमा सूचना जारी गरेयता त्यस्ता गतिविधिमाथि थप निगरानी बढाइएको अधिकारीहरूले बताएका छन्।पछिल्ला घटनाले के सङ्केत गर्छन्?राजस्व अनुसन्धान विभागका विभागका सूचना अधिकारी कृष्णप्रसाद पाण्डे अवैध घोषित काम भइरहेको पछिल्ला घटनाले सङ्केत गरेको बताउँछन्।'यसबाट हामीले के बुझ्नुपर्छ भने नेपालको विद्यमान कानुनले गर्न नपाइने जुन काम तोकेको छ त्यो काम भएको देखियो,' बीबीसीसँग उनले भने।'नेपालमा विदेशी विनिमयसम्बन्धी कुनै पनि काम गर्दा राष्ट्र बैङ्कको स्वीकृतिबिना गर्न पाइँदैन। तर पछिल्लो घटनाले त्यस्तो स्वीकृति नलिइकनै क्रिप्टोको माध्यमबाट कारोबार गरेको देखिएको छ।'केही दिन अघि राष्ट्र ब्याङ्कका प्रवक्ताले नेपालमा भइरहेको क्रिप्टोकरेन्सीको कारोबार 'प्रलोभनकेन्द्रित' रहेको बताएका थिए।'नेपालमा केही मानिसले सर्वसाधारणलाई प्रलोभनमा पारेर प्रतिबन्धित क्रिप्टोकरेन्सीमा लगानी गर्न लगाएको देखियो,' प्रवक्ता गुणाकर भट्टले भने।'यस्ता गतिविधिले आममानिसको बचतदेखि लगानी प्रभावित हुने र विदेशबाट आइरहेको रेमिट्यान्स समेत भोलि नभित्रिने सम्भावना देखिएपछि सचेत गराएका हौँ।'अनुसन्धानमा संलग्न प्रहरी के भन्छन्?सीआईबीका प्रवक्ता श्यामकुमार महतोका अनुसार नेपालमा पछिल्लो समय वित्तीय अपराध बढिरहेको देखिन्छ।'वित्तीय अपराध अरू अपराधभन्दा बढिरहेकै छ जुन हामीले भन्दै आएकै कुरा हो। पछिल्लो ट्रेन्ड चाहिँ क्रिप्टोतिर संलग्नता बढेको हो कि भन्ने लाग्छ,' उनले भने।'हामीकहाँ जुन सूचना आइरहेका सूचना आइरहेका छन्, गुनासाहरू आइरहेका छन् त्यसले पनि क्रिप्टोतिर आकर्षण बढ्दै गएको देखिन्छ।'नेपालमा क्रिप्टोकरेन्सी कारोबार अवैध भएको थाहा नपाएर नेपालीहरू संलग्न हुने गरेको तर्कलाई अब पनि स्वीकार्ने पक्षमा प्रवक्ता महतो देखिँदैनन्।राष्ट्र ब्याङ्कले २०७४ सालमै अवैध घोषणा गरिसकेको र गत माघमै दुई-दुई पटक सूचना जारी गरेको तथा आफूहरूले पनि त्यसबारे विभिन्न माध्यमबाट चेतना फैलाउँदै आएको उनी बताउँछन्।'जो मान्छे संलग्न हुन्छन् उनले कानुनबारे जानकार थिइनँ र त्यसमा संलग्न भएँ भन्न पाउने अवस्था रहँदैन, 'प्रवक्ता महतोले थपे।क्रिप्टो कारोबारबारे अर्थविद् के भन्छन्?पूर्वअर्थमन्त्री तथा राष्ट्र ब्याङ्कका पूर्वगभर्नर युवराज खतिवडा नेपालमा पछिल्लो समय विप्रेषण अर्थात् रेमिट्यान्स घट्नुको एउटा कारण क्रिप्टोकरेन्सीमा लगानी बढ्नु रहेको बताउँछन्।विदेशबाट पैसा पठाउनुको साटो उतैबाटै क्रिप्टोकरेन्सीमा लगानी भइरहेको हुनसक्ने उनले उल्लेख गरे।त्यो कुरालाई नकार्न सक्ने स्थिति नरहेको अर्का अर्थविद् विश्वम्भर प्याकुर्यालको भनाइबाट पनि स्पष्ट हुन्छ।'क्रिप्टोकरेन्सीमा लगानी गरेर उनीहरूले पाउने सम्भावित फाइदाभन्दा नेपालमा फर्काउँदा बढी फाइदा हुन्छ भनेर केही समयका लागि आकर्षित गर्न सक्नुपर्यो,' बीबीसीसँग उनले भने।क्रिप्टोकरेन्सी के हो?क्रिप्टोकरेन्सी भनेको भर्चूअल मुद्रा हो। यसको अस्तित्व अनलाइनमा सीमित रहन्छ। भौतिक रूपमा देख्न वा छुन नसके पनि यसको मूल्य तोकिएको हुन्छ।यस भर्चूअल मुद्राको कुनै केन्द्रीय ब्याङ्क हुँदैन अर्थात् यसलाई नियमन गर्ने कुनै केन्द्रीय निकाय हुँदैन।संसारभरिका कम्प्युटरहरूमा राखिएको डिजिटल रेकर्डका आधारमा यो सञ्चालन हुन्छ।क्रिप्टोकरेन्सीक्रिप्टोकरेन्सीको प्रयोग गरेर सरसामान किन्न वा भुक्तानी गर्न सकिन्छ। यसलाई कम्प्युटर वा मोबाइल फोनमार्फत् डिजिटल वालेटमा राख्न सकिन्छ।सबै क्रिप्टोकरेन्सी 'ब्लकचेन' भनिने प्रविधिमा आधारित हुन्छन्। सन् २००९ देखि चर्चामा आएको बिटकोइन पहिलो क्रिप्टोकरेन्सी हो।बिटकोइनको संस्थापन श्रेय सातोशी नाकामोतोलाई दिइएको छ। रोचक कुरा त के छ भने सातोशी नाकामोतो को हुन् भनेर आजसम्म कसैलाई थाहा छैन।अहिलेसम्म हजारौँको सङ्ख्यामा क्रिप्टोकरेन्सी अस्तित्वमा आएका छन् र नयाँ क्रिप्टोकरेन्सी थपिने क्रम जारी छ। -बिबिसीबाट