इन्धन र सवारी आयात वृद्धि हुँदा वीरगञ्ज भन्सारले संकलन गर्‍यो ८८ अर्ब  राजस्व

पुस ८, वीरगञ्ज । देशकै मुख्य व्यापारीक नाका वीरगञ्जबाट आयात तथा निर्यात बढेसँगै वीरगञ्ज भन्सार कार्यालयको राजस्व संकलनमा उलेख्य सुधार भएकोे छ । गत आर्थिक वर्षको पहिलो पाँच महीनाको तुलनामा चालू आवको पहिलो पाँच महीनामा यस कार्यालयले ५२ प्रतिशत भन्दाबढी राजस्व संकलन गर्न सफल भएकोे हो ।          आर्थिक वर्ष २०७७/ ७८को साउनदेखि मंसिर मसान्तसम्मको पाँच महीनामा ५८ अर्ब १५ करोड ९९ लाख रुपैयाँ राजस्व संकलन गरिएकामा चालू आवको सोही अवधिमा ३० अर्ब ५३ करोड ९२ लाख रुपैयाँ बढी अर्थात् ८८ अर्ब ६९ करोड ९२ लाख रुपैयाँ राजस्व संकलन भएको छ । यो गत आवको तुलनामा ५२ दशमलव ५० प्रतिशत बढी हो ।            विभागलले चालू आवको साउनदेखि मंसिर मसान्तसम्मको अवधिमा ८२ अर्ब ६१ करोड २५ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएकामा कार्यालयले लक्ष्यभन्दा ६ अर्ब ८ करोड ६६ लाख रुपैयाँभन्दा ढी राजस्व संकलन गर्न सफल भएको सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए । उनले देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी सवारी साधन, इन्धन, औद्योगिक कच्चापदार्थलागयत वस्तुको आयात बढेकाले राजस्व संकलनमा सुधार देखिएको बताए।             गत आर्थिक वर्षको पहिलो पाँच महीनामा  ५४ अर्ब ७३ करोड ५७ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकामा कार्यालयले लक्ष्यभन्दा ३ अर्ब ४२ करोड ४१ लाख बढी राजस्व संकलन गरेको थियो ।नेपालका लागि हुने इन्धन आयातबाट संकलित राजस्वमा ३५ प्रतिशत र सवारीसाधन आयातबाट २५ प्रतिशत राजस्व वृद्धि भएको कार्यालयले बताएको छ । रासस

सम्बन्धित सामग्री

मुख्य नाका वीरगञ्ज : वैदेशिक व्यापार दोब्बर, सवारी र इन्धन आयात बढ्यो

वीरगञ्ज । कोरोना महामारीकै बीचमा बजारले गति लिन थालेपछि मुख्य नाका वीरगञ्जबाट वैदेशिक व्यापारको आकार दोब्बर पुगेको छ । वीरगञ्ज भन्सारबाट अघिल्लो आर्थिक वर्ष (आव) २०७७/७८ को शुरू ३ महीनामा ९९ अर्ब ५५ करोड रुपैयाँबरारको कुल वैदेशिक व्यापार भएको थियो । चालू आवको साउनदेखि असोजसम्मको अवधिमा यो आँकडा १ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ । यसमध्ये आयात १ खर्ब ६७ अर्ब र निर्यात व्यापार ३१ अर्ब रुपैयाँबराबर छ । व्यापारमा बढेपछि त्यसको प्रभाव भन्सारले उठाउने राजस्वमा पनि देखिएको छ । वीरगञ्ज भन्सारले चालू वर्षको पहिलो त्रैमासिक अवधिमा लक्ष्यभन्दा २० प्रतिशत बढी राजस्व उठाएको छ । अघिल्लो वर्षको यही अवधिमा लक्ष्य भेट्टाउन सकेको थिएन । गत आवको पहिलो ३ महीना कोरोना महामारी नियन्त्रणका लागि बन्दाबन्दी र निषेधाज्ञा थियो । चालू आवमा बजार र यातायात खुलेकाले वैदेशिक व्यापार र राजस्वमा त्यसको सकारात्मक प्रभाव देखिएको वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए ।   जीपकार आयात शत प्रतिशत बढ्यो आयातनिर्यात कारोबारका हिसाबले सबैभन्दा ठूलो वीरगञ्ज भन्सारबाट सवारीका साधनको आयात ≈वात्तै बढेको छ । चालू आर्थिक वर्ष (आव) २०७८/७९ को साउनदेखि असोजसम्मको ३ महीनामा यस्ता वस्तुको आयात बढेको हो । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको ३ महीनामा यो नाकाबाट ३ अर्ब ३६ करोड रुपैयाँबराबर मूल्यका २ हजार ९१७ ओटा जीपकार भ्यान भित्रिएका छन् । यो संख्या गत आवको सोही अवधिभन्दा १०१ प्रतिशत बढी हो । गत आवको पहिलो ३ महीनामा १ अर्ब ६५ करोड रुपैयाँबराबरका १ हजार ४५० ओटा यस्ता साधन भित्रिएका थिए । चालू आवको पहिलो त्रैमासमा मोटरसाइकलको आयात भने करीब उस्तै छ । १ अर्ब ८० करोड मूल्यका २० हजार ८५५ ओटा मोटरसाइकल आयात भएको वीरगञ्ज भन्सारको तथ्यांक छ । पिकअप गाडीको आयातसमेत ९९ प्रतिशले बढेको छ । ट्रकबसको चेसिसको आयात ३ गुणा बढेको छ । गत आवको पहिलो ३ महीनामा २२० ओटा यस्ता साधन भित्रिएकोमा यो वर्ष ६५९ पुगेको प्रमुख भन्सार अधिकृत पौडेलले बताए । सबै प्रकारका गाडी र तिनका पार्टपुर्जाको आयात बढेको उनले बताए । गतवर्षको शुरू ३ महीना कोरोना महामारी नियन्त्रणका लागि बन्दाबन्दी र निषेधाज्ञा जारी रहेकाले आयात घटेको थियो । यो वर्ष बजार खुला रहेकाले त्यसको प्रभाव आयातमा देखिएको भन्सार अधिकारीहरू बताउँछन् । इन्धन पनि उस्तै सवारीसाधनको आयातसँगै त्यसमा खपत हुने इन्धनको आयात पनि उल्लेख्य परिमाणले बढेको छ । सबैभन्दा बढी खपत हुने डिजेलको आयात परिमाण १३२ प्रतिशतले वृद्धि भएको छ । वीरगञ्ज पेट्रोलियम पदार्थ आयात हुने मुख्य नाका हो । गत आवको पहिलो ३ महीनामा १ लाख ५ हजार किलोलीटर (केएल) डिजेल आयात भएको थियो । यो वर्षको सोही अवधिमा डिजेल आयात २ लाख ४५ हजार केएल पुगेको भन्सारले बताएको छ । पेट्रोलको आयात ३६ प्रतिशतले बढेको छ । हवाई इन्धनको आयात ३१ हजार ५९८ केएल छ । यो परिमाण गतवर्षको पहिलो ३ महीनामा ११ हजार २३६ केएल थियो । कोइलाको आयात ३८ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ । चालू आवको पहिलो त्रैमासिक अवधिमा १ लाख ९३ हजार ९१९ मेट्रिकटन (मेटन) कोइला आयात भएको छ । यो परिमाण अघिल्लो वर्षको सोही अवधिमा १ लाख ४० हजार ६८३ मेटन थियो । यो अवधिमा एलपी ग्यास, फर्नेस आयल र बेस आयललगायतका पेट्रोलियम पदार्थको आयात बढेको छ ।