मौरीपालनमा निषेधाज्ञाको असर : उत्पादन पनि छैन, विक्री पनि छैन

जेठ १८, चितवन । देशका अधिकांश जिल्लामा गरिएको निषेधाज्ञा एक महीनाभन्दा बढी कटिसकेको अवस्थामा  यसक्षेत्रका मौरीपालक किसानलाई थप चिन्तित बनाएको छ । चरनको अभाव हुँदै जाँदा मह उत्पादनमा पनि ह्रास हुँदै गएको छ। अघिल्लो वर्षबाट मह उत्पादन ओरोलो हुँदै जाँदा यसपटकको निशेधाज्ञाले उनीहरुलाई  झन ठूलो मार परेको छ । ‘चरण पनि छैन ,उत्पादन पनि छैन, विक्री पनि छैन’, भरतपुर महानगरपालिका वडा नम्बर ९ का मौरीपालक कृषक विष्णु भुषाल भन्छन् । यतिबेला वन लगायत स्थानीय बारी तथा खेतहरुमा फूल फुल्ने सिजन नहुँदा मह उत्पादन पनि हुँदैन, भएका मौरीलाई चिनी चास्नी खुवाएर घारभित्रै पाल्नु पर्छ ।  ‘अहिले हाम्रो मौरीका लागि खर्च मात्रै हो, आम्दानी शून्य छ, भएको महपनि कहाँ लगेर बेच्ने ?’, भूषालले प्रतिप्रश्न गरे  । गत सालदेखि निशेधाज्ञाको मार खेपिरहेका मौरीपालक किसान यसवर्ष थप मारमा परेका छन ।  स्थानीय खैरहनी नगरपालिका वडा नम्बर ४ का किसान श्याम गुरुङ्गले विगत केही दिनदेखि परेको हावाहुरी र पानीले घारभित्रका मौरी मर्न थालेको र रानो पनि उत्पादन हुन नसकेको बताए ।  जिल्लाका अन्य मौराीपालक किसानको सबैजसो हविगत उस्तै छ । उनीहरुले कहिले चरण, कहिले विक्री, कहिले मूल्यका कारण सँधैजसो नोक्सान बेहोर्दै आएको बताएका छन् । जसका कारण कतिपय किसान विस्थापित हुने क्रम छन् त कतिपय किसान विस्थापित भइसकेका छन्  भने केही किसान आउने क्रम पनि छ ।  ‘महको माग भएर के गर्नु उत्पादननै छैन, चरन पनि छैन । मौरीलाई बचाउन पनि उत्तिकै गाह्रो छ’, उनले भने । स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्न प्रोत्साहन गर्न सरकारले बिशेष खालको योजना नल्याउँदा यस व्यवसायप्रति निराशा बनाएको उनको भनाइ छ । मौरीको विस्तार र  महको  विक्री मात्रै होइन उत्पादनमा वर्षेनी ह्रास आएको छ । जसका कारण उपभोक्ता कि त विदेशी महंगो मह किन्न बाध्य छन् कित नक्कली मह उपभोग गर्नुपर्ने बाध्यतामा छन् ।  ‘मौसममा व्यापक परिवर्तन छ, न मौसममा फूलहरु फुलेका छन्, नत प्रशस्त रुपमा मौरीले चरन गर्न पाएको छ’,मौरी विज्ञ डाक्टर खेमराज न्यौपाने भन्छन्, ‘नत फलफूल र बालीहरुमा प्रशस्त रस नै छ । ’ । स्वदेशी उत्पादन र प्रर्वद्धनमा राज्यको नीति तथा आंँखा नपर्ने भएकोले यस व्यवसायमा थप आकर्षण हुन नसकेको उनले बताए ।  मौरीको भूमिका मह मात्र उत्पादन गर्ने नभई परागसेचनको कारण खाद्यान्न बाली उत्पादन पनि ठूलो प्रभाव पार्ने उनको भनाइ छ । केही वर्षदेखि महको उत्पादन घटेपछि यसको माग बढ्न थालेपछि नयांँ किसानहरु यस व्यवसायमा थपिएपनि उत्पादनमा  भने कुनै परिवर्तन आएको छैन ।  ‘मूल्य बढ्यो, माग बढ्यो भनेर नयाँ किसानहरु आएका छन्’, मौरीपालक महासंघका केन्द्रीय अध्यक्ष शिवप्रसाद शर्माले भने, तर घारको संख्यामा वृद्धि भएपनि मह उत्पादनमा वृद्धि भएन ।’ उनका अनुसार गत वर्षभन्दा यसवर्ष ३० प्रतिशतले उत्पादनमा ह्रास आएको छ । विगतका वर्षहरुमा प्रतिघार २२ केजी उत्पादन भएपनि हाल प्रतिघार १५ देखि १६ केजी महमात्र उत्पाादन हुने गरेको शर्माले बताए । चितवनमा ३५ हजार मौरीको घार रहेका छन् भने किसानको संख्या ५०० को हाराहारीमा रहेको छ ।