गौतमबुद्ध विमानस्थलमा जनशक्ति व्यवस्थापन

काठमाडौं । क्यालिब्रेशन र त्यसलगत्तै नियमित उडानको तयारी भइरहेको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनका लागि कर्मचारी व्यवस्थापनको तयारी शुरू भएको छ ।  हालसम्म ९९ प्रतिशत काम सम्पन्न भइसकेको विमानस्थल सञ्चालन तथा व्यवस्थापनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले महाप्रबन्धक (एमडी) नियुक्त गरिसकेको छ । प्राधिकरणले गौतमबुद्ध विमानस्थलको महाप्रबन्धकका रूपमा माघ २ गते नै गोविन्दप्रसाद दाहाललाई नियुक्त गरेर पठाएको छ । २ गतेदेखि नै महाप्रबन्धक दाहाल विमानस्थलमा पुगेका छन् । उक्त विमानस्थल व्यवस्थापनका लागि १५१ जना कर्मचारीको दरबन्दी छ भने हाल उक्त विमानस्थलमा महाप्रबन्धकसहित ३४ जना कर्मचारी नियुक्त भइसकेका छन् । केन्द्रीय कार्यालय प्राधिकरणले आन्तरिक तथा खुलाबाट कर्मचारी पदस्थापना गर्दै छ । नवनियुक्त महाप्रबन्धक दाहालले अहिले सबै कर्मचारी नभए पनि बढीमा ३० जना कर्मचारी तुरुन्तै आवश्यक पर्ने जानकारी दिए । उनले रेडियो, मेकानिकल, कम्प्युटर, फायर क्षेत्रतर्फ तुरुन्तै कर्मचारी आवश्यक हुने बताए । सञ्चालनोन्मुख उक्त विमानस्थलमा क्यालिब्रेशन उडान छिट्टै हुने भएकाले पनि तुरुन्त कर्मचारी पदस्थापना आवश्यक देखिएको हो । जनवरी २२ अर्थात् शनिवार एरो थाइको टोली नेपाल आउने तयारी गरेको उनले जानकारी दिए । विमानस्थलमा क्यालिब्रेशन उडानका लागि थाइल्यान्डको उक्त कम्पनीसँग प्राधिकरणले सहमति गरिसकेको छ । सरसफाइ, ट्रली अपरेटरलगायत जनशक्ति पनि राख्ने गरी प्राधिकरणले तयारी गरेको छ । २०७१ मा गौतमबुद्ध विमानस्थल निर्माण शुरू गरिएको हो । करीब ७ वर्षमा सम्पन्न भएको उक्त राष्ट्रिय गौरवको आयोजनालाई अन्तरराष्ट्रिय विमानस्थल बनाउन थप ५०० बिगाहा जग्गा अधिग्रहण गरिएको थियो । जग्गाको मुआब्जामा रू. २२ अर्ब खर्च भइसकेको उक्त आयोजनामा विमानस्थल निर्माणतर्फ र इक्वीप्मेन्टतर्फ हुने रू. ७ अर्ब लगानीमध्ये हालसम्म रू. २ अर्ब मात्रै भुक्तानी हुन बाँकी छ । झन्डै साढे ६ दशकको पर्खाइपछि नेपालले दोस्रो अन्तरराष्ट्रिय विमानस्थलका रूपमा गौतमबुद्ध विमानस्थललाई सञ्चालन गर्दै छ । यद्यपि कोरोना भाइरसका कारण निर्माण सम्पन्न हुन ढिलाइ भएको विमानस्थलको अहिले कोरोनाकै कारण परीक्षण तथा क्यालिब्रेशन उडानको मिति पनि पटकपटक सारिँदै आएको छ । निर्माण सम्पन्नको अन्तिम चरणमा रहेको यो विमानस्थल प्राधिकरण आफैले सञ्चालन गर्ने कि निजीक्षेत्रलाई दिने भन्ने विषयमा अभैm निर्णय भएको छैन । विमानस्थल सञ्चालनको मोडालिटीका विषयमा प्राधिकरणले गृहकार्य गरिरहेको बताएको छ ।