चैत १३, काठमाडौं । एनआईसी एशिया ब्यालेन्सड् फण्डको फागुन मसान्तसम्म धितोपत्रमा भएको लगानीको लागत मूल्यभन्दा बजारमूल्य बढी रहेको छ ।
फण्डले सार्वजनिक गरेको फागुन मसान्तसम्मको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण अनुसार धितोपत्रमा भएको लगानीको बजारमूल्य रू. ९१ करोड ७९ लाख ९५ हजार रहेको छ ।
फण्डको फागुन मसान्तसम्म धितोपत्रमा भएको लगानीको परलमूल्य धितोपत्र दलाल कमिशन सहित रू. ५९ करोड ४३ लाख ७० हजार रहेको छ । माघ महीनाको तुलनामा भन्दा फण्डको धितोपत्रको बजारमूल्य घटेको हो । माघ मसान्तसम्म फण्डले लगानी गरेको धितोपत्रको बजारमूल्य रू. ९४ करोड ५७ लाख ६२ हजार थियो ।
यस अवधिसम्म फण्डको मुद्दती निक्षेपमा रू. ९ करोड लगानी रहेको छ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस फण्डले ७ करोड ५५ लाख इकाई जारी गरेको थियो । माघ महीनामा रू. १४ दशमलव २७ रहेको प्रति इकाई खुद सम्पत्ति मूल्य फागुन मसान्तसम्म रू. १३ दशमलव ९३ मा झरेको छ ।
माघ महीनामा रू. ३० करोड ८१ लाखभन्दा बढी नाफा गरेको फण्डले फागुन महीनामा भने रू. २८ करोड २६ लाखभन्दा बढी मात्र नाफा गरेको छ । यो महीना फण्डको आम्दानीमा कमी र खर्च बढी भएकाले नाफा घटेको हो ।
माघ महीनामा रू. ३२ करोड ४ लाखभन्दा बढी आम्दानी गरेको फण्डले फागुन महीनामा रू. २९ करोड ६५ लाखभन्दा बढी आम्दानी गरेको छ । त्यस्तै माघ महीनामा रू. १ करोड २३ लाखभन्दा बढी खर्च गरेको फण्डले फागुन महीनामा रू. १ करोड ३९ लाखभन्दा बढी खर्च गरेको छ ।