चैत मसान्तसम्म सपोर्ट लघुवित्तले कमायो १ करोड १० लाख नाफा

वैशाख २५, काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीले चालू आर्थिक वर्षको ९ महीनामा रू. १ करोड १० लाख ८४ हजार खुद नाफा गरेको छ । कम्पनीको नाफा यस वर्ष गत वर्षको भन्दा ४७ दशमलव ९० प्रतिशतले घटेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. २ करोड १२ लाखभन्दा बढी खुद नाफा गरेको थियो । कम्पनीको सञ्चालन मुनाफा पनि ४७ दशमलव ९० प्रतिशतले घटेको छ । कम्पनीले तेस्रो त्रैमासमा रू. १ करोड ७५ लाख सञ्चालन मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा यो कम्पनीले सञ्चालन मुनाफा ३ करोड ३७ लाख रूपैयाँ आर्जन गरको थियो ।  एक वर्षको अवधिमा कम्पनीको जगेडा कोषमा २ दशमलव ८१ प्रतिशत रकम बढेको छ । गत आवको तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोषमा ४ करोड १ लाख रुपैयाँ थियो भने चालू आवको सोही अवधिमा उक्त कोषमा ४ करोड १३ लाख रुपैयाँ कायम भएको छ ।   समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ६ दशमलव २८ प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी ६ दशमलव ९० प्रतिशतले घटेको छ ।  कम्पनीको खराब कर्जा ४ दशमलव १४ प्रतिशत छ । वित्तीय विवरण अनुसार हाल यो कम्पनीको प्रतिशेयर आम्दानी १७ दशमलव २३, मूल्य आम्दानी अनुपात ९६ दशमलव ८९ गुणा छ भने प्रतिशेयर नेटवर्थ १४८ दशमलव १४ छ ।  हाल कम्पनीको चुक्तापूँजी ८ करोड ५८ लाख रुपैयाँ रहेको छ । एक वर्षको अवधिमा कम्पनीको चुक्तापूँजी ३० प्रतिशतले वृद्धि भएको हो । गत वर्षको चैतसम्ममा यो कम्पनीको चुक्तापूँजी ६ करोड ६० लाख रुपैयाँ थियो ।