फुटबलमा महादेशीय शक्तिको भिडन्तः विश्वकप गुमाएको इटालीले हारको श्रृङ्खला तोड्ला ?

२ महादेशीय प्रतियोगिता युरोकप र कोपा अमेरिका च्याम्पियनको महाभिडन्त बुधबार राति हुँदैछ।युरोकप च्याम्पियन इटाली र कोपा विजेता अर्जेटिनाबीचको खेल आज राती साढे १२ बजे लन्डनस्थित वेम्बली स्टेडियममा हुँदैछ । दुई महादेशीय शक्तिशाली टोलीबीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । इटालीले युरोकपमा इङल्याण्डलाई पेनाल्टी सुटआउटमा हराएर उपाधि उचालेको हो भने कोपाको फाइनलमा अर्जेन्टिनाले ब्राजिललाई उसकै घरमा १–० ले पराजित गर्दै उपाधि चुम्यो । कोपाको उपाधि नै अर्जेन्टिनी स्टार लियोनल मेस्सीले हालसम्म देशका लागि जितेको सबैभन्दा ठूलो उपाधि हो । इटालीलाई ४० वर्ष देखिको हारको श्रृङ्खला तोड्ने अवसर इटाली र अर्जेन्टिनाबीचको पछिल्ला खेल हेर्ने हो भने अर्जेन्टिना हाबी हुँदै आएको छ । पछिल्ला ४० वर्ष इटालीले कुनैपनि खेलमा अर्जेन्टिनालाई हराउन सकेको छैन । सन् १९८२ को विश्वकपमा दोश्रो चरणमा इटालीले अर्जेन्टिनालाई २–१ ले पराजित गरे यता उसले कहिल्यै अर्जेन्टिनालाई हराएको छैन । १९८२ पछि यी २ टोली ५ पटक भिडेका छन् । सन् १९८६ मा १–१ को बराबरी खेलेका थिए । १९९० को विश्वकपमा अर्जेन्टिनाले इटालीलाई २–१ ले हरायो । २००१ को मैत्रीपूर्ण खेलमा पनि अर्जेन्टिना इटालीमाथि २–१ ले नै हाबी भयो । त्यसपछि यी २ देशबीच सन् २०१३ मा मैत्रिपूर्ण खेल भयो । उक्त खेल पनि अर्जेन्टिनाले २–१ ले नै जित्यो । २०१८ को मैत्रीपूर्ण खेलमा पनि इटाली अर्जेन्टिनासँग २–० ले पराजित भयो । त्यसपछि यी दुई देशबीच यो अवधिमा कुनै खेलमा भेट भएन । ४ वर्षपछि आज आमनेसामने हुँदैछन् ।युरोकपमा ठूला देशलाई उछिन्दै उपाधि जितेको इटाली अहिले भने खराब लयमा छ । उ कतार विश्वकपको छनौटबाट बाहिरिसकेको छ । तर अर्जेन्टिना भने इतिहासकै बलियो लयमा छ । विश्वकप छनोटको अन्तिम खेल बाँकी हुँदासम्म अर्जेन्टिना अपराजित रहँदै आएको छ । उसले विश्वकपको छनोटमा अब ब्राजिलसँग खेल्न बाँकी छ ।अर्जेन्टिनाले ब्राजिल नै हराएर कोपा अमेरिकाको उपाधि जितेको थियो । पछिल्ला रेकर्ड हेर्दा अपराजित र उत्साहित देखिएको अर्जेन्टिनासँग विश्वकप गुमाएर बसेको इटाली भने अर्जेन्टिनालाई हराएर ४० वर्ष देखिको हारको श्रृङ्खला तोड्ने अपेक्षामा छ ।