उद्यमी व्यवसायी र कामदारको जीवनरक्षा पहिलो प्राथमिकतामा : महासंघ

काठमाडौं (अस) । नेपाल घरेलु तथा साना उद्योग महासंघले अहिलेको विषम परिस्थितिमा पहिलो प्राथमिकता उद्यमी व्यवसायी र कामदारको जीवनरक्षा भएको बताएको छ । पछिल्ला दिनमा कोभिड १९ को दोस्रो चरणको प्रकोपबाट लघु घरेलु तथा साना उद्योग बढी प्रभावित भइरहँदा पनि आपूर्ति व्यवस्थालाई सुचारु राख्न उद्यमीले प्रयास गरिरहेको महासंघ अध्यक्ष श्याम गिरीले बताए । अध्यक्ष गिरीका अनुसार पछिल्लो तथ्यांकमा महासंघको विभिन्न तहमा रहेका सदस्य उद्यमीमध्ये ताप्लेजुङमा २ जना, काभ्र्रेमा १ जना, कैलालीमा २ जना, पर्सामा १ जना, सुर्खेतमा २ जना, बाँकेमा ५ जना, दाङमा २ जना, सल्यानमा १ जना, मकवानपुरमा १ जना, संखुवासभामा १ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् । हाल ११९ जना लघु, घरेलु तथा साना उद्यमी कोभिड संक्रमित भई उपचाररत रहेको महासंघले बताएको छ । जनसमुदाय र लघु घरेलु तथा साना उद्यमीलाई सरकारद्वारा जारी स्वास्थ्य प्रोटोकलको पालना गर्दै आफना कामदारको स्वास्थ्य सुरक्षाका लागि सम्भव भएसम्मका उपाय अवलम्बन गरी आफना उद्यम व्यवसाय सञ्चालन गर्न महासंघले आग्रह गरेको छ । कोभिडका कारण समग्र जनजीवन अस्तव्यस्त र निषेधाज्ञा जारी भएको हालका अवस्थामा समेत आन्तरिक राजश्व विभागले कर तिर्न ताकेता गर्नु अनुपयुक्त भएको अध्यक्ष गिरीले बताए । कर तिर्ने म्याद कम्तीमा ६ महिना बढाउन सरकारसँग उनले माग गरे । महासंघले कोभिड प्रकोपको विषम परिस्थितिमा सुमधुर व्यावसायिक वातावरण कायम राख्न बैंक तथा वित्तीय संस्थासँग आग्रह गरेको छ । यस्तै, पुनकर्जा कार्यविधिमा व्यवस्था गरिएका प्रावधानले आफ्ना उद्यम व्यवसायमा काम गर्ने कामदालाई बैंकमा खाता खोली पारिश्रमिक भुक्तान गर्ने र नियमित रूपमा कर कट्टा गरी आयकर दाखिला गर्ने उद्यम व्यवसायले मात्रै पुनकर्जा पाउने व्यवस्था लघु घरेलु तथा साना व्यवसायीको हकमा लागू हुने अवस्था नरहेको महासंघ अध्यक्ष गिरीको भनाइ छ ।