काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।
कम्पनीले पुस २८ गते दाङको घोराहीस्थित होटल माला ईनमा पाँचौं वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र करसहित ५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण समूहबाट २ जना सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गर्ने भएको छ । यस बुक क्लोजको आधारमा पुस १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन् ।