किन बन्न सकेन उद्योगमैत्री वातावरण ? सशस्त्र युद्धले बिगारेको वातावरणमा सुधार आएन

उद्योगको सही विकास नभई राष्ट्र विकास सम्भव छैन । रथका दुई पाङ्ग्राजस्तै राज्य सञ्चालनको लागि आवश्यक राजस्व जुटाउने, रोजगारी सृजना गर्ने, आवश्यक सामानको आपूर्ति गर्ने काम उद्योगले नै गर्छ र उद्योग व्यवसायबाट उठेको राजस्वले मुलुक सञ्चालन हुन्छ । यूरोपलगायत विकसित देशहरूमा २ सय वर्षभन्दा पहिले औद्योगिक क्रान्ति भयो र आज उनीहरू सम्पन्न छन्, सुशिक्षित छन् । एशिया महादेश सहित हाम्रा ठूला छिमेकी राष्ट्र चीन र भारतमा सन् १९८०–९० को दशकमा खुला अर्थतन्त्रका नीति अवलम्बन गरेदेखि द्रुततर गतिमा उद्योगको विकास भइरहेको छ र उनीहरू केही वर्षभित्र नै संसारको ठूलो आर्थिक शक्तिका रूपमा उदाइरहेका छन् ।  नेपालको सन्दर्भमा मध्यकाल वा राणाशासनको पूर्वाद्र्धसम्म उद्योगको खासै विकास भएको थिएन । यद्यपि, चन्द्र शमशेरभन्दा पहिले हाम्रो अर्थव्यवस्था अत्यन्तै सानो र आफ्नो आवश्यकताको खाद्यान्न एवम् अन्य सामान आफै उत्पादन गर्ने स्वावलम्बन अर्थव्यवस्था थियो । पहिलो विश्वयुद्धपछि जब लाखौं नेपालीहरू युद्धमा समाहित हुन विदेश गए, उनीहरू फर्केर आएपछि आयातित वस्तु प्रयोग गर्ने प्रचलन बढ्यो र तत्कालीन सरकारले पनि उद्योगको विकास गर्नुभन्दा आयातित सामानमा भन्सार लगाएर उठेको राजस्वको माध्यमबाट आफ्नो निजी सम्पत्ति जोड्ने एवम् राज्य सञ्चालन गर्ने नीति लियो ।  विक्रम संवत् १९९० को दशकमा मुलुकमा संस्थागत औद्योगिक विकासको शुरुआत भयो । विराटनगरमा विराटनगर जुट मिल, वीरगञ्जमा सलाई तथा चुरोट कारखानाको स्थापना भयो । २००७ सालको क्रान्तिपछि पनि मुलुकमा अस्थिरताले प्रश्रय पाइरह्यो । २०१५ सालमा भएको आमनिर्वाचनमा नेपाली कांग्रेसले २ तिहाई बहुमत प्राप्त गरी सरकारको गठनपछि क्रमश: औद्योगिक विकासका लागि सरकारले नयाँ नीति कार्यक्रम ल्यायो । करीब डेढ वर्षको अवधिमा सरकारले रूस सरकारको सहयोगमा वीरगञ्जमा चिनी र कृषि औजार कारखाना, जनकपुरमा चुरोट कारखाना खोल्ने प्रक्रिया अघि बढायो । नेपाल औद्योगिक विकास निगमको स्थापनासहित दीर्घकालीन रूपमा औद्योगिक विकासको लागि नयाँ नीति ल्यायो । तर, निर्वाचित सरकारको अपदस्थपछि स्थापित पञ्चायती सरकारले नियन्त्रित अर्थतन्त्रको मोडल अपनायो । उद्योगधन्दा र व्यवसाय सञ्चालन गर्न सरकार (अप्रत्यक्ष रूपमा दरबार) सँग अनुमति लिनुपर्ने, आयातनिर्यात गर्न लाइसेन्स लिनुपर्ने र दरबारको नजिक नभएको व्यक्ति वा संस्थाले उद्योगधन्दा सञ्चालन गर्न नपाउने व्यवस्था गरिएकाले ३० वर्षको त्यस अवधिमा मुलुकमा खासै औद्योगिक विकास भएन ।  २०४६ सालको जनआन्दोलनपछि स्थापित सरकारले मुलुकमा खुला अर्थनीतिको अवलम्बन गर्‍यो । उद्योग दर्ता खुला भए, लाइसेन्स राजको अन्त्य भयो । बैंकिङ, शैक्षिक, हवाई यातायात, स्वास्थ्य, सञ्चालन, पर्यटन आदि सम्पूर्ण क्षेत्र खुला गरिए । विदेशी लगानी प्रोत्साहन गर्ने नीति बनाइयो । नयाँ श्रम ऐन आयो । समग्रमा निर्वाचित सरकारको साढे ३ वर्षको कार्यकाल खुला अर्थनीतिको दृष्टिकोणबाट ज्यादै महत्त्वपूर्ण रह्यो । तर, दुर्भाग्य विसं २०५२ सालमा शुरू भएको माओवादी द्वन्द्वले मुलुकमा शान्तिसुरक्षामै प्रश्न उठ्न थाल्यो । जलविद्युत्सहित ठूला औद्योगिक पूर्वाधार, सडक पूर्वाधार, सबैमा अपेक्षित काम भएन । राज्यको अधिकांश कोष र साधनस्रोत शान्ति सुरक्षामा नै खर्च भएकोले विकास पूर्वाधारले प्राथमिकता पाएन । माओवादीले शैक्षिक संस्था, स्वास्थ्य संस्था, औद्योगिक प्रतिष्ठान, जलविद्युत् आयोजना, प्रहरी चौकी, सरकारी कार्यालय राजमार्ग जताततै तोडफोड गरे । यसले गर्दा मुलुक दशकौं पछाडि धकेलियो ।  यस्तो अवस्थामा पनि नेपाल र भारतबीच सन् १९९६ मा भएको व्यापार एवम् पारवहन सन्धिका कारणबाट केही क्षेत्रमा भारतीय लगानी भित्रियो जुन उद्योगहरू आजपर्यन्त सञ्चालनमा छन् । औद्योगिक विकासका लागि अब मुख्य समस्या ऊर्जा हुन गयो । माओवादी द्वन्द्वका कारण युवाहरू गाउँबाट शहर र शहरबाट रोजगारीका लागि विदेश जाने प्रवृत्ति बढेसँगै राज्य उद्योगधन्दाको विकासको सट्टा विप्रेषणबाट प्राप्त रकमबाट राज्य सञ्चालन गर्ने र आयातमुखी अर्थतन्त्रको नीति अवलम्बन गरी भन्सार राजस्वबाट प्राप्त रकमबाट मुलुक चलाउने नीतिमा गयो । फलत: हाम्रो राष्ट्रिय आयमा औद्योगिक क्षेत्रको योगदान विस्तारै घट्दै गयो र आज उद्योगधन्दाको अवस्था दिनदिनै कमजोर भइरहेको छ ।  देशकै सबैभन्दा ठूलो भनिएको बारा–पर्सा औद्योगिक कोरिडोरका कुरा गर्ने हो भने यहाँ संस्थागत उद्योग स्थापना भएको ९० वर्षमा एउटा पनि सरकारी औद्योगिक क्षेत्र छैन । औद्योगिक व्यवसाय ऐन २०७६ ले परिकल्पना गरेको औद्योगिक कोरिडोरको मापदण्ड अहिलेसम्म बनेको छैन । उद्योगधन्दाको घट्दो योगदानको कारण यो क्षेत्रमा रोजगारी पनि अपेक्षित रूपमा बढ्न सकेको छैन । सरकारमा व्याप्त भ्रष्टाचार, कुशासन र अकर्मण्यता र इच्छाशक्तिको कमीबाट उद्योगलाई चाहिने दक्ष जनशक्ति उत्पादन गर्न सकेका छैनौं । उद्योगमैत्री ऐन नियम र नीति बनाउन सकेका छैनौं । अर्थतन्त्रका उद्योगको महत्त्वको कुरा गर्दै उद्योग दिवस त मनायौं, यो केवल औपचारिकतामात्र भएको छ । एक दिन दिवस मनाएर र चिन्तन गरेरमात्र उद्योगधन्धाको अपेक्षित विकास हुन सक्दैन । आज अधिकांश ठूला तथा साना उद्योगहरू पूर्ण क्षमतामा चल्न सकेका छैनन् । उद्योग स्थापना गर्न, सञ्चालन गर्न र निरन्तरता दिन अनेकौं समस्या छन् । राज्यको नीति स्पष्ट छैन । भएको ऐन, कानून एवम् नीति पनि सही तरीकाबाट कार्यान्वयन हुँदैन । उद्योगलाई राज्यले हेर्ने दृष्टिकोण ठीक छैन, सरकारी निकायमा व्यापक भ्रष्टाचार छ, ढिलासुस्ती छ ।  श्रम संगठनका केही व्यक्ति उद्योग व्यवसायमा दलालका रूपमा प्रस्तुत हुन्छन् । श्रम ऐनको गलत व्याख्या गरी उद्योगमा अशान्ति उत्पन्न गर्छन् । श्रम अदालत एकतर्फी छ, यहाँ उद्योगले ९९ प्रतिशत मुद्दा हार्छन् र लाखौं थप दायित्व पर्ने गरी श्रम अदालतले श्रमिकलाई मुद्दा जिताइदिन्छ । ट्रेड युनियनका नेता श्रम अदालतका न्यायाधीश भएका छन् । अधिकांश स्थानीय तह उद्योगमैत्री छैनन् । अहिले कुनै पनि कार्य गर्न स्थानीय तहको सिफारिश चाहिने र ससाना कुराहरूमा पनि स्थानीय तहले अड्काउने गर्छन् । त्यहाँ भ्रष्टाचार व्याप्त छ । कतिपय स्थानीय तहले ऐनभन्दा बाहिर गएर कर लगाइरहेका छन् । कर असुलीमा ठेक्का प्रथा भएकाले ठेकेदारले जोरजबरजस्ती गरेर गैरकानूनी कर असुल गर्छन् । त्यसको सुनुवाइ कहीँ हुँदैन । स्थानीय बासिन्दा पनि उद्योगमैत्री छैनन् । अनेकौं बहानामा औद्योगिक क्षेत्रमा प्रवेश गर्ने, आफ्नो स्वार्थ पूरा नभए उद्योग बन्द गराउनेजस्ता समस्या छन् । कर प्रशासन उद्योगमैत्री छैन । राजस्व कार्यालयमा रहेको ढिलासुस्ती र कुशासनको प्रभाव उद्योग सञ्चालनमा परेको छ । सरकारको अति नियमनले गर्दा उद्योग स्थापना गर्नुभन्दा पैसा बैंकमा राखेर ब्याज खाएर बस्नुजस्तो भावना उद्योगीहरूमा देखिइरहेको छ ।  देशकै सबैभन्दा ठूलो भनिएको बारा–पर्सा औद्योगिक कोरिडोरका कुरा गर्ने हो भने यहाँ संस्थागत उद्योग स्थापना भएको ९० वर्षमा एउटा पनि सरकारी औद्योगिक क्षेत्र छैन । औद्योगिक व्यवसाय ऐन २०७६ ले परिकल्पना गरेको औद्योगिक कोरिडोरको मापदण्ड अहिलेसम्म बनेको छैन । ढल निकास, जग्गा प्राप्ति आदिका समस्याहरू छन् । समग्रमा भन्नु पर्दा आज सही तरीकाबाट उद्योग सञ्चालन गर्न कठिन छ । तर, उद्योगको विकास नभई मुलुकको विकास सम्भव छैन । उदार औद्योगिक नीति, विदेशी लगानीमा थप आकर्षण, नेपालको मुख्य सम्पत्ति कृषि, वन, जडीबुटी, जलस्रोत र जनशक्तिलाई सही ऐननियम, नीतिका माध्यमबाट उद्योगमैत्री बनाई औद्योगिक विकास गर्नुको विकल्प छैन । हरेक स्थानीय तहलाई एक युनिट मानी त्यस युनिटको आत्मनिर्भरता, निकासी र रोजगारी सृजनाका लागि विशेष प्रयास गरी अहिले निरुत्साहित उद्योगपतिलाई आशाको किरण जगाउन र औद्योगिक विकासमा आकर्षित गर्न अब ढिलो गर्न हुँदैन । अबको क्रान्ति भनेको औद्योगिक क्रान्ति नै हो । जसबाट शिक्षा, स्वास्थ्य, विकास पूर्वाधार र जनजीविकाको सम्पूर्ण आवश्यकता मुलुकभित्र पूरा गर्न सकियोस् र अधिकांश युवा वैदेशिक रोजगारीका लागि विदेश जानु नपरोस् ।  लेखक वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हुन् ।

सम्बन्धित सामग्री

न्यू बिजनेश एज २१औं वार्षिकोत्सव विशेष : उच्च सम्भावनाबीच अलमलमा उद्योग

आत्मनिर्भर अर्थतन्त्रका लागि उत्पादनमूलक उद्योगले निकै अर्थपूर्ण भूमिका राख्छ । स्वदेशी उत्पादनको कति महत्त्व छ भन्ने कुरा वर्तमान परिदृश्यले नै स्पष्ट देखाएको छ । स्वदेशी उत्पादन बजारको मागअनुरूप र पर्याप्त नभएर खर्बौं रुपैयाँ बाहिरिँदा अहिले अर्थतन्त्र नै अप्ठ्यारो अवस्थामा छ । स्वदेशी उद्योगहरू सबल र सक्षम हुनु अर्थतन्त्र बलियो हुनु पनि हो । नेपालमा विगतमा उद्योगहरूको राम्रो सम्भावना हुँदाहुँदै पनि उचित नीति र संरक्षण नहुँदा बन्द र गुमनाम हुन पुगेका छन् । यद्यपि यो २ दशकको बीचमा आत्मनिर्भरतातर्फ उन्मुख उद्योगहरू पनि देखिएका छन् । तर, यस्ता उद्योगहरू फस्टाएको र दायरा फराकिलो भएको भने पाइँदैन । उच्च सम्भावना भएका कृषि क्षेत्र, फलफूल, पशुपालन (भैँसी, बाख्रा), धान, चालम, दाल, तेल, मकै जस्ता क्षेत्रमा उत्पादन बढाउन सके पनि आयातमा कमी आउने देखिन्छ । आयातमुखी अर्थतन्त्रको पकड बलियो बन्दै जाँदा स्वदेशी उद्योगहरू फस्टाउन नसकेको देखिन्छ, जसले गर्दा कृषिप्रधान देशको पगरी गुथेको नेपालले खुर्सानीदेखि मकै हुँदै चामलसम्मका खाद्यान्न आयात गर्न वार्षिक अर्बौं रुपैयाँ विदेश पठाउँछ ।  धान/चामल निर्यात गरेको तथ्य नेपालका लागि धेरै पुरानो होइन । ४ दशकअघि मात्रै नेपालले धान निर्यात गरेको तथ्य छ । अञ्चल/अञ्चलमा धान तथा चामल कम्पनीहरू स्थापना भएका थिए । तर, अहिले नेपालले विभिन्न देशबाट विभिन्न थरीका चामल आयात गर्छ । राम्रो उत्पादन भएका उद्योगहरू, (जस्तै– गोरखकाली रबर उद्योग) आत्मनिर्भर भई निर्यात गर्न सक्षम हुँदाहुँदै बन्द भए । वनस्पति घिउ उद्योग पनि अहिले खासै अस्तित्वमा छैनन् । यद्यपि यी उद्योगहरू बन्द भए पनि अहिले पुन:संरचना र प्रविधि भित्र्याएर खानेतेल तथा प्रशोधनमा लागेको वीरगञ्जका व्यवसायी जगदीश अग्रवाल बताउँछन् ।  सशस्त्र द्वन्द्वपछि नेपालीहरू वैदेशिक रोजगारीमा जाने लहर चलेसँगै आम मानिसको जीवनशैली र दिनचर्यामा आमूल परिवर्तन भयो । यसले आयस्तर र क्रयशक्ति बढाउँदा उपभोगमा ठूलो परिवर्तन आएको देखिन्छ । बढ्दो चाहना तथा बजारको मागअनुसार नेपालमा उत्पादनभन्दा आयातमा बढी जोड दिइयो । जसले गर्दा उद्योगहरू फस्टाउन पाएनन् । उद्योग क्षेत्र नै सीमित दायराका साथै अलमलमा परे जस्तो देखिन्छ । भएका उद्योगको संरक्षण नहुँदा बन्द भए भने नयाँ उद्योग पनि आए ।  नेपालमा राम्रोसँग स्थापित भई अर्थतन्त्रलाई बलियो टेको दिएका गार्मेन्ट, कार्पेट, वनस्पति घिउ, टायर, छालाका जुत्ता तथा नेपाली कागज जस्ता उद्योगलाई बचाइराख्न र थप विस्तारका लागि सरकारले उल्लेख्य भूमिका निर्वाह गर्न सकेन । टायर ट्युबको आयात बढ्दो क्रममा छ । भन्सार विभागका अनुुसार यो वर्षको ९ महीनामा ९ अर्ब ९ करोडभन्दा बढी मूल्यको टायर, ट्युब भित्रिएको छ । वार्षिक १ लाख २० हजार थान उत्पादन क्षमता भएको गोरखकाली रबर उद्योगले त्यति बेला वर्षेनि ८८ हजार थान टायर, ट्युब उत्पादन गर्थ्यो ।  यसबीचमा नयाँ उद्योगहरू नआएका र नफस्टाएका भने होइनन् । वैशाख १५ गते केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/७९ को राष्ट्रिय लेखा तथ्यांकअनुसार यो वर्षको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा उद्योगले ५ दशमलव ६५ प्रतिशत योगदान दिने प्रारम्भिक अनुमान छ । यसको अर्थ उत्पादनमूलक उद्योगमा अझै लगानी र सम्भावना बढाउन सकिन्छ । जीडीपीमा यो क्षेत्रको योगदान थप बढाउन लगानी, उद्योगमैत्री वातावरण आवश्यक छ ।  जनसंख्या र आयस्तर बढेपछि धान, चामल मात्रै नभई अन्य उपभोग्य सामग्रीको पनि माग बढ्दो छ । अर्काेतर्फ कृषिमा पशुपालन, तरकारी फलफूलमा राम्रो सम्भावना देखिन्छ । उत्पादनमूलक उद्योगमा लगानी प्रस्तावको अवस्था हेर्दा उद्योग संरक्षणको नीति लिन पनि जरुरी देखिन्छ । राजनीतिक अस्थिरताबीच सरकारले पछिल्ला दशकमा आर्थिक मुद्दालाई एजेन्डा बनाए, जसले गर्दा पूर्वाधार विकास, आर्थिक विषयले महत्त्व पाउन थाल्यो । उद्योग जलविद्युत्, सडक जस्ता पूर्वाधारमा लगानी र अर्थतन्त्र विस्तार हुँदा सिमेन्ट र छडमा पनि आत्मनिर्भरताको अवस्था आएको छ । २०३० मा औद्योगिक व्यवसाय ऐनपछि स्थापना भएका उद्योगलाई उल्लेख्य संरक्षण रहेको बताउँछन् वीरगञ्जका व्यवसायी अग्रवाल । तर, ती उद्योगहरू अहिले छैनन् । २०४६ को दशकमा प्लास्टिक र बनस्पति घिउ उद्योग स्थापना भए । भारत निर्यातको लक्ष्य राखेर नै ती वस्तु उत्पादन गरिएको थियो । भारतले दिएको भन्सार छूट पर्याप्त नहुँदा बन्द भए । तेस्रो चरणमा सशस्त्र द्वन्द्वपछि खुलेका उद्योगलाई लिन सकिन्छ । यो चरणमा खुलेका उद्योगहरू बाह्य दबाबमा स्थापना भएका होइनन्, स्वदेशी बजारका कारण स्थापना भएका हुन् । हाम्रो बजारले स्थापना गरेका उद्योगमा विप्रेषणको प्रभाव देखिन्छ । विप्रेषण खर्बौं रुपैयाँमा भित्रिँदा नेपालको बजार विस्तार भएको छ । बजार विस्तार हुँदै जाँदा पहिला बन्द भइसकेका उद्योग पनि आफ्नो स्वरुप बदलेर नयाँ किसिमले आए ।  पाइपलाइन, प्लास्टिक उद्योगहरू आधुनिक बनेर निर्माणसँग जोडिँदा उत्पादन र बजार राम्रो भयो । निकासी लक्षित घिउ उद्योगहरू बन्द भए पनि अहिले खानेतेल प्रशोधन र उत्पादनमा लागेका छन् । अहिले तेलको कच्चा पदार्थ आयात गरे पनि त्यसलाई प्रशोधन तथा मूल्य अभिवृद्धि गरेर निर्यात गर्न सकिएको छ । खानेतेलमा राम्रो संकेत देखिए पनि खाद्यका अन्य पक्ष सन्तोषजनक छैनन् । नेपालमा अत्यधिक खपत चामल हुन्छ । चामल अहिले पनि आयात गर्नुपर्छ । धान र गहुँको खेती मात्र गरियो, कृषिका अन्य क्षेत्रमा जोखिम लिन चाहेनौं । खेतीको स्वरुप नै बदल्नुपर्छ भन्ने तर्क अग्रवालको छ । नेपालमा सरकार र निजीक्षेत्र नै उद्योग संरक्षणभन्दा पनि आयातमा केन्द्रित देखिन्छन् । गार्मेन्ट, कार्पेट तथा पस्मिनाका लागि उर्वर मानिने नेपालले अहिले त्यस्ता अवसर गुमाएको छ । तर, उत्पादनका अन्य क्षेत्रहरू अदुवा, चिया, अम्रिसो, अलैंची जस्ता उत्पादन बढाउन र स्वदेशमै प्रशोधन केन्द्र स्थापना गर्न सके पनि सम्भावना राम्रो देखिन्छ । निर्यातका सारथि सिमेन्ट र फुटवेयर आयातमुखी अर्थतन्त्रको विस्तारले नेपालमा सम्भावना भएका वस्तुको उत्पादनमा पनि संकुचन आएको छ । यसबीचमा सिमेन्ट र फुटवेयर ‘कालो बादलमा चाँदीको घेरा’ जस्तो आशलाग्दा उत्पादनको रूपमा आएका छन् । १५ वर्षअघि भारतमा मात्रै निर्यात हुने नेपाली फुटवेयर (जुत्ता) अहिले विश्वका १९ देशमा विस्तार भएको छ । परिणाम कम भए पनि नेपाली जुत्ताचप्पल भारतलगायत खाडी, अमेरिका, बेलायल जस्ता देशमा निर्यात हुन थालेका छन् । खासगरी २०७० यता नेपालमा फुटवेयर उत्पादनले गति लिन थालेको जुत्ता उत्पादक संघ नेपालका अध्यक्ष नानीराज घिमिरे बताउँछन् । कोरोनाको २ वर्षमा थप लगानी यो क्षेत्रमा भित्रिँदा र सरकारले पनि फुटवेयरलाई प्राथमिकता दिएकाले सम्भावना राम्रो देखिएको छ । यो क्षेत्रमा अहिले ३० अर्बभन्दा बढी लगानी भइसकेको छ भने १ हजार ५०० उद्योग छन् । झन्डै ३ करोड जोर जुत्ता पनि निर्यात भएका छन् । छोटो समयमै गति लिएको र आशलाग्दो उद्योगको रूपमा सिमेन्ट आएको छ । खासगरी २०७२ वैशाखको भूकम्पपछि नेपालमा सिमेन्ट तथा डण्डीको माग र खपत दुवै बढेसँगै लगानी र उत्पादन बढेको छ, जसले गर्दा क्लिंकर र सिमेन्ट आयातमा विदेशिने अर्बौं रुपैयाँ जोगिएको छ । नेपालले अहिलेकै उद्योगको उत्पादन क्षमतामा वार्षिक १५० अर्बको सिमेन्ट निर्यात गर्न सक्ने नेपाल सिमेन्ट उद्योग संघका अध्यक्ष धु्रव थापाको भनाइ छ । त्यसो त सरकारले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममै सिमेन्टलाई प्रमुख निर्यातयोग्य वस्तुको रूपमा अघि बढाउने घोषणा गरिसकेको छ । यद्यपि नीति र स्पष्ट आधार नबन्दा निर्यात हुन सकेको छैन । सिमेन्टमा होङ्सी र ह्वासिन जस्ता ठूलो उत्पादन क्षमता र लगानी भित्रिँदा पनि नेपाललाई यो उत्पादनमा आत्मनिर्भर बन्न टेवा पुगेको देखिन्छ । सिमेन्ट उत्पादन लागत कम गर्न, निर्यातमा प्रतिस्पर्धी मूल्य बनाउन र गुणस्तर कायम गर्नु भने चुनौतीपूर्ण छ । भारतका सीमावर्ती राज्यहरू र बंगलादेश नेपाली सिमेन्टका निर्यात बजार हुँदै गर्दा स्वदेशमा पनि विकास निर्माणका काम बढाएर र कंक्रिट सडकहरू बनाउन सके खपत बढ्ने देखिन्छ । अहिले सञ्चालनमा ६२ ओटा उद्योग छन् । हालसम्म २ खर्ब रुपैयाँ लगानी भएको छ भने उत्पादन क्षमता वार्षिक २ करोड ५० लाख मेट्रिक टन र माग १ करोड मेट्रिक टन छ ।  पोल्ट्रीमा आत्मनिर्भर  सरकारले २०७७ चैतमा नेपाल पोल्ट्री व्यवसायमा आत्मनिर्भर भएको घोषणा गर्‍यो । यद्यपि यसका लागि आवश्यक पर्ने दाना (मकै/भटमास)का लागि भने वार्षिक अर्बौं रूपैयाँ बाहिरिने गरेको छ । नेपाल अहिले कुखुराको मासु तथा अन्डामा आत्मनिर्भर छ । यस्तै माछामासुमा पनि आत्मनिर्भर भएको सरकारले घोषणा गरिसकेको छ । यद्यपि दूध तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर भएको भनिए पनि अझै सिजन तथा अफ सिजनमै दूध अपुग हुन्छ । दुग्ध विकास बोर्डका अनुसार अहिले नेपालमा उत्पादन हुने दूधबाट ९१ प्रतिशत मात्रै माग पूर्ति हुन्छ । पशुपालन खासगरी गाईपालन बढ्दो छ । जसले गर्दा दूध तथा दुग्धजन्यमा नेपाल आत्मनिर्भरताको बाटोमा उन्मुख छ ।  यसैगरी कृषिका अन्य विधाहरू तरकारी, फलफूल, नगदेबालीमा चिया, अदुवा, अम्रिसो जस्ता उत्पादनमा सकारात्मक सुधार देख्न सकिन्छ । यी क्षेत्रमा व्यावसायिक रूपमा नै युवायुवती लागेका छन् भने कतिपय स्थानमा धान, मकै खेतीको विकल्पमा व्यावसायिक रूपमा तरकारी खेती गरिँदै आएको छ । नेपालीको आयस्तर, क्रयशक्ति र उपभोगमा देखिएको विविधताले रोजाइ र गराइमा पनि फरक ल्याएको छ । छोटो समयमै गति लिएको र आशलाग्दो उद्योगको रूपमा सिमेन्ट आएको छ । खासगरी २०७२ वैशाखको भूकम्पपछि नेपालमा सिमेन्ट तथा डण्डीको माग र खपत दुवै बढेसँगै लगानी र उत्पादन बढेको छ, जसले गर्दा क्लिंकर र सिमेन्ट आयातमा विदेशिने अर्बाैं रुपैयाँ जोगिएको छ । नेपालले अहिले कै उद्योगको उत्पादन क्षमतामा वार्षिक १५० अर्बको सिमेन्ट निर्यात गर्न सक्ने देखिएको छ ।