रैथाने बाली संरक्षण गर्दै कर्णाली प्रदेश सरकार

सुर्खेत । कर्णाली प्रदेश सरकारले रैथाने बालीको संरक्षण तथा प्रवर्द्धनमा उच्च प्राथमिकता दिएको छ । प्रदेश सरकारले शनिवार ‘कर्णाली प्रदेश दोस्रो रैथाने बाली संरक्षण तथा प्रवर्द्धन दिवस, २०७९’, मनाएको छ । कर्णाली सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले २०७४ फागुन ६ गते कर्णालीलाई ‘अग्र्यानिक प्रदेश’ बनाउने निर्णय गरेको थियो । सोहीबमोजिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले त्यससँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । मन्त्रालयले प्रांगारिक उत्पादनमा वृद्धि गर्न यहाँका रैथाने बाली फापर, कोदो, चिनो, कागुनो, मार्सी धान, सिमी, जौ, उवा, लट्टेलगायतको संरक्षण, प्रवर्द्धनका साथै प्रचार–प्रसारमा पनि जोड दिएको छ । यसअनुरूप २०७८ फागुन ६ गतेदेखि कर्णाली प्रदेश रैथाने बाली संरक्षण तथा प्रवर्द्धन दिवस मनाउन शुरू गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले जानकारी दिए । ‘कर्णाली आयातित वस्तुमा निर्भर छ भन्ने भनाइ भ्रम हो,’ उनले भने, ‘यो प्रदेशमा गोठे मल प्रयोग गरी रैथानी बाली उत्पादन गरिन्छ । विषादी र रासायनिक मल प्रयोग भएको छैन ।’ जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख गंगाराम सुनारले रैथाने बालीमा भिटामिन, प्रोटिन, क्यालोरी कति पाइन्छ भन्ने थाहा पाउन र यसको महत्त्व बुझाउन पाठ्यक्रम तयार हुनुपर्ने बताए । वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतका अध्यक्ष दिनेश खत्रीले कर्णाली प्रांगारिक सम्भावना बोकेको एक मात्र प्रदेश भएको दाबी गरे । ‘अहिले जुम्लाको अग्र्यानिक उत्पादन किन्न जुम्ला जानुपर्दैन, सुर्खेतमै आउँछ । त्यसैले रैथानी बालीको महत्त्व, उत्पादन र संरक्षणबारे बुझाउन जरुरी छ ।’ मन्त्रालयका सचिव डा. लेखराज दाहालले शैक्षिक क्षेत्रको अनुपम उदाहरण मानिने सुर्खेतको कोपिला भ्याली स्कुलले रैथाने बालीबाट उत्पादित वस्तु खुवाउने लक्ष्य राखेको भन्दै उक्त कामको प्रशंसा गरे । यहाँका शिक्षण संस्थामा प्रांगारिक उत्पादनसम्बन्धी जोडिएको विषयवस्तु पढाइ हुनुपर्ने उनको भनाइ थियो । कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले प्रदेश सरकारले राखेको लक्ष्य, उद्देश्य र त्यसका लागि थालेको अभियान तथा सञ्चालन गरिएका गतिविधिले सकारात्मक सन्देश दिएको बताए । यद्यपि आयातित वस्तुको उत्पादन रोक्न रैथानी बालीको उत्पादकत्व बढाउनुपर्नेमा उनले जोड दिए । कृषि मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले रैथाने बालीको परिचय, त्यसको इतिहास, महत्त्व, उत्पादनको अवस्था, घट्नुका कारण, संरक्षण गर्ने उपाय, देखिएका चुनौती तथा समस्या र प्रदेश सरकारले थालेका कदमका बारेमा कार्यपत्र प्रस्तुत गरे । कर्णालीमा हेला गरिएको बालीको मूल्य र महत्त्व अहिले नेपाली तथा विश्वबजारमा बढ्दै गएको उनले बताए । प्रवक्ता कठायतले भने, ‘मानिसले महत्त्व बुझ्दै गएपछि अहिले विद्यालयको खाजा कार्यक्रममा पनि यहाँको रैथाने बालीबाट बनेका परिकार खुवाउन थालिएको छ ।’ खाद्य विविधीकरण, बजारीकरण र उत्पादकत्वमा बढाएर निर्यातमा समेत जोड दिइएको उनले बताए । उक्त दिवसको अवसरमा चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड जुम्लाले स्याउको चाना, ओखर, सिमी, दाल, मार्सी चामल, ऊनको टोपी, मफलरलगायत रैथाने उत्पादनको स्टल प्रदर्शनीमा राखेको थियो । रासस

सम्बन्धित सामग्री

‘आयात रोक्न रैथाने बाली संरक्षण’

हुने वस्तु रोक्न रैथाने बालीको संरक्षण गर्ने योजना बनाइएको बताउनुभयो । उहाँले कर्णाली प्रदेश सरकार गठन भएको दोस्रो मन्त्रिपरिषद्को बैठकबाट कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश बनाउने आधार तयार गर्ने निर्णय भएकाले बाहिरबाट आयात हुने वस्तु रोकेर रैथानी बाली संरक्षणमा लाग्न पनि कृषकलाई सुझाव दिनुभयो ।