काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बिम्स्टेक (बे अफ बंगाल इनिसिएटिभ फर मल्टी–सेक्टरल टेक्निकल एन्ड इकोनोमिक कोअपरेसन) राष्ट्रमा साझा सडक सञ्जाल बनाउन पहलका लागि भारतीय पक्षसँग आग्रह गरेको छ । नेपाल, भारत, बंगलादेश, भुटान, श्रीलंका, थाइल्याण्ड र म्यानमारमा साझा सडक सञ्जाल बनाएर व्यापार विस्तार गर्न चेम्बरले आग्रह गरेको हो । सिक्किम सरकारका प्रमुख आर्थिक सल्लाहकार महेन्द्र पी लामा र भारतको उत्तरपूर्वी विकास वित्त निगम लिमिटेड (नेडफी)का वरिष्ठ सल्लाहकार अवजित कुमार बेजबारुवासँग जमलस्थित चेम्बर भवनमा भएको भेटवार्तामा चेम्बरले बिम्स्टेक राष्ट्रमा सडक पूर्वाधार विकाससँगै व्यापारिक वातावरण सहज बनाउन आग्रह गरेको हो ।
सडक सञ्जाल बलियो बनाएर व्यावसायिक वातावरण सहज बनाउन सकिए आर्थिक रूपमा बिम्स्टेका सदस्य सबै राष्ट्रले ठूलो लाभ प्राप्त गर्न सक्ने चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए । दक्षिण एसियाली राष्ट्रमा सडक पूर्वाधार विकास गरेर आर्थिक विकासको साझा लक्ष्य प्राप्त गर्नुपर्नेमा चेम्बरले जोड दिएको छ ।
भारतसँगको उच्च व्यापार घाटा न्यूनीकरणका लागि नेपालको निर्यात सहजीकरण हुनुपर्ने अध्यक्ष मल्लले बताए । दुई मुलुकबीचका सीमा नाकाहरूमा सहजीकरण र सडक सञ्जालको स्तरोन्नति गरेर व्यावसायिक वातावरण बनाउनुपर्ने उनको भनाइ थियो ।
‘नेपालको करीब ७० प्रतिशत व्यापार घाटा भारतसँग छ । नेपालले निर्यात गर्दा हुने कठिनाइ अन्त्य गर्न पहल गरिदिन आग्रह गर्दछु,’ उनले भने । नेपालको विद्युत् भारत र बंगलादेशमा सर्वसुलभ निर्यात गर्न सक्ने वातावरण निर्माणका लागि पनि पहल गर्नुपर्नेमा उनले जोड दिए । नेपालको पर्यटन, जलविद्युत् र अन्य भौतिक पूर्वाधारका क्षेत्रमा लगानीका लागि पनि उनले आग्रह गरे । नेपाल र भारतबीचको दुईपक्षीय व्यापारिक सम्बन्ध बलियो बनाउन आफूहरू प्रयासरत रहेको उनले बताए ।
भेटवार्तामा चेम्बरका पदाधिकारीले नेपाली व्यापारीले भारतमा निर्यात गर्दा भोग्नुपरेको समस्याबारे अवगत गराएका थिए । नेपाल भारत प्रबुद्ध समूहका सदस्य समेत रहेका सिक्किम सरकारका प्रमुख आर्थिक सल्लाहकार लामाले बिम्स्टेक राष्ट्रमा साझा सडक सञ्जालका लागि सम्भाव्यता अध्ययन भइरहेको बताए । नेपाल, भारत लगायत राष्ट्रमा भौतिक पूर्वाधार निर्माणमार्फत व्यापारिक गतिवधि विस्तारबारे केन्द्रीय स्तरमै छलफल भइरहेको उनको भनाइ थियो । साथै सीमामा नेपाली व्यवसायीले भोग्नुपरेका समस्या समाधानका लागि आफूले पहल गर्ने उनले बताए ।