बढ्यो चुनावी माहोल : मतदाताको प्रश्न–विगतमा दिएका आश्वासन किन पूरा भएनन् ?

कैलाली । आसन्न स्थानीय तह निर्वाचनका लागि मत माग्न घरदैलो पुगिरहेका उम्मेदवारसँग मतदाताले विगतका चुनावका बेला दिइएको अश्वासन किन पूरा नगरेको भन्दै प्रश्न गर्न थालेका छन् । शनिवार प्रचारप्रसारका धनगढी उपमहानगरपालिका–१३ मा पुगेका उम्मेदवारहरूसँग स्थानीय मतदाताले यसअघि चुनावका बेला दिएका आश्वासन किन पूरा नभएको भन्दै प्रश्न गरेका हुन् । हरेक चुनावका बेला आश्वासन दिने, तर जितेर गएपछि फर्केर नहेर्न गुनासो मतदाताले उम्मेदवारहरूसँग गरेका हुन् । मतदाता डबल सिंहले ‘तपाईंहरूलाई किन र केका लागि भोट दिने ? यसअघि के काम गर्नुभएको छ ?’ भन्दै प्रश्न गरेका थिए । उनको प्रश्नपछि पार्टीका कार्यकर्ता अलमलिएका थिए । सोही वडाका देवराज पाण्डेयले आफूहरूको बसोवास रहेको हिमाली टोलको सडकको स्तरोन्नति गरिदिन बारम्बार अनुरोध गरिए पनि कसैबाट सुनुवाइ नभएको गुनासो गरे । ‘टोलको सडकको स्तरोन्नति कहिले एडीबीको कार्यक्रममार्फत गरिँदै छ भन्छन्, कहिले प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट गरिन्छ भनेर अश्वासन दिइन्छ, तर अहिलेसम्म सडकको स्तरोन्नति हुन नसक्दा जनताको नेताप्रतिको विश्वास टुट्न लागेको छ,’ उनले भने । उक्त बस्तीमा उचित सडक, ढल निकास, टेलिफोन, खानेपानीलगायत विकासका पूर्वाधारको सुविधा अझैसम्म पुग्न नसक्दा उपमहानगरपालिका भित्रको बस्ती भन्न अप्ठ्यारो लाग्ने स्थानीय बताउँछन् । उक्त वडामा शनिवार नेकपा एमाले, नेपाली कांग्रेससहितको गठबन्धन र राष्ट्रिय जनमोर्चाले चुनाव लक्षित कार्यक्रम गरेका थिए । धनगढी उपमहानगरपालिका क्षेत्रमा खासगरी वर्षायाममा डुबानको ठूलो समस्या हुने गरेको छ । सडक स्तरोन्नति हुन नसक्दा बन्ने खाल्डाखुल्डी सडकमा नगरबासी हिँड्न बाध्य छन् । फोहोर व्यवस्थापनको समस्या समाधान हुन सकिरहेको छैन । सबै वडामा समानुपातिक विकास गर्ने यसअघिका चुनावको प्रचारप्रसारमा गरिएको थियो । तर, त्यो आश्वासनमा मात्रै सीमित भएको छ । आश्वासन अनुसार काम भएन । विकासका योजना नेता कार्यकर्ताको पहुँच र प्रभावका आधारमा छनोट भएर कार्यान्वयन हुने गरेकाले अधिकांश ग्रामीण बस्तीमा विकासका आधारभूत पूर्वाधार बन्न सकेका छैनन् । मुख्य बजार क्षेत्रमा बिग्रेर भत्किएका सडक मर्मत निर्माणमा कसैको ध्यान पुगेको छैन । बजार क्षेत्रमा सार्वजनिक शौचालयको चरम समस्या झेलनु परेको छ । रासस

सम्बन्धित सामग्री

आरजुको अभिव्यक्तिले बिग्रिँदै छ चुनावी माहोल

- कांग्रेसले हारेका पालिकामा बजेट नपठाउने कांग्रेस नेतृ आरजु राणाको अभिव्यक्ति - गठबन्धनका उम्मेदवारलाई विजयी गराए विदेश पठाउन सहयोग गर्ने आश्वासन कांग्रेसले हारेका पालिकामा बजेट नपठाउने कांग्रेस नेतृ आरजु राणाको अभिव्यक्तिले कांग्रेस...