५८ सहित ३ वटा ब्रोकर कम्पनीलाई नेप्सेले सोध्यो स्पष्टिकरण

नेपाल स्टक एक्सचेन्ज नेप्सेले ३ वटा ब्रोकर कम्पनीलाई ७ दिने स्पष्टिकरण सोधेको छ । नेप्सेले ब्रोकर नम्बर ३९ सुमेरु सेक्युरिटिज, ब्रोकर नम्बर ४८ त्रिशक्ति सेक्युरिटिज र ब्रोकर नम्बर ५८ नासा सेक्युरिटिजलाई ७ दिने स्पष्टिकरण सोधेको हो । उनीहरुले नियम बिपरित कार्य गरेकोले किन कारवाही नगर्ने भन्दै नेप्सेको सुपरिवेक्षण विभागले स्पष्टिकरण सोधेको हो । नेप्सेले हिजो आइतबार ब्रोकर कम्पनीहरुलाई स्पष्टिकरण सोधेको हो ।के छ स्पष्टिकरणमा ? नेप्सेले सुमेरुलाई पठाएको स्पष्टिकरणमा भनिएको छ 'उपर्युक्त सम्बन्धमा तहाँबाट ग्राहकको विवरण फरक प्रविष्ट भएको सम्बन्धी सोधनी भएकोमा ग्राहकले अज्ञानताको कारण मानविय त्रुटि हुन गई भुलवश विवरण भर्दा विवरणमा फरक पर्न गएको जानकारी मिति २०७८/०५/१० Ref. No. २०७८/०७९/११६ पत्र मार्फत प्राप्त भएको सम्बन्धमा तहाँबाट ग्राहकले प्रदान गरेको गलत विवरण रुजु नगरी प्रविष्ट गरेको हुदाँ धितोपत्र बजार सदस्यता तथा कारोबार विनियमावली, २०५५ को विनियम १२ (१) (झ) मा उल्लेखित प्रावधान अनुसार सदस्यले गर्न नहुने भनि तोकेको कार्य गरी सोही विनियम बमोजिम झुठा विवरण नेप्सेको प्रणालीमा प्रविष्टि गरी कसुर गरेको हुदाँ सोही विनियमावलीको विनियम ७(२) बमोजिम किन कारवाही नगर्ने? सो को ७ (सात कार्य दिन) भित्र जवाफ आइपुग्ने गरी स्पष्टिकरण पेश गर्न हुन निर्णयानुसार अनुरोध छ ।'त्यस्तै नेप्सेले त्रिशक्तिलाई पठाएको स्पष्टिकरणमा भनिएको छ 'उपर्युक्त सम्बन्धमा तहाँको मिति २०७८/०५/०८ च. नं. ०७८/७९ ०६८ मार्फत ग्राहक स्वयमले व्यक्तिगत पहिचान विवरण Online Registration बाट नेप्सेको TMS मा प्रविष्टि गरेको र सदस्य दलालको युजरबाट उक्त विवरण प्रमाणित गर्ने क्रममा दृष्टिभ्रम हुन गई अभिलेख हुन गएको व्यहोराको पत्र प्राप्त हुदाँ धितोपत्र बजार सदस्यता तथा कारोबार विनियमावली, २०५५ को विनियम १२ (१) (झ) मा उल्लेखित प्रावधान अनुसार सदस्यले गर्न नहुने भनि तोकेको कार्य गरी सोही विनियम बमोजिम झुठा विवरण नेप्सेको प्रणालीमा प्रविष्टि गरी कसुर गरेको हुदाँ सोही विनियमावलीको विनियम ७२) बमोजिम किन कारवाही नगर्ने? सो को ७ (सात कार्य दिन) भित्रजवाफ आइपुग्ने गरी स्पष्टिकरण पेश गर्न हुन निर्णयानुसार अनुरोध छ ।'त्यस्तै नेप्सेले नासालाई पठाएको स्पष्टिकरणमा भनिएको छ 'उपर्युक्त सम्बन्धमा तहाँको मिति २०७८/०५/०८ पत्र संख्या ०७३/०७८/७९ मार्फत ग्राहक पहिचान फारमबाट ग्राहक विवरण TMS मा प्रविष्ट गर्ने क्रममा सो कार्यमा संलग्न कर्मचारीबाट मानविय त्रुटि हुनगई बाजेको नाम प्रविष्ट गनुपर्ने ठाउँमा भुलबस ग्राहकको आमाको नाम तथा जन्म मिति प्रविष्ट गर्दा अन्यथा हुन गएको तथा हाल त्रुटि थाहा हुने वित्तिकै सच्चाएको व्यहोरको पत्र प्राप्त भयो । सो सम्बन्धमा गलत विवरण प्रविष्ट गर्ने तथा यहाँबाट सो सम्बन्धी स्पष्टिकरण सोधे पश्चात पूर्व जानकारी नगराई सच्चयाई धितोपत्र बजार सदस्यता तथा कारोबार विनियमावली, २०५५ को विनियम १२ (१) (झ) मा उल्लेखित प्रावधान अनुसार सदस्यले गर्न नहुने भनि तोकेको कार्य गरी सोही विनियम बमोजिम झठा विवरण नेप्सेको प्रणालीमा प्रविष्टि गरी कसुर गरेको हुदाँ सोही विनियमावलीको विनियम ७(२) बमोजिम किन कारवाही नगर्ने? सो को ७ (सात कार्य दिन) भित्र जवाफ आइपुग्ने गरी स्पष्टिकरण पेश गर्न हुन निर्णयानुसार अनुरोध छ ।'