बेनी–जोमसोम–कोरला सडक : कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण

म्याग्दी । अन्तरदेशीय व्यापारिक महŒवको बेनी–जोमसोम–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१ र अन्नपूर्ण गाउँपालिका–७ को सिमानामा पर्ने महभीरस्थित कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण भएको छ । गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमा सहजै सवारी आवतजावतको व्यवस्था मिलाउन भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले ठेक्कामार्फत पक्की मोटरेबल पुल निर्माण गरेको हो । महभीर र पोखरबगरस्थित कालीगण्डकीमा दुईओटा मोटरेबल पुल निर्माणका लागि २०७४ फागुनमा हिम–सगरमाथा–डाँफे–बज्रगुरु जेभीले रू. १९ करोडमा ठेक्का सम्झौता गरेको थियो । ८० मिटर लामो महभीरको पुल निर्माण सकिएको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका वडाध्यक्ष गमप्रसाद फगामीले जानकारी दिए । ‘पुल र पहुँचमार्ग निर्माण सकिएको छ,’ उनले भने, ‘हस्तान्तरण भएपछि औपचारिक रूपमा पुलमा सवारी सञ्चालन गर्ने तयारी छ ।’ ११ मिटर फराकिलो दुईओटै पुल निर्माणका लागि ठेकेदार आफैले डिजाइन र निर्माण गर्ने सम्झौता भएको थियो । २ वर्षको ठेक्का अवधि भए पनि कोरोना महामारी, निषेधाज्ञा र बन्दाबन्दीका कारण निर्माणको समय एक वर्ष धकेलिएको हो । कोरोना महामारी र बाढी पहिरोजस्ता प्राकृतिक विपद्कै बीच सरकारले थपेको समयभित्रै पुल बनाएको निर्माण कम्पनीका प्रतिनिधिले बताएका छन् । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरे बगरदेखि वडा–२ को सिमानास्थित कालीगण्डकी नदीमा समेत पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ७० मिटर लामो पोखरेबगरको पुलको रङरोगन गर्न र पहुँचमार्गलाई अन्तिम रूप दिन बाँकी छ । २०६४ सालमा ट्र्याक खुलेको बेनी जोमसोम सडकको विभिन्न ठाउँमा हाल फलामको बेलीब्रिजबाट सवारीसाधन वारपार गर्दै आएका छन् । बेनी–जोमसोम सडकअन्तर्गत नै बेगखालामा ७० मिटर लामो र ११ मिटर चौडाइको मोटरेबल पुल निर्माणको तयारी भएको छ । रू. ८ करोड ४७ लाख लागत अनुमान गरिएको पुलको ठेक्का प्रक्रिया अघि बढेको जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र कटुवालले बताए । पुलको वारि र पारि ५०० मिटरको पहुँच मार्ग र तलमाथि दुईतर्फ २६० मिटर लम्बाइमा नदी नियन्त्रणका लागि संरचना निर्माण गरिने परामर्शदाताले बेगमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा जानकारी गराइएको थियो । भारत र चीन जोड्ने सबैभन्दा छोटो (४३५ किलोमिटर) दूरीको कालीगण्डकी कोरिडोर अन्तर्गत म्याग्दीको बेनीदेखि चिनको सिमाना कोरला जोड्ने १८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक कालोपत्र र स्तरोन्नतिको काम भइरहेको छ । रू. ६ अर्बको लागतमा बेनीदेखि जोमसोमसम्मको ७६ किलोमिटर सडक कालोपत्रे र जोमसोमदेखि कोरलासम्मको ११० किलोमिटर सडक स्तरोन्नति गर्न सातओटा खण्डमा काम भइरहेको छ । चारओटा खण्डको निर्माण सकिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका निमित्त प्रमुख अश्विनीकुमार यादवले बताए । सो सडक स्तरोन्नति र कालोपत्र भएपछि कोरला नाका सञ्चालनमा ल्याउने वातावरण बन्नुका साथै गण्डकी प्रदेशको जलविद्युत्, पर्यटन र व्यापारमा महŒवपूर्ण योगदान पुग्ने प्रदेशसभा सदस्य विनोद केसीले बताए । रासस

सम्बन्धित सामग्री

बेनी-जोमसोम-कोरला सडक : छाक्ताङखोलामा पुल निर्माण

म्याग्दी, २३ माघ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडकमा पर्ने मुस्ताङको थासाङ गाउँपालिकास्थित छाक्ताङ खोलामा मोटरेबल पुल निर्माण भएको छ । बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत छाक्ताङ खोलामा मोटरेबल पुल निर्माण भएपछि खोलामा सवारीसाधन आवतजावतमा सहज भएको छ । छाक्ताङखोलामा डबल स्पाम भएको ८० मिटर लामो प्रिस्ट्रेस कङ्क्रिट विम प्रविधिको मोटरेबल […]

घमी खोला मोटरेबल पुल निर्माण अलपत्र

राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत घमी खोलामा निर्माणाधीन मोटरेबल पुल अलपत्र परेको छ ।

कालिगण्डकीमा बन्दैगरेको दुई वटा पक्की पुल निर्माण सम्पन्न

राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी कोरिडोर बेनी–जोमसोम कोरला सडक अन्तर्गत कालिगण्डकी नदीमा दुई स्थानमा पक्की पुल निर्माण सम्पन्न भएको छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर र तिप्ल्याङस्थित कालिगण्डकी नदीमा मोटरेबल पुल निर्माण गरिएको हो ।