६ ओटा कम्पनीहरुद्वारा १ करोड २७ लाख कित्ता ऋणपत्र विक्रीको तयारी

भदौ ७, काठमाडौं । धितोपत्र बजारमा चार ओटा वाणिज्य बैंक सहित ६ ओटा कम्पनीहरुले १ करोड २७ लाख कित्ता ऋणपत्र विक्रीको तयारी गरेका छन् । कामना सेवा विकास बैंक, एभरेष्ट बैंक, एनएमबि बैंक, सेञ्चुरी बैंक, सिभिल बैंक र गरिमा विकास बैंकले उक्त कित्ता ऋणपत्र विक्रीको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । यी मध्ये सेञ्चुरी बैंक, सिभिल बैंक र गरिमा विकास बैंकको निवेदन स्वीकृत प्रकृया अन्तिम चरण रहेको छ । सेञ्चुरी बैंकले २०७७ साल असोज २२ गते रू. २ अर्ब २० करोड बराबरको २२ लाख कित्ता ऋणपत्र विक्रीका लागि निवेदन दिएकोमा सोही वर्ष मंसिर १७ गते नै बोर्डको प्रतिक्रिया प्राप्त गरेपनि हालसम्म स्वीकृति पाएको छैन । बोर्डले केही प्रकृया अझै बाँकी रहेकाले सेञ्चुरी बैंकको ऋणपत्र स्वीकृति प्रकृया रोकिएको जानकारी दिएको छ ।  त्यस्तै, २०७८ साल जेठ २४ गते रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र विक्रीका लागि निवेदन दिएको सिभिल बैंकले र २०७८ साल असार ११ गते रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र विक्रीको लागि निवेदन दिएको गरिमा विकास बैंकले एकै दिन साउन २१ गते बोर्डबाट प्रतिक्रिया प्राप्त गरिसकेका छन् । बोर्डको प्रतिक्रिया बमोजिमको प्रकृया पूरा गर्न बाँकी रहेकाले यी बैंकहरुको ऋणपत्र स्वीकृति रोकिएको हो । बाँकी, तीन ओटा कम्पनीको निवेदन भने प्रारम्भिक चरणमै रहेको छ । कामना सेवा विकास बैंकले रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासन गर्न साउन ३ गते निवेदन दिएको हो । त्यस्तै, एभरेष्ट बैंकले रू. २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्कासनका लागि साउन २० गते र एनएमबि बैंकले रू. ३ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्कासनका लागि साउन २४ गते निवेदन दिएको हो ।  कुल कित्तामध्ये सर्वसाधारणमा सार्वजनिक निष्कासन मार्फत विक्री हुनेछ भने विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई बैंक आफैले परिपत्र विधिबाट विक्री गर्नेछ । कामना सेवा बैंकले १० वर्षे अवधिको ९ प्रतिशत ब्याजदरको कुल १० लाख कित्तामध्ये ४ लाख कित्ता सामूहिक लगानी कोष सहित सर्वसाधारणमा विक्री गर्नेछ भने ६ लाख कित्ता परिपत्र विधिबाट विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई विक्री गर्नेछ ।  त्यस्तै, एभरेष्ट बैंकले ८ वर्षे अवधिको ८ दशमलव ५ प्रतिशत ब्याजदरको कुल २० लाख कित्तामध्य ८ लाख सर्वसाधारणका लागि र १२ लाख परिपत्र विधिका लागि छुट्याएको छ । त्यस्तै, एनएमबि बैंकले १५ वर्षे अवधिको ४ प्रतिशत ब्याजदरको ऊर्जा बण्डका नामको ३५ लाख कित्तामध्ये १४ लाख सर्वसाधारणका लागि र २१ लाख परिपत्र विधिका लागि छुट्याएको छ । सेञ्चुरी कमर्सियल बैंकले ९ प्रतिशत ब्याजदरको १० वर्षे अवधिको २२ लाख कित्ता ऋणपत्र मध्ये ८ लाख ८० हजार कित्ता सर्वसाधारणका लागि र १३ लाख २० हजार कित्ता विभिन्न संघ संस्थाहरुमा विक्री गर्नेछ ।  सिभिल बैंकले पनि ९ प्रतिशत ब्याजदरको १० वर्षे अवधिको ३० लाख कित्तामध्ये १२ लाख सर्वसाधारणमा र १८ लाख विभिन्न संघसंस्थाहरुमा विक्री गर्ने भएको छ । गरिमा विकास बैंकले भने ७ वर्षे अवधिको ८ दशमलव ७५ प्रतिशत ब्याजदरको कुल १० लाख कित्तामध्ये ४ लाख कित्ता सर्वसाधारणमा र ६ लाख कित्ता परिपत्र विधिबाट विभिन्न संघसंस्थाहरुमा जारी गर्नेछ । लामो समयसम्मका लागि निश्चित ब्याजदर उल्लेख गरी रकम जुटाउन सकिने सरल माध्यम भएकाले पनि कम्पनीहरुले ऋणपत्र निष्कासनलाई प्राथमिकतामा राखेका छन् । यसअघि वाणिज्य बैंकको हकमा चुक्तापूँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था थियो ।  यस वर्षदेखि भने वाणिज्य बैंकहरुको अतिरिक्त राष्ट्रिय स्तरको विकास बैंक, वित्त कम्पनी र थोक कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाहरुमा पनि ऋणपत्र जारी गर्न पाउने व्यवस्था भएको छ । यस वर्षको मौद्रिक नीतिले यी कम्पनीहरुले पनि आफ्नो चुक्तापूँजीको २५ प्रतिशतसम्म ऋणपत्र विक्री गर्न पाउने भएका हुन् ।  यो व्यवस्थाले अवका दिनमा ऋणपत्र निष्कासनले अझै तिव्रता पाउनेछ । यस अघिको अवस्थालाई हेर्दा गत आर्थिक वर्षमा मात्र २३ कम्पनीहरुले ६ करोड ९६ लाख कित्ता ऋणपत्र विक्रीको अनुमति पाई निष्कासन समेत गरिसकेका छन् । यसअघि पनि वाणिज्य बैंक सहित विकास बैंक र वित्त कम्पनीले पनि ऋणपत्र विक्रीको अनुमति पाई निष्कासन गरेका थिए ।                                                                              स्रोतः नेपाल धितोपत्र बोर्ड 

सम्बन्धित सामग्री

फागुनमा १७ करोड ४७ हजारभन्दा बढी कित्ता धितोपत्र सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा फागुनमा १७ करोड ४७ लाख ३५ हजार ७५१ दशमलव ५४ कित्ता धितोपत्र सूचीकृत भएको छ । नेप्सेका अनुसार एक कम्पनीको ऋणपत्र, दुई कम्पनीको हकप्रद शेयर र २० कम्पनीको बोनस शेयर गरी उक्त कित्ता धितोपत्र सूचीकृत भएको हो । यो महीना सबैभन्दा बढी बोनस शेयर सूचीकृत भएको छ । नबिल बैंकको ९ प्रतिशत ब्याजदरको सात वर्षे अवधिको ३० लाख कित्ता ऋणपत्र फागुनमा सूचीकृत भएको छ । त्यस्तै यो महिना अपर तामाकोशीको १० करोड ५९ लाख कित्ता र घलेम्दी हाइड्रोको १ करोड १० लाख कित्ता हकप्रद शेयरसमेत फागुनमै सूचीकृत भएको हो । नेप्सेको तथ्याङ्क अनुसार २० कम्पनीको बोनस शेयर वापत ५ करोड ४८ लाख ३५ हजार ७५१ दशमलव ५४ कित्ता शेयर सूचीकृत भएको छ । माघको तुलनामा फागुनमा सूचीकृत धितोपत्रको संख्यामा वृद्धि भएको छ । माघमा १० करोड १० लाख ८६ हजार ७१० कित्ता धितोपत्र सूचीकृत भएको थियो । नेप्सेका अनुसार माघमा एक म्युचुअल फण्डको इकाई र चार कम्पनीको बोनस शेयरबापत उक्त संख्यामा धितोपत्र सूचीकृत भएको थियो । फागुनमा सूचीकृत बोनस शेयर, ऋणपत्र र हकप्रद शेयरको कित्ता स्रोत : नेप्से ।

दुई महीना स्वीकृति प्रक्रिया रोकिँदा प्राथमिक निष्कासन शून्य

काठमाडौं। धितोपत्रको प्राथमिक बजार यतिबेला शून्य अवस्थामा छ । प्राथमिक बजार पुस १६ गतेपछि शून्य बनेको हो । निरन्तर सार्वजनिक निष्कासन भइरहने प्राथमिक बजारमा पछिल्लो समय नियामक निकायले स्वीकृति प्रक्रिया लामो समय रोक्दा शून्य बन्न पुगेको हो ।  पुस १६ गतेसम्म सार्वजनिक निष्कासनमा घलेम्दी हाइड्रोको २०० प्रतिशत हकप्रद शेयर थियो । घलेम्दी हाइड्रोले मङ्सिर १० गतेदेखि हकप्रद शेयर निष्कासन गरेको हो । नियामक निकायले सार्वजनिक निष्कासन प्रक्रियालाई निरन्तरता दिँदा दोस्रो बजारमा आपूर्ति बढ्न गई नकारात्मक असर परेको टिप्पणी लगानीकर्ताबाट भएसँगै २ महीना स्वीकृति प्रक्रिया रोकिएको हो । बोर्डका अध्यक्ष रमेशकुमार हमालले बोर्डको व्यवस्थापन टीम र आफ्नो जिम्मेवारीलाई कमजोर बनाउने टिप्पणी आउन थालेपछि कात्तिक १ गतेपछि सार्वजनिक निष्कासनको स्वीकृति प्रक्रिया रोकेका थिए । हमालले आफूलाई दिएको जिम्मेवारी सञ्चालक समितिको बैठकबाट पूरा गर्ने योजना अघि सारेका थिए । तर, बोर्ड सञ्चालक समिति बैठकले व्यवस्थापन टीमको सिफारिशमा बोर्ड अध्यक्षले नै स्वीकृति दिन मिल्ने पहिलाको व्यवस्थाबमोजिम नै काम गर्न निर्देशन दिएसँगै पुस १ गतेदेखि स्वीकृति प्रक्रिया अघि बढेको हो ।  पुस १ गतेपछि चार कम्पनीले धितोपत्र निष्कासनका लागि अनुमति पाए पनि सर्वोत्तम सिमेन्टबाहेक अन्यले निष्कासनको मिति तय गरेका छैनन् । सर्वोत्तम सिमेन्टले पुस २५ गतेदेखि उद्योग प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्कासन गर्दै छ ।  सर्वोत्तमले सर्वसाधारणलाई प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाको दरले शेयर बेच्न खोजेको छ । यस आधारमा अझै १ साता धितोपत्रको प्राथमिक बजार शून्य रहनेछ । बोर्डले पुस १ गते कुमारी क्यापिटल लिमिटेडलाई १ अर्ब रुपैयाँ बराबरको १० करोड एकाइ विक्री गर्न अनुमति दिएको छ । बन्दमुखी प्रकृतिको कुमारी सबल योजना सञ्चालनका लागि क्यापिटलले एकाइ विक्री मिति हालसम्म तय गरेको छैन । त्यसपछि पुस २ गते बोर्डले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र विक्री गर्न अनुमति दिएको छ । बैंकले १० वर्षे अवधिको १० प्रतिशत ब्याजदर रहेको एनआईएमबी डिबेन्चर २०९० निष्कासनका लागि अनुमति दिएको हो । यो ऋणपत्र निष्कासनको मिति पनि तय भएको छैन । बोर्डले पुस ११ गते सिंगटी हाइड्रो इनर्जीलाई शतप्रतिशत दरको १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्कासनका लागि अनुमति दिएको छ ।  प्राथमिक बजारमा सबैले शेयर नपाउने भएकाले दोस्रो बजार कारोबारमा आएपछि खरीद गर्ने पर्खाइमा धेरै लगानीकर्ता हुन्छन् । सिंगटी हाइड्रोले हकप्रद निष्कासनको मिति तय नगरे पनि पुस २२ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । प्राथमिक बजारमा सार्वजनिक निष्कासनमा आएका धितोपत्रमध्ये साधारण शेयरप्रति लगानीकर्ताको आकर्षण बढी देखिन्छ । पछिल्लो समय बाँडफाँट भएको हिमालयन रिइन्स्योरेन्सको प्रिमियम मूल्यमै सार्वजनिक निष्कासनमा आएको साधारण शेयर खरीदका लागि करीब १६ लाखको आवेदन  परेको थियो । ६० लाखभन्दा बढी लगानीकर्ताले धितोपत्र कारोबारका लागि अनिवार्य रहेको हितग्राही खाता खोलेका छन् । दोस्रो बजारमा कारोबारका लागि १८ लाखभन्दा बढी सहभागी भएका छन् । प्राथमिक बजार हुँदै धेरैजसो लगानीकर्ता दोस्रो बजारमा जोडिएकाले दोस्रो बजारको भविष्य प्राथमिक बजारसँग जोडिएको तर्क लगानीकर्ताको छ । अग्रज लगानीकर्ता डम्बरुवल्लभ घिमिरे प्राथमिक बजार शून्य हुँदा धितोपत्र बजार नै शून्य भएको बताउँछन् । आफ्नो परिवारका सबै सदस्यको नामबाट शेयर खरीदका लागि नियमित आवेदन दिँदै आएका घिमिरेले लामो समय प्राथमिक निष्कासन प्रक्रिया रोकिँदा दु:ख लागेको बताए । धितोपत्र बजार नियमित चल्ने भएकाले यसलाई आफ्नै गतिमा छोड्नुपर्ने घिमिरेको तर्क छ । शेयर निष्कासनको निरन्तरताले दोस्रो बजारमा नकारात्मक प्रभाव नपार्ने उनको भनाइ छ । प्राथमिक बजारमा सबैले शेयर नपाउने भएकाले दोस्रो बजार कारोबारमा आएपछि खरीद गर्ने पर्खाइमा धेरै लगानीकर्ता रहने भएकाले यसलाई सकारात्मक रूपमा लिन उनले आग्रह गरे । नियामक निकायले सार्वजनिक निष्कासन प्रक्रियालाई निरन्तरता दिई बजारमा माग बढाउने खालका नीतिमा जोड दिनुपर्ने घिमिरेको सुझाव छ ।

मङ्सिरमा धितोपत्र दोस्रो बजारमा थपियो १६ करोड ७८ लाखभन्दा बढी धितोपत्र

काठमाडौं । धितोपत्र दोस्रो बजारमा मङ्सिरमा मात्र १६ करोड ७८ लाख ६३ हजार ८६५ कित्ता धितोपत्र थप भएको छ । दुई कम्पनीको आईपीओ, दुई कम्पनीको एफपीओ, दुई कम्पनीको बोनस शेयर, दुई कम्पनीको हकप्रद शेयर, एक कम्पनीको ऋणपत्र र एक योजनाको इकाईसहित उल्लेखित कित्ता धितोपत्र दोस्रो बजारमा सूचीकृत भएको हो । माछापुच्छ्रे बैंकले गत मङ्सिर ५ गते १ करोड ३६ लाख ४२ हजार १७ कित्ता बोनस शेयर सूचीकृत गराएको छ भने नाडेप लघुवित्तले मङ्सिर १५ गते ८ लाख ९ हजार ६०० कित्ता बोनस शेयर सूचीकृत गराएको छ ।  मिर्मिरे र उन्नती सहकार्य लघुवित्तले पनि मङ्सिरमै एफपीओ सूचीकृत गराएका छन् । मिर्मिरे लघुवित्तले मङ्सिर ११ गते १ लाख २३ हजार ८१६ दशमलव ४५ कित्ता र उन्नती सहकार्यले मङ्सिर १८ गते १ लाख ७८ हजार ४५१ दशमलव १८ कित्ता एफपीओ सूचीकृत गराएको हो । हिमालयन ८०–२० को १० करोड इकाई मङ्सिर २२ गते सूचीकृत भएको छ । सिजर्नी पावरले मङ्सिर २४ गते र अरुण काबेली पावरले मङ्सिर २५ गते हकप्रद शेयर सूचीकृत गराएका छन् । सिनर्जी पावरको ४० लाख ३२ हजार ८७५ कित्ता र अरुण काबेली पावरकोे १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । आईपीओ भने मुक्तिनाथ कृषि कम्पनीले मङ्सिर २६ गते र त्रिशुली जलविद्युत कम्पनीले मङ्सिर ६ गते सूचीकृत गराएका हुन् । मुक्तिनाथ कृषि कम्पनीको ७० लाख कित्ता र त्रिशुली जलविद्युतको १ करोड ८५ लाख २५ हजार कित्ता आईपीओ सूचीकृत भएको हो । यीबाहेक कुमारी बैंकले १० वर्षे अवधिको ५० लाख कित्ता ऋणपत्र मङ्सिर २२ गते सूचीकृत भएको छ । कात्तिकमा ६ करोड ७० लाख ८७ हजार ९६ कित्ता धितोपत्र मात्र सूचीकृत भएको बजारमा मङ्सिरमा भने बढेको हो ।

दुई महीनापछि आईपीओ स्वीकृति प्रक्रिया अघि बढ्यो

काठमाडौं । नेपाल धितोपत्र बोर्डले २ महीनापछि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को स्वीकृति प्रक्रियालाई अघि बढाएको छ । प्राथमिक बजारमा निरन्तर धितोपत्रको सार्वजनिक निष्कासनले दोस्रो बजारमा असर परेको गुनासो आएसँगै गत कात्तिक १ गतेपछि बोर्डले स्वीकृति प्रक्रिया रोकेको थियो । स्वीकृति प्रक्रियामा बोर्डका अध्यक्ष रमेशकुमार हमाल र व्यवस्थापनको लापरबाही भएको गुनासो आउन थालेपछि अध्यक्ष हमालले नै व्यक्तिगत आक्षेप लाग्ने काम नगर्ने भन्दै सञ्चालक समितिबाट निर्णय गराएर मात्र अनुमति दिने प्रस्ताव पेश गरेका थिए ।  बोर्ड सञ्चालक समिति बैठकले बोर्डको अध्यक्षलाई नै अधिकार दिने र व्यवस्थापनको सिफारिशमा स्वीकृति प्रक्रिया अघि बढाउने निर्णय गरेको एक सञ्चालकले जानकारी दिएका छन् । बोर्डमा सार्वजनिक निष्कासनको स्वीकृति प्रक्रियाका लागि विभाग गठन गरेर स्वच्छ र पारदर्शी रुपमा काम भइरहेको नियमन विभागले दाबी गरेको छ ।  सञ्चालक समितिले बाटो खुला गरेपछि यतिबेला बोर्डले प्रक्रिया पूरा गरेका कम्पनीलाई सार्वजनिक निष्कासनका लागि अनुमति दिने प्रक्रिया अघि बढाएको छ । बोर्डले स्वीकृति प्रक्रिया रोकेको ठीक २ महीनामा पुस १ गते कुमारी क्यापिटल लिमिटेडलाई १ अर्ब रुपैयाँ बराबरको १० करोड एकाइ विक्री गर्न अनुमति दिएको छ । बन्दमुखी प्रकृतिको कुमारी सबल योजना सञ्चालनका लागि बोर्डले क्यापिटललाई अनुमति दिएको हो ।  त्यसपछि पुस २ गते बोर्डले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई ४ अर्ब ४ करोड रुपैयाँ बराबरको ४० लाख ४० हजार कित्ता ऋणपत्र विक्री गर्न अनुमति दिएको छ । बैंकले १० वर्षे अवधिको १० प्रतिशत ब्याजदर रहेको एनआइएमबी डिबेन्चर २०९० निष्कासनका लागि अनुमति दिएको हो । त्यस्तै पुस ३ गते सर्वोत्तम सिमेन्टलाई दोस्रो चरणमा सर्वसाधारणका लागि ३६ लाख कित्ता शेयर बुक बिल्डिङ विधिबाट निष्कासन गर्न बोर्डले अनुमति दिएको छ । सर्वसाधारणमा प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाको दरले शेयर बेच्न सर्वोत्तमलाई बोर्डले अनुमति दिएको हो । बोर्डले सार्वजनिक निष्कासनमा विविधता कायम गरेको देखिन्छ । बोर्डले पुस ११ गते सिंगटी हाइड्रोपावरलाई शतप्रतिशत दरको १ करोड ४५ लाख कित्ता हकप्रद निष्कासन अनुमति दिएको छ । बोर्डले यसअघि कात्तिक १ गते हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई प्रिमियमसहित प्रतिकित्ता २०६ रुपैयाँमा शेयर निष्कासन गर्न अनुमति दिएको थियो । चालू वर्ष शुरू भएयता बोर्डले सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड, सर्वोत्तम सिमेन्ट र हिमालयन रिइन्स्योरेन्सलाई प्रिमियम मूल्यमा शेयर निष्कासन गर्न अनुमति दिएको हो । चालू आर्थिक वर्षको हालसम्म ६ कम्पनीले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्न अनुमति पाएकोमा प्रिमियम मूल्यमा शेयर विक्री गर्ने कम्पनीको संख्या तीन छ । लामो समयदेखि घटिरहेको शेयरबजारमा प्रिमियम मूल्यमा जारी भएको सोनापुर मिनरल्सको शेयर कारोबारमा आएको दिनदेखि नकारात्मक सर्किटसहित खरीद मूल्यभन्दा तल झरेको थियो ।  पछिल्लो समय प्रिमियम मूल्यमा जारी भएको शेयरको चर्चा संसद्को सार्वजनिक लेखा समितिमा समेत भएको छ । बिहीवार बीमा कम्पनीहरूलाई कानूनविपरीत प्रिमियम मूल्यमा शेयर निष्कासन गर्न दिएको उजुरी परेपछि लेखा समितिले सम्बद्ध निकायहरूसँग छलफल गरेको छ । समितिले प्रिमियम मूल्यमा शेयर जारी गर्न दिएको असर दोस्रो बजारमा परेको भन्दै अन्तरराष्ट्रिय अभ्यासको रूपमा रहेको बुक बिल्डिङ विधि अवलम्बन गर्न निर्देशन दिएको छ ।

लामो समयपछि सार्वजनिक निष्कासनमा हकप्रद शेयर

काठमाडौं । धितोपत्र बजारमा सार्वजनिक निष्कासनका क्रममा पछिल्लो समय आईपीओले निरन्तरता पाइरहे पनि अन्य धितोपत्रले भने निरन्तरता पाएको अवस्था थिएन । लगानीमा फरकपन चाहने लगानीकर्ताले लामो समयपछि हकप्रद शेयर खरीद गर्ने अवसर पाएका छन् । राधी विद्युत कम्पनीको गत असोजमा हकप्रद शेयर विक्री गरेको थियो । राधी विद्युतले १ बराबर १ दशमलव ४७ को अनुपातमा हकप्रद विक्रीको लामो समयपछि धितोपत्र बजारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर विक्री खुला गरेको हो । सार्वजनिक निष्कासनमा आएका आईपीओ, एफपीओ, ऋणपत्र, म्युचुअल फण्डका इकाई सर्वसाधारण लगानीकर्ता सबैले खरीद गर्न पाउँछन् भने हकप्रदको लागि भने कम्पनीले तय गरेको बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरूले मात्र आवेदन दिन सक्ने व्यवस्था छ । दोस्रो बजारमा सूचीकृत भइसकेको कम्पनीले प्रतिकित्ता रू. १०० मूल्यमै हकप्रद शेयर जारी गर्ने भएकाले पनि धेरैजसो लगानीकर्ताको आकर्षण हकप्रदमा देखिन्छ । बजारविज्ञ लगानीकर्ता भने हकप्रदले कम्पनीको शेयर कित्ता थप हुने हुँदा बजारमा विक्री चाप बढ्न गई मूल्यमा असर गर्ने तर्क गर्छन् ।  तर, धेरैजसो लगानीकर्ताले राम्रो वित्तीय अवस्था र दोस्रो बजारमा राम्रो मूल्य भएको कम्पनीको हकप्रद शेयर खरीद गर्दा घाटा नहुने प्रतिक्रिया दिने गरेका छन् । हाल सार्वजनिक निष्कासनमा हिमाल दोलखाको ७५ प्रतिशत हकप्रद शेयरसँगै लुम्बिनी विकास बैंकको ११ प्रतिशत ब्याजदरको ऋणपत्र, कुथेली बुखरी स्मल हाइड्रोपावरको पहिलो चरणको आईपीओ विक्रीमा छन् । आईपीओबाहेक अन्य धितोपत्र खरीदका लागि पछिल्लो समय लगानीकर्ताको आकर्षण घट्दै गएको देखिन्छ । तर, लामो समयपछि सार्वजनिक निष्कासनमा आएको हकप्रद शेयर खरिदका लागि पहिलो दिनमै ५ हजार २८५ जनाको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारीअनुसार सोमवार एकै दिन हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयर खरीदका लागि यी आवेदकहरूबाट ४ लाख ४० हजार ३११ कित्ता शेयर खरीद माग भएको हो । पहिलो दिनमै कम्पनीको करीब ४ प्रतिशत हकप्रद शेयर विक्री भएको हो । कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ६० करोडको आधारमा १ बराबर शून्य दशमलव ७५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । हकप्रद निष्कासन तथा बाँडफाँटपश्चात् कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ८० करोड पुग्नेछ । धितोपत्र दोस्रो बजारमा यस कम्पनीको शेयर मूल्य सोमवार प्रतिकित्ता रू. १६७ दशमलव ६० कायम भएको छ । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यमा हकप्रद शेयर विक्री खुला गरेको हो । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनका लागि वैशाख २७ गते बुक क्लोज गरेको थियो । यसको आधारमा वैशाख २६ गतेसम्म कायम शेयरधनीहरूले मात्र यो हकप्रद शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । यो हकप्रद शेयर असार १० गतेसम्म विक्रीमा रहने जानकारी कम्पनीले दिएको छ ।  कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीले हाल ४ दशमलव ५ मेगावाट क्षमताको माई खोला साना जलविद्युत आयोजना र ८ मेगावाट क्षमताको माई साना क्यासकेड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । माई खोला साना जलविद्युत आयोजनाले २०६७ माघ १ गतेदेखि र माई साना क्यास्केड जलविद्युत आयोजनाले २०७४ चैत २६ गतेदेखि व्यापारिक उत्पादन गरिरहेको छ । माई खोला साना जलविद्युत आयोजनको कुल लागत रू. ७२ करोड ५१ लाख ४९ हजार रहेको छ भने माई साना क्यास्केट जलविद्युत आयोजनाको कुल लागत रू. १ अर्ब ४२ करोड ४७ लाख ३ हजार रहेको छ ।

१ करोड ४१ लाख कित्ता ऋणपत्र निष्कासनको पर्खाइमा ५ ओटा कम्पनी

जेठ ९, काठमाडौं । धितोपत्र दोस्रो बजारमा पाँच ओटा कम्पनीहरुको १ करोड ४१ लाख कित्ता ऋणपत्र थपिने भएको छ । चार ओटा वाणिज्य बैंक र एउटा विकास बैंकले उक्त कित्ता ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका हुन् । नेपाल एसबिआई बैंक, प्राइम कमर्सियल बैंक, सिद्धार्थ बैंक, बैंक अफ काठमाण्डू र कामना सेवा विकास बैंकले ऋणपत्र निष्कासनको लागि बोर्डमा निवेदन दिएका हुन् । ती मध्ये कामना सेवा विकास बैंकले २०७८ साल असार ४ गतेनै ऋणपत्र निष्कासनका लागि बोर्डमा निवेदन दिएको थियो ।   कामना सेवा विकास बैंकले रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासनको तयारी गरेको हो । कम्पनीको आवेदन स्वीकृति प्रक्रिया जवाफ र समिक्षा चरणमै रहेको छ । वार्षिक ९ प्रतिशत ब्याजदरको १० वर्षे अवधिको कामना सेवा विकास बैंकको ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।  यसैगरी २०७८ साल फागुन १६ गते नेपाल एसबिआई बैंकले ५ वर्षे अवधिको ९ दशमलव २५ प्रतिशत ब्याजदर उल्लेख ३० लाख कित्ता ऋणपत्र निष्कासनका लागि बोर्डमा निवेदन दिएको थियो । सानिमा क्यापिटल लिमिटेडले विक्रीको जिम्मा लिएको यो ऋणपत्रको निवेदन स्वीकृति प्रक्रिया प्राम्भिक समिक्षा अन्तर्गतनै रहेको छ ।  प्राइम कमर्सियल बैंकले १० दशमलव १५ प्रतिशत ब्याजदर रहेको ५ वर्षे अवधिको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको छ भने सिद्धार्थ बैंकले १० वर्षे अवधिको १० दशमलव ७५ प्रतिशत ब्याजदर रहेको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । त्यस्तै बैंक अफ काठमाण्डूले ७ वर्षे  अवधिको १० दशमलव ५ प्रतिशत ब्याजदरको ११ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।  प्राइम कमर्सियल बैंकले यस वर्षको वैशाख २२ गते, सिद्धार्थ बैंकले वैशाख २५ गते र वैक अफ काठमाण्डूले वैशाख २६ गते बोर्डमा निवेदन दिएको हो । प्राइमको ऋणपत्र विक्री प्रबन्धकमा सानिमा क्यापिटल, सिद्धार्थको कुमारी क्यापिटल र बैंक अफ काठमाण्डूको एनआईबिए एस क्यापिटल लिमिटेड रहेको छ ।  नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले आफ्नो चुक्तापूँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था लागू भएसँगै दोस्रो बजारमा ऋणपत्र सूचीकृत हुने क्रम निरन्तर चलिरहेको छ । धितोपत्र बजारमा सूचीकृत अन्य धितोपत्रहरु सरह ऋणपत्रको कारोबार भने नियमित भएको देखिदैंन । सरकारले गत वर्ष ऋणपत्रको बजार विस्तारलाई प्राथमिकताका साथ बजेटमा प्रस्तुत गरेको थियो । सरकारी ऋणपत्रहरुको पनि धितोपत्र दोस्रो बजारमा कारोबार हुन सक्ने वातावरण तयार गर्दै ऋणपत्रको बजार विस्तार गर्ने योजना सरकारको थियो ।  यो वर्ष बजार सञ्चालक र नियामक निकायमा केहि समय नेतृत्व विहिनको अवस्था आएकाले पनि यो विषय प्राथमिकतामा पर्न नसकेको जानकारहरु बताउँछन् । यस वर्षको बजेटमा पनि यो विषयलाई पुनः उठान गरी ऋणपत्रको बजार विस्तारमा सरकारले विशेष ध्यान दिनुपर्ने माग सरोकारवाला निकायहरुले गरेका छन् । प्राथमिक बजारमै प्रतिकित्ता रू. १ हजार मूल्य पर्ने ऋणपत्रको कारोबार दोस्रो बजारमा नियमित हुन सके यसले बजारलाई सकारात्मक प्रभाव पार्ने विश्वास लगानीकर्ताहरुको छ । निश्चित अवधिका लागि निश्चित ब्याजदरका आधारमा लगानी गर्ने ऋणपत्र धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिने गरी सूचीकृत हुने हुँदा यसप्रति लगानीकर्ताहरुको आकर्षण बढी देखिएको छ ।  पछिल्लो समय सार्वजनिक निष्कासनमा आएका ऋणपत्रहरुमा लगानीकर्ताहरुको आकर्षण अन्य धितोपत्रहरुको सरहनै रहेको लगानीकर्ताहरुको बुझाइ छ ।  तोकिएको अवधिभन्दा अगावै आफुलाई रकम आवश्यक परे दोस्रो बजारमा सहजै विक्री हुने गरी ऋणपत्रको खरीद माग सृजना हुने वातावरण बन्नुपर्ने माग लगानीकर्ताहरुले गरेका छन् ।

खप्तड लघुवितले इक्रा नेपालबाट पायो बीबी माइनस रेटिङ

वैशाख ९, काठमाडौं । इक्रा नेपाल लिमिटेडले खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडलाई (इक्राएनपी–आईआर) बीबी माइनस निष्कासनकर्ता रेटिङ प्रदान गरेको छ ।  इक्रा नेपालले उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र  भएको र यो कुनै खास ऋणपत्र विशेषको राय भने नरहेको बताएको छ। कम्पनीले सर्वसाधारणा शेयर(आईपीओ) निष्कासन गर्ने तयारी गरिरहेको छ । कम्पनीले यसअघि नै आईपीओ निष्कासन गर्न शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरिसकेको छ । कम्पनीले १ करोड ३२ लाख बराबरको १ लाख ३२ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । कम्पनीको केन्द्रीय कार्यालय गोदावरी- १, कैलालीमा रहेको छ ।