महामारीबीच चलायमान पर्वतारोहण अर्थतन्त्र

विश्वव्यापी महामारी कोभिड–१९ शुरू भएदेखि सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये पर्यटन हो । यसबाट नेपाली पर्यटन पनि अछुतो रहेन नै । पर्यटन ठप्प भएको झन्डै डेढ वर्ष पुग्न लागेको छ । यस बीचमा सरकारले हरेक महीना केही हजार पर्यटक आइरहेको तथ्याङ्क प्रकाशित गरेको पनि छ । नेपालमै परिवार भएका, यहीँ पुर्ख्यौली घर भएका (गैरआवसीय नेपाली), यहाँ अध्ययन वा व्यापार गर्ने विदेशीहरूको संख्या पनि रहेको हुँदा वास्तविक पर्यटकको आगमन नगण्य नै रहेको छ । पर्यटन गतिविधिले अधिकांश समय चलायमान रहने राजधानीको पर्यटकीय केन्द्र ठमेलको शून्यता लम्बिइरहेको परिदृश्यले पनि देशमा पर्यटन पुनः ब्यूँतिन लामै समय लाग्ने संकेत गरिरहेको छ । पहिलो चरणको महामारीको असर उल्लेख्य रूपमा घटेको र सरकारले पर्यटकीय गतिविधि खुला गरेको मौका पारी हिमाल आरोहणका लागि उत्साहजनक संख्यामा पर्वतारोही पर्यटकहरू आए । उत्साहजनक यस अर्थमा कि गत हप्ता (अप्रिल ३०) मात्र पर्यटन विभागले प्रकाशित गरेको तथ्याङ्कमा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि अहिलेसम्मकै सबैभन्दा बढी आरोहण अनुमतिपत्र जारी गरिएको देखिएको छ । सगरमाथामा मात्र विदेशी तथा स्वदेशी गरी ४०८ जना आरोहीहरूले आरोहण अनुमति लिएको देखिएको छ । २०१९ को वर्षभरिको भन्दा यो बढी हो । सन् २०१९ मा जम्मा ३९७ जना आरोहीले पर्यटन विभागबाट आरोहण अनुमति लिएका थिए । गतवर्ष २०२०मा भने सगरमाथामा कुनै आरोहण गतिविधि भएन । सगरमाथासँगै नेपालका ६५०० मीटर माथिका विभिन्न १६ हिमालमा नेपाललगायत विभिन्न मुलुकका ७४२ आरोहीहरू हिमालको चुलीमा सफलताको झण्डा फहराई साहासिक पर्यटकीय गतिविधिको मज्जा लिन मेहनतरत छन् । नेपाल पर्वतारोहण संघबाट अनुमति लिनु पर्ने ६५०० मीटर मुनिका केही हिमचुलीहरूमा थप आरोहीहरू पर्वतारोहणमा गएका छन् । पर्यटन निर्वाध सुचारु रहने समयमा पनि यस क्षेत्रले देशको समग्र अर्थतन्त्रमा कति योगदान दिइरहेको छ भन्ने यकिन तथ्याङ्क पाइएको छैन । पर्वतीय पर्यटनको ट्रेकिङ तथा हिमाल आरोहण क्षेत्रले केकति रोजगारी र आर्थिक योगदान राष्ट्रलाई दिएको छ भन्ने तथ्याङ्क पाउन थप मुश्किल छ । महामारीका बीच उत्साहजनक संख्यामा हिमाल आरोहणमा सहभागी भइरहेका पर्यटकहरूले कतिसम्म आर्थिक योगदान दिइरहेको छ भन्ने आकलन गर्ने प्रयास यस लेखमा गरिएको छ । नेपाल आउने पर्यटकमध्ये निकै थोरै मात्र पर्वतारोहण गतिविधिमा संलग्न हुन्छन् । सानै संख्यामा आए पनि त्यस्ता पर्यटकले सृजना गर्ने रोजगारीको अवसर र आर्थिक गतिविधि भने उल्लेख्य हुने गरेको छ । चालू वसन्त ऋतुका लागि अनुमति दिनेक्रम अन्तिम चरणमा पुग्दा पर्यटन विभागले ७४२ हिमाल आरोहीबाट झन्डै साढे ७१ करोड राजस्व संकलन गरिसकेको छ । विगतमा सरकारले आरोहीहरूबाट संकलन गर्ने राजस्वभन्दा यो रकम बढी हो । सरकारले प्रति विदेशी आरोही ११ हजार अमेरिकी डलर र नेपालीबाट ७५ हजार रुपैयाँ राजस्व लिने गरेको छ । प्रत्येक आरोहीले पर्वतारोहण सञ्चालक संघ, सगरमाथा प्रदूषण नियन्त्रण समिति, हिमालयन उद्धार संघजस्ता संस्थालाई विभिन्न शुल्क करीब १ हजार अमेरिकी डलर थप शुल्क तिर्नुपर्ने हुन्छ । सगरमाथा तथा ८ हजार मीटर माथिका हिमाल आरोहणको लागि आरोहण सञ्चालक कम्पनीहरूले असुल्ने आरोहण प्याकेज मूल्यको आधारमा औसत खर्च अनुमान गर्दा एक आरोही पर्यटकले औसत ४५ लाख रुपैयाँ खर्च गर्नुपर्ने देखिन्छ । ८ हजारमुनि र ६५०० मीटर माथिका हिमालहरूका लागि पनि उनीहरूले प्रतिआरोहण करीब १० लाख खर्च गर्नुपर्ने हुन्छ । महामारी बीच हिमाल आरोहणमा तल्लीन आरोही पर्यटकको कारण कम्तीमा पनि ४ अर्ब बराबरको आर्थिक कारोबार यस क्षेत्रमा भएको देखिन्छ । पर्वतारोहणमा आउने यी पर्यटकले सृजना गर्ने रोजगारीको अवसर उनीहरूको योगदानको अर्को पाटो हो । ८ हजार मीटर माथिका ठूला हिमालहरूमा जाने आरोहीले रोजगारी दिने उच्च हिमाली पथप्रदर्शकको औसत संख्या त्यस क्षेत्रमा संलग्नहरूको भनाइ अनुसार प्रतिआरोही १ दशमलव ५ को अनुपातमा हुन्छ । कसैले दुई भन्दाबढी पथप्रदर्शक प्रयोग गर्ने र कसैले आफै (अलपाइन) आरोहण गर्ने हुँदा त्यस्तो तथ्याङ्क आएको हो । अहिले सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा मात्र ४०० पर्यटक आरोहीका लागि ६०० बढी नेपाली आरोही पथप्रदर्शकहरू खटिइरहेका छन् । यही अनुपातमा आरोहण गतिविधि चलिरहेका अरू हिमालमा पनि थुप्रै पथप्रदर्शक जनशक्ति संलग्न रहेका छन् । एक आरोहण याममा उनीहरूको औसत रोजगार अवधि ६० दिन र औसत आम्दानी ६ लाख हाराहारी हुने गर्छ । हिमालका आधार शिविर तथा ठूला हिमालको माथिल्लो क्याम्पहरूमा समेत खाना बनाउने अन्य सहयोगी कामदार प्रयोग हुने गर्छ । आधार शिविरसम्म बन्दोबस्तीका सामान पु¥याउने तथा ल्याउने कार्यका लागि हवाई उडान एवं संयौंको संख्यामा भरिया तथा जोप्के (चौरी) आदिको पनि प्रयोग हुने गर्छ । त्यस्तै हिमाल आरोहणमा जाने पर्यटक आरोहण अगाडि आधार शिविरसम्म र पछि त्यहाँबाट नजिकको सडक वा हवाई अड्डासम्म ट्रेकिङ गर्दै आउने जाने गर्नाले बाटोमा पर्ने स्थानीय बस्तीहरूमा समेत आर्थिक लाभ पुग्ने गरी गतिविधिहरू भइरहेको हुन्छ । यसबाट हिमाल आरोहणमा आउने पर्यटकले आफ्नो संख्याको तुलनामा आर्थिक योगदान उच्च रहेको हुन्छ । यता महामारीको असरको दैनिक नयाँ नयाँ रेकर्डसहितको चिन्ताजनक समाचार आइरहँदा सगरमाथामा विश्व रेकर्डधारी आरोही कामी रिता शेर्पाले आफ्नै रेकर्ड थप बलियो बनाउँदै अन्य ११ आरोहीका सथा २५ औं पटक विश्वको शिर सगरमाथा गत शुक्रवार साँझ ६ बजे विजय गरेको रोमाञ्चक समाचार सुन्न पाएका छौं । उनको नेतृत्वमा रहेको नेपाली आरोहीहरूले बाटो खोलेसँगै अब केही हप्ता सगरमाथा आरोहणको खबरले नयाँ र उत्साहप्रद सन्देशहरू दिने छ । विषम समयमा समेत यसरी उत्साह भर्न सक्ने र गुणात्मक रूपमा बढी आर्थिक प्रतिफल दिन सक्ने देशको पर्यटनअन्तर्गत पर्वतारोहण क्षेत्रलाई थप सुरक्षित र व्यवस्थित बनाउन सम्बद्ध निकायले निरन्तर ध्यान दिनु पनि जरुरी रहेको छ । लेखक थ्री ज्यूयल्स एडभेन्चर्सका प्रबन्धक हुन् ।

सम्बन्धित सामग्री

विदेशी मुद्रा आर्जन ४६% ले घटेर १३ अर्ब ५० करोडमा सीमित

जेठ १५, काठडमौं । सन् २०२१ मा विदेशी पर्यटकबाट प्राप्त हुने विदेशी मुद्रा आर्जन घटेको छ । आर्थिक सर्वेक्षण २०७८÷८९ का अनुसार सन् २०२१ मा विदेशी मुद्रा आर्जन ४६ प्रतिशतले घटेर रू. १३ अर्ब ५० करोड ११ लाख रहेको छ ।  कोभिड– १९ महामारीका कारण विदेशी पर्यटक आगमन संख्या न्यून हुँदा विदेशी मुद्रा आर्जन घटेको हो । उक्त वर्ष प्रति पर्यटकको औसत बसाइँ १५ दशमलव ५ दिन र प्रतिदिन प्रति पर्यटक खर्च ४८ डलर रहेको छ ।  यस्तो खर्च सन् २०२१ को तुलनामा २६ दशमलव १ प्रतिशत न्यून हो । अघिल्लो वर्ष सन् २०२० पनि पर्यटन क्षेत्रबाट आर्जन हुने विदेशी मुद्रामा करीब ७० प्रतिशतले कमी आएको आर्थिक सर्वेक्षण २०७७/७८ मा उल्लेख छ । सन् २०२० मा कूल पर्यटक आगमन संख्या दुई लाख ३० हजारमा सीमित रहन पुग्यो । उक्त वर्ष पनि कोभिड–१९ महामारीबाट पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित बनेको थियो । सन् २०१९ मा विदेशी पर्यटक आगमन २ दशमलव १ प्रतिशतले बढेकामा सन् २०२० मा यस्तो आगमन ८० दशमलव ८ प्रतिशतले घटेको थियो । कोभिड–१९ महामारीका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किदै गरेको छ । सन् २०२२ को सुरुआती चरणदेखि विदेशी पर्यटक आगमन दर निरन्तर उकालो लागिरहेको छ । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार अप्रिल महीनामा मात्रै ५८ हजार ३४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् जुन अघिल्लो वर्षको सोही महीनाको तुलनामा १६० प्रतिशतले वृद्धि हो ।  सन् २०२१ मा एक लाख ५० हजार ६९२ र सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२१ मा नेपाल भित्रिएका पर्यटकमध्ये ६६ दशमलव ८ प्रतिशतले बिदा, मनोरञ्जन र यात्रा, १०।३ प्रतिशत पर्वतारोहण/साहसिक यात्रा/पदयात्रा, ७।४ प्रतिशतले तीर्थयात्रा र १५ दशमलव ५ प्रतिशतले अन्य उद्देश्यले नेपाल भ्रमण गरेका छन् ।  कुल पर्यटक आगमन संख्याको आधारमा सन् २०२१ मा सबैभन्दा बढी पर्यटक आउने ५ मुलुकमा क्रमशः भारत ४२ दशमलव ८३ प्रतिशत, संयुक्त राज्य अमेरिका १५ दशमलव १३, बेलायत ५ दशमलव ७४, चीन ४ दशमलव १० र बंगलादेश ३ दशमलव ३४ प्रतिशत छन् ।  नेपालको भ्रमण गर्नेमा भारतीय पर्यटकको संख्या सबैभन्दा बढी रहेको छ ।  झण्डै दुई वर्ष विदेशी पर्यटक आगमन खुम्चिँदा विदेशी मुद्रा आर्जन गर्ने मुख्य स्रोतको रुपमा रहेको पर्यटन क्षेत्र शिथिल बन्दा समग्र देशको अर्थतन्त्र र यसमा आवद्ध व्यवसायी र मजदूर मर्कामा परेका छन् । रासस

पर्यटनमा आशा

कोरोना महामारी र त्यसको नियन्त्रणका लागि लगाइएका बन्देजका कारण घटेको पर्यटक आगमन केही हप्तायता उत्साहजनक रूपमा बढ्न थालेको छ । अहिले दैनिक २ हजार पर्यटक नेपाल भित्रिइरहेको सरकारी अधिकारीहरूको भनाइ छ । यसमा भारतीय सीमाबाट गाडी लिएर वा अन्य माध्यमबाट प्रवेश गर्ने पर्यटकको यकिन संख्या छैन । कोरोनाबाट सबैभन्दा बढी प्रभावित क्षेत्र मानिएको पर्यटनमा अहिले आशाको सञ्चार भएको छ । विभिन्न देशबाट भैरहवा र पोखरामा सीधा वायुसेवा सञ्चालन हुने हो भने पर्यटक संख्या त्यस क्षेत्रमा निकै बढ्ने सम्भावना देखिन्छ । विदेशी विनिमय सञ्चितिमा आएको ह्रासका कारण अर्थतन्त्र संकटमा फस्ने त होइन भन्ने आशंका बढिरहेका बेला पर्यटक आगमनको संख्याले केही राहत दिएको छ । अहिले पर्यटकीय याम भएकाले पनि होटेलहरूको अकुपेन्सी बढेको व्यवसायीहरूको भनाइ छ । हिमाल आरोहणका लागि विभिन्न देशका ९१ पर्वतारोहण दलका ७४० जनाले स्वीकृति लिएका छन् । मुलुकका प्रमुख पर्यटकीय क्षेत्रहरूमा पर्यटकको संख्या उल्लेख्य मात्रामा देखिन थालेको छ । कोरोनाका कारण घुमफिर गर्न जान नपाएका पर्यटकहरू अहिले धमाधम पर्यटन प्याकेज लिइरहेका छन् । पर्यटनको यो विश्वबजारबाट नेपालले लाभ लिन विशेष कार्यक्रम ल्याउन आवश्यक देखिन्छ । नेपालले प्रचारका लागि विशेष अभियान चलाएका कारण पर्यटकको आगमन बढेको होइन । अहिले आएका पर्यटकमध्ये अमेरिकी र बेलायतीको संख्या उल्लेख्य देखिन्छ । यो गुणस्तरीय पर्यटनका लागि आशाको संकेत हो । तर, यी देशबाट बढीभन्दा बढी पर्यटक ल्याउन नेपालले प्रवर्द्धनात्मक कार्यक्रम गर्न पुगेको छैन । त्यस्तै, पर्यटनका विशेष प्याकेज पनि पर्याप्त छैनन् । अहिले देखिएको सकारात्मक वृद्धिलाई अझ बढी गति दिन पर्यटनसँग सम्बद्ध कार्यालयहरूमा व्यापक सुधार आवश्यक देखिन्छ । त्रिभुवन विमानस्थलमा ओर्लनेबित्तिकै पर्यटकहरूले जे अनुभव गर्छन् त्यो निकै महत्त्वपूर्ण हुन्छ । तर, अनलाइन तिर्न मिल्ने शुल्कका लागि नगद नै लिएर आइज भनेर अध्यागमन कार्यालयले यही ठाउँबाट नकारात्मक सन्देश दिएको छ । पर्यटक हैरानी बेहोर्न आएका होइनन्, सकारात्मक नयाँ अनुभव र अनुभूति सँगाल्न आएका हुन् । तर, उनीहरूले विमानस्थलबाट शुरू भएको हैरानी विभिन्न ठाउँमा झेल्नुपर्ने बाध्यता छ । त्यसैले नेपालले सेवाको गुणस्तर सुधार्नु जरुरी छ । नेपाल तुलनात्मक रूपमा सस्तो गन्तव्य भए पनि सीधा उडान नभएकाले पर्यटकले भाडाकै लागि ठूलो रकम खर्चिनुपर्ने बाध्यता छ । यो बाध्यताको अन्त्य गर्न प्रमुख पर्यटकीय बजारहरूमा नेपाली वायुसेवा पुर्‍याउन जरुरी छ जुन तत्कालका लागि भने कठिन देखिन्छ । विदेशी वायुसेवाहरूले सीधा उडान सेवा दिए भने पनि पर्यटक आगमन संख्या निकै बढ्छ । ट्रान्जिटमा नै लामो समय बिताउनुपर्ने अवस्था भएकाले इच्छा भएर पनि पर्यटकहरू नेपाल भ्रमणमा आउन सकिरहेका छैनन् । विभिन्न देशबाट भैरहवा र पोखरामा सीधा वायुसेवा सञ्चालन हुने हो भने पर्यटक संख्या त्यस क्षेत्रमा निकै बढ्ने सम्भावना देखिन्छ । नेपालले पर्यटकीय प्याकेजहरूमा नवीनता ल्याउन सकेको छैन । त्यही कारण पनि पर्यटक बढ्न नसकेको देखिन्छ । र्‍याफ्टिङका लागि नेपाल आउने पर्यटक भारततिर आकर्षित हुनु यसको उदाहरण हो । पछिल्लो समय तारे होटेलहरूको संख्या बढेको छ । केही साहसिक खेलहरू पनि थपिएका छन् । तर, यस्तो खेलमा विदेशीभन्दा स्वदेशी पर्यटक नै आकर्षित भएको देखिन्छ । यसो हुनुमा विदेशमा प्रचारको कमी एउटा कारण हुन सक्छ । नेपालले पर्यटनको बजारीकरणमा सही नीति लिन नसकेको देखिन्छ । नेपालसँग दौत्य सम्बन्ध स्थापना भएका देशहरूको संख्या बढ्दो छ । तर, आर्थिक कूटनीति कमजोर भएका कारण यसबाट नेपालले खासै फाइदा लिन सकेको देखिँदैन । आर्थिक कूटनीतिबारे प्रशिक्षण दिने गरे पनि राजदूतहरूले नेपालको प्रचारका लागि पर्याप्त काम गर्न नसकेको देखिन्छ । बजेट पर्याप्त नहुँदा आर्थिक कूटनीतिका क्रियाकलाप प्रभावकारी बनाउन नसकिएको राजदूतहरूको गुनासो पनि पाइन्छ । यो साँचो हो भने उनीहरूलाई स्रोत उपलब्ध गराउन कन्जुस्याइँ गर्नु हुँदैन । नेपालले विशेष खालको पर्यटनमा जोड दिनु उपयुक्त हुन्छ । अपांगता भएका व्यक्तिहरूका लागि विशेष प्याकेज ल्याउने हो भने गुणस्तरीय पर्यटक ल्याउन सकिन्छ । यो एउटा उदाहरण हो । त्यस्तै मेडिकल पर्यटनलगायत नवीन खालका प्याकेजमा लगानी बढाउन आवश्यक छ । यसबाट गुणस्तरीय र विशेष पर्यटकलाई तान्न सकिन्छ र कुल गार्हस्थ्य उत्पादनमा यस क्षेत्रको योगदान बढाउन सकिन्छ ।

शेयरबजार बढ्ने सामान्य कारणहरू

नेपालमा निषेधाज्ञाको बीचमा पनि शेयरको दोस्रो बजार संकेत गर्ने नेप्से परिसूचक बढिरहेको छ । गतवर्ष लगभग १३०० को हाराहारीमा रहेको नेप्से यो वर्ष अति तीव्र गतिमा बढेको छ । नेप्से ३००० बाट पनि उकालो लागेको छ । कोरोनाले अर्थतन्त्र तलतिर गएको बेलामा बजार बढ्नुलाई आश्चर्यका रूपमा हेरिएको छ । अर्थतन्त्रमा सकारात्मक संकेत देशको अर्थतन्त्र राम्रोसँग बढेको छैन, राम्रो गति लिन पनि सकेको छैन, कोभिडको दोस्रो लहरले जनतालाई आक्रान्त पारेको छ तर देशको अर्थतन्त्रको एक इन्डिकेटरका रूपमा रहेको शेयरबजारमा दिनको १९ अर्ब माथिको कारोबार भइरहेको छ । शेयरबजार बढ्नुको सबैभन्दा महत्त्वपूर्ण र भरपर्दो आधार सम्बद्ध कम्पनीको त्रैमासिक वितरणयोग्य नाफा अत्यधिक बढ्नु, सेन्सेटिभ इन्डेक्सको पीई रेसियो सुधार हुनु, कम्पनी प्रतिशेयर आम्दानी बढ्नुलाई पनि मानिन्छ । देशको अर्थतन्त्र गतवर्ष माइनसमा गएको थियो । यो आवमा बढेर ४२ खर्ब पुग्ने सरकारी अनुमान भए पनि आर्थिक सूचकहरू त्यो गतिमा सकारात्मक छैनन् । वैशाख १६ पछि त बन्दाबन्दीले काम गर्ने कमाउने हातहरू कोठाभित्र लगभग भोकै सुत्नुपर्ने अवस्थामा छ । यो बेलामा अहिले अर्थतन्त्र राम्रो छ, त्यसैले बजारमा उछाल आयो भनी विश्लेषण गर्नु वान्छनीय हुँदैन र छैन पनि । पर्यटनतर्फ होटेल, हवाई यातायात, पर्वतारोहण, पदमार्ग सबै बन्द छ । यातायातका साधन थन्किएका छन् । १५ रुपैयाँको विकास गर्न ८५ रुपैयाँ तलब खाएर कर्मचारीतन्त्र र सुरक्षा निकाय कार्यरत छन् । यस्तो अवस्थामा शेयर वर्तमान अर्थतन्त्रको कारणले बढ्यो भन्ने आधार कतै देखिँदैन । आर्थिक भविष्यभित्रको सम्भावना शेयर बढ्ने अर्को आधार भनेको देशको आर्थिक भविष्य उज्ज्वल हुनु हो । राजनीति यस्तो बेथिति छ । यस्तो बेलामा लगभग ७० अर्ब खर्च लाग्ने अनावश्यक चुनावको बोझ बोकाउन लगाएको छ सरकारले । ऋण खोजेर चुनाव गर्ने देशमा सार्वजनिक क्षेत्रले के लगानी दिन सक्ला र निजीक्षेत्रले पनि कति लगानी गर्ला र भोलिका दिनमा देशको उज्ज्वल आर्थिक विरासत आउँछ भनेर लगानी गरिएको होला भन्ने अनुमान पनि बेकार छ । यो दृष्टिकोणअनुसार लगानीकर्ताहरू भोलिको दिनमा निर्यात र रोजगारी बढ्नेछ, बैंक वित्तीय संस्थाहरूले आधुनिक कार्यशक्ति जस्तै रोबोट आदिबाट आफ्ना कर्मचारीको संख्या व्यापक कटौती गरेर वितरणयोग्य नाफा बढाउनेछन् भन्ने आशामा शेयरमा लगानी बढाएका हुन्छन् । यो अवस्थामा अहिले सतही रूपमा देखिएको छैन । मुद्राको आपूर्ति शेयरबजार बढ्नका लागि अर्को महत्त्वपूर्ण आधारका रूपमा मुद्राको आपूर्ति बढी हुनुलाई मानिन्छ । अमेरिकाको शेयरबजारमा आएको उछाललाई स्वाभाविक मान्न सकिन्छ किनभने यो कोरोना संकटमा अमेरिकाले यति धेरै डलर छाप्यो र कोरोनाको भ्याक्सिन बनाउने कम्पनी र त्यसका वैज्ञानिकहरूलाई पनि जति चाहिन्छ पैसा दिएर काममा लगायो । जनतालाई पनि सक्दो मद्दत गर्‍यो जसले गर्दा बजारमा तरलता पर्याप्त भयो । त्यो पैसा शेयरबजारमा लगानी हुँदा त्यहाँको शेयर सूचक नेस्डेकमा सुधार आयो । त्यो अवस्था नेपालमा छैन । वस्तुबजारमा व्यापक मूल्यस्फीति भयो भनेर दोष लगाउने ठाउँ पनि छैन खानेतेल, गेडागुडीबाहेक अरूको मूल्य बढेर कमोडिटी बजार इन्प्mलेशनका कारण व्यापारी अचाक्ली धनी भए र त्यो रकम शेयरबजारमा अन्धाधुन्ध लगानी भयो भनी अनुमान गर्न पनि न्यायसंगत हुनेछैन । अर्को सम्पत्तिको मूल्य (एसेट प्राइस) घरजग्गाको कारोबार केही मात्रामा बढेको थियो । बन्दाबन्दीले त्यो ठप्प भएपछि त्यो मध्ये केही रकम शेयरमा आयो भनी अनुमान गर्न सकिन्छ । त्यो आधारले पनि ४ अर्ब कारोबार हुने बजारमा १६/१७ अर्ब आउने अवस्था रहँदैन । एनआरएनको लगानी गैरआवासीय नेपालीले नेपालको शेयरबजारमा लगानी गरे त्यस कारणले नेप्से बढ्यो भन्ने अनुमान पनि सत्य हुँदैन । नेपालका एनआरएन बस्ने प्रत्येक देशजस्तै बेलायत, अमेरिका, यूरोपेली संघका देश, अस्ट्रेलिया जापान, यी सबै देशमा शेयर बढेको छ भने उनीहरूले सोही देशमा लगानी गर्छन् । किन नेपालमा आएर लगानी गर्ने ? कम्पनीहरूको ज्यादै राम्रो वित्तीय अवस्था शेयरबजार बढ्नुको सबैभन्दा महत्त्वपूर्ण र भरपर्दो आधार सम्बद्ध कम्पनीको त्रैमासिक वितरणयोग्य नाफा अत्यधिक बढ्नु, सेन्सेटिभ इन्डेक्सको पीई रेसियो सुधार हुनु, कम्पनी प्रतिशेयर आम्दानी बढ्नुलाई पनि मानिन्छ । कोरोना कालमा यसरी कुनै कम्पनीले चामत्कारिक रूपमा वा वस्तुनिष्ठताको कसीमा अति राम्रो व्यापार गरेका छन् भन्ने त्रैमासिक प्रतिवेदन पनि प्रकाशित भएको छैन । यी अनेक तर्क वितर्क हुँदैहुँदै पनि बजार त बढेको छ । अनेक डाइग्नोसिस पछि पनि रोग पत्ता लागेन र बिरामीलाई सकस भइरह्यो भने पनि डाक्टरले आफूलाई केही नजान्ने बनाउन त चाहँदैन । त्यो बेलामा उसले रोगीलाई पेनकिलर दिन्छ । त्यसैगरी बजार बढ्नुमा यी कारण पनि हुन सक्छन् । लगानीको अन्य बाटो नहुनु एउटा सहज तर्क पनि छ भने कोरोनाको कारणले लगानीका अन्य अवसर गुमेकाले मनग्गे तलब पाउने कर्मचारी, शिक्षक, सेना प्रहरीको बचत अहिले शेयरमा आएको छ । त्यसैले बजार निरन्तर बढेको छ । लगानीका अन्य विकल्प शून्यताले गर्दा शेयरबजारमा लागनी बढ्यो भन्ने तर्क आफैमा कमजोर छैन । यो एउटा कारण हुन सक्छ । रूपन्देहीका एक मार्बल व्यापारीले मार्बल आयात गर्न जम्मा पारेको रू. २० लाख शेयरमा लगानी गरेको बताएका थिए । यो एउटा कारणले शेयर बढेको हुन सक्छ । लगानी राजनीतितिरबाट आएको हो कि, यो शंका किन गरिँदै छ भने । देशमा यदि राजनीतिमा गडबड हुन्छ भने अन्य सबै नीतिहरू खलबलिन्छन् । पछिल्ला दिनमा देशको राजनीति अन्योलमा चलेको छ । सम्भवतः राजनीतिक क्षेत्रका व्यक्तिहरू र उनीहरूका आसेपासेले शेयरबजारमा पो गरेका हुन सक्छन् । कुनै व्यक्ति व्यापारी अथवा कारोबारीको नामबाट कमिशन, भ्रष्टाचार, उपहार आदिका रूपमा आएको सबै रकम कुनै एक वा सो भन्दा बढी छिद्रबाट बजारमा छिराइएको हुन सक्छ । लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।