१५ प्रतिशत नाफा बढाएको नोबेल मेडिकल कलेजको रेटिङ किन घट्यो ?

काठमाडौं । रेटिङ कम्पनी इक्रा नेपालले नोबेल मेडिकल कलेज (Nobel Medical College Teaching Hospital) को रेटिङ (Rating) घटाएको छ । इक्राले कलेजको दीर्घकालीन कर्जाको रेटिङ एल ट्रिपल बि माइनसबाट एल डबल माइनस र अल्पकालीन कर्जाको ए थ्रीबाट ए फोर प्लस रेटिङ दिएको छ ।  कलेजले इक्राबाट दुई अर्ब ५३ करोड रुपैयाँको दीर्घकालीन कर्जा र १५ करोड ७० लाख रुपैयाँको अल्पकालीन कर्जा गरी कुल २ अर्ब ६८ करोड कर्जाको लागि रेटिङ गराएको थियो । कलेजले यसअघि ३ अर्ब ६ करोड रुपैयाँ कर्जाको रेटिङ गराएको थियो ।  कलेजले सहायक कम्पनी नोबेल क्यान्सर अस्पताल प्राइभेट लिमिटेडमा पनि लगानी गर्नुका साथै सहायक परियोजनाको निर्माण कर्जाको ब्याज तिर्न नियमित रकम तिर्दै आएकाले रेटिङ घटेको रिपोर्टमा उल्लेख गरिएको छ ।  वित्तीय वर्ष २०२१ मा २ अर्ब २८ करोड रुपैयाँ सञ्चालन नाफा (Profit) गरेको कलेजको वित्तीय वर्ष २०२२ मा १४ दशमलव ८७ प्रतिशतले बढेर २ अर्ब ६२ करोड रुपैयाँ कायम भएको छ ।