सुन विवाद गहिरिँदै

नेपाल राष्ट्र बैंकको नयाँ निर्देशन र सुनचाँदी व्यवसायी संघको आफैले मात्र मूल्य निर्धारण गर्न पाउनुपर्ने अडानका कारण सुन आपूर्ति विवाद गहिरिँदै गएको छ । राष्ट्र बैंकले आफ्नो व्यवसाय गर्ने अधिकारमा हस्तक्षेप गरेको भन्दै नेपाल सुनचाँदी व्यवसायी संघले विरोधस्वरूप कारोबार ठप्प पारेपछि सम्पूर्ण बजार प्रभावित भएको हो । संघको सिफारिसमा सुन आयात गर्ने व्यवस्था नेपाल राष्ट्र बैंकको शुक्रबारको निर्देशनले खारेज गरेको थियो । साथै, संघसित मात्रै रहेको सिफारिस गर्ने, मूल्य तोक्ने र खरिदका लागि सिफारिस गर्ने अधिकार सुनचाँदीको कारोबार गर्ने अन्य संघसंस्थाहरूलाई पनि दिने निर्णय गरेको छ । नयाँ व्यवस्थाले कुल १० किलो आयातको ५० प्रतिशत नेपाल सुनचाँदी व्यवसायी संघ र २५ प्रतिशत नेपाल रत्न तथा आभूषण संघ र नेपाल सुनचाँदी कला व्यवसायी संघको सिफारिसमा वितरण गर्ने व्यवस्था मिलाएको छ । यसरी सुनचाँदी व्यवसायी संघको अधिकार कटौती भएपछि राष्ट्र बैंकले आफ्नो कार्यक्षेत्रमा हस्तक्षेप गरेको आरोप संघको छ । राष्ट्र बैंकले मागअनुसार आपूर्ति गर्न पनि नदिने अनि हामीलाई मूल्य बढाए भनेर आरोप लगाउनु उचित नभएको द्वितीय उपाध्यक्ष मणिरत्न शाक्यले अभियानसँग बताए । वर्ष ५ अंक ५१, २०६७, भदौ ७–१३