सरकारसँग फूल व्यवसायीको गुनासो– भारतीय फूलमा भन्सार बढाउँदैन, स्वदेशीमै कर थोपर्छ

चितवन । भारतबाट आयात हुने फूलका कारण स्थानीय स्तरमा उत्पादित फूलले बजार पाउन मुस्किल हुने गरेको फूल किसानले गुनासो गरेका छन् । फ्लोरिकल्चर एशोसिएशन, चितवनको चौथो अधिवेशन तथा साधारण सभामा फूल व्यवसायीहरूले यस्तो गुनासो गरेका हुन् ।  एशोसिएशनका केन्द्रीय अध्यक्ष मिनबहादुर तामाङले सरकारको कमजोर नीतिका कारण नेपालका पुष्प व्यवसायीहरू मर्कामा परेको बताए । भारतबाट आयात हुने फूल नेपाली किसानका लागि चुनौती बनेको तामाङको भनाइ छ ।  सरकारले भारतबाट आउने फूलमा भन्सार महसुल वृद्धि गरेर यहाँको फूल प्रवद्र्धन गर्नुपर्नेमा उल्टै कर लगाएर थप समस्या बढाएको उनले बताए । ‘राज्यको नीति कमजोर भयो, भएको नीतिमा पनि कार्यान्वयन पक्ष त्यस्तै कमजोर छ । भारतबाट आउने फूलमा भन्सार शुल्क वृद्धि गर्नुपर्नेमा कर लगाउँदा नेपाली फूलको मूल्य पनि बढ्यो,’ उनले भने । भारतबाट सस्तोमा फूल नेपाल भित्रिँदा स्थानीय उत्पादनले बजार नपाएको उनले बताए । भारतबाट सस्तोमा फूल आयात हुने र लागत मूल्य नै बढी रहेकाले नेपाली फूलमा पनि कर लगाइँदा भारतीय फूलसँग प्रतिस्पर्धा गर्नै समस्या हुने गरेको उनले बताए ।  यस बिषयमा कृषि मन्त्रालयमा छलफल चलिरहे पनि तत्काल कर हट्ने अवस्था नरहेको उनले गुनासो पोखे । देश संघीयतामा गएपछि समग्र कृषि क्षेत्र झनै ध्वस्त भएको उनको आरोप छ ।  यस्तै प्लास्टिकजन्य फूलको आयात, भण्डारण र विक्री वितरणमा सरकारले रोक लगाए पनि कार्यान्वयन पक्ष निकै फितलो भएको उनको भनाइ छ । उनले मन्त्रीकै निर्देशनमा पुनः प्लास्टिकका फूल आयात गरिन लागिएको गोप्य सूचना आफूले पाएको भन्दै खबरदारी गरे । ‘सरकारले प्लास्टिकजन्य फूलको आयात, भण्डारण र विक्री वितरणमा रोक लगाउने निर्णय त गर्याे । तर, कार्यान्वयन नहुँदै तुहिने अवस्थामा छ,’ उनले भने ।  यस्तै भारतबाट बिना क्वारेन्टिन भित्रिने फूलले रोगको जोखिम बढ्ने भन्दै उनले चिन्ता व्यक्त गरे । उनले केन्द्र सरकारमा रहेको पुष्प विकास केन्द्र बागमती प्रदेश सरकारमा सार्दा समस्या निम्तिएको बताए ।  सरकारको यो निर्णयले अन्य प्रदेशका किसानलाई समस्या हुने गरेको उनको दाबी छ । उनका अनुसार देशभरका ४८ जिल्लाका किसानले फूल खेती गरिरहेका छन् ।  भरतपुर महानगरपालिकाका कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले फूल खेती विस्तारै व्यावसायिक हुँदै गएको बताए । उनले फूल खेती र नर्सरीमा भरतपुर अग्रणी स्थानमा रहेको भन्दै फूल भण्डारणका लागि गोदामको आवश्यकता रहेको औंल्याए ।        खैरहनी नगरपालिकाका कृषि बिकास अधिकृत गौरव न्यौपानेले नेपालमा फूलको प्रयोग बढे पनि भारतबाट आयात बढ्दा यहाँका उत्पादनले बजार नपाएको बताए । व्यवसायीहरूले पनि आयातित फूलमा बढी जोड दिनु दुःखद भएको उनको भनाइ थियो ।  चितवनको माग यहीको उत्पादनले धान्न सक्ने भन्दै स्थानीय उत्पादनमा जोड दिने उनले आग्रह गरे । नेपालमा ८० प्रतिशत फूल बागमती प्रदेशमा नै उत्पादन हुने गरेको अनुमानित तथ्यांक छ ।