निषेधाज्ञाका कारण मध्य भोटेकोशी जलविद्युतको आईपीओ निष्कासन स्थगित

वैशाख २३, काठमाडौं । मंगलवारदेखि स्थानियमा विक्री खुला भएको मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको आईपीओ निष्कासन स्थगित भएको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित स्थानिय र अन्य वासिन्दाका लागि कुल ६० लाख कित्ता आईपीओ विक्री खुला गरेको थियो । कम्पनी र विक्री प्रबन्धकले बिहीवार संयुक्त विज्ञप्ती जारी गर्दै परिस्थिति सहज नभएसम्मका लागि निष्कासन स्थगित गरेको जानकारी दिएको हो ।  यस कम्पनीको आईपीओमा स्थायिनले पनि अनलाईन आवेदन गर्न पाउने व्यवस्था गरिएको थियो । कोभिड-१९ को जोखिमलाई मध्यनजर गर्दै सिन्धुपाल्चोक जिल्लामा रहेका विभिन्न बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय र उपत्यकामा रहेका सात ओटा मर्चेण्ट बैंकरहरुको वेवसाइटमार्फत आवेदन गर्न सकिने व्यवस्था गरिएको थियो ।  कम्पनीले कुल कित्तामध्ये आयोजना क्षेत्रका सिन्धुपाल्चोक जिल्लाको स्थायिनका लागि १८ लाख कित्ता र सोही जिल्लाका अन्य वासिन्दाका लागि ४२ लाख कित्ता आईपीओ विक्री खुला गरेको हो । यो शेयर विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।  कम्पनीको आईपीओ विक्री खुला भएको दोस्रो दिन बुधवार साँझ ५ बजेसम्म आयोजना प्रभावित क्षेत्रका २७१ जना स्थानियबाट ७७ हजार ८९० कित्ता र ३ हजार ९८ अन्य वासिन्दाहरुबाट ५ लाख १० हजार ४७० कित्ताको लागि आवेदन परिसकेको थियो ।  सर्वसाधारणका लागि रू. १ अर्ब ५० करोड बराबरको आईपीओ विक्री गर्न वैशाख ५ गते नै बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा १० प्रतिशत दरको शेयर आयोजना प्रभावितमा विक्री गर्न लागेको हो । स्थानियपछि दोस्रो चरणमा १५ प्रतिशतका दरले रू. ९० करोड बराबरको ९० लाख कित्ता आम सर्वसाधारणमा विक्री गर्नेछ ।  यसअघि कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ विक्री गरिसकेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५० करोड रहेको छ । सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब पुग्नेछ ।