सेनाले ट्र्याक खुलाएर असारसम्म सिमकोटमा सडक पुर्‍याउने

११ कात्तिक, काठमाडौं । जिल्ला सदरमुकामसम्म सडक पुग्न बाँकी रहेको हुम्लाको सिमकोटमा चालु आर्थिक वर्षभित्र सडक पुर्‍याउने गरी निर्माण अघि बढाइने भएको छ । ट्र्याक खोल्न बाँकी रहेको असजिलो सडकखण्डमा सेनाले तिहारलगत्तै काम शुरु गर्ने भएको छ । राष्ट्रिय गौरवको सो राजमार्गमा १० किलोमिटर ट्र्याक खोल्न बाँकी रहेकोमा सात किलोमिटर कठिन भूगोलमा सरकारले सेनालाई जिम्मेवारी […]

सम्बन्धित सामग्री

उत्तरी गोरखा जोड्ने १८ किलोमिटर सडक सेनाले गर्‍यो हस्तान्तरण

२७ असार, गोरखा । बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक अन्तर्तगको १८ किलोमिटर खण्ड नेपाली सेनाले सडक विभागलाई हस्तान्तरण गरेको छ । सेनाले हावा डाँडादेखि दोभानसम्मको खण्ड ट्र्याक खोलेर विभागलाई हस्तान्तरण गरेको हो । सोमबार सडक निर्माण कार्यदलका प्रमुख मेजर विनोद भट्टले एक कार्यक्रमका बीच सडक विभाग अन्तर्गतको ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक आयोजनाका प्रमुख पशुपति ज्ञवालीलाई हस्तान्तरण […]

बेँसीसहर–चामे सडक कालोपत्र शुरू

लमजुङ । ट्र्याक खोलेको करिब ३ दशकपछि बेँसीसहर–चामे सडक कालोपत्र गरिँदै छ । स्थानीयवासीको श्रमदान र सरकारको सहयोगमा सडक कालोपत्र गर्न थालिएको हो ।      २०५१ सालमा यस खण्डअन्तर्गत बेँसीसहरबाट खुदीसम्म मोटरबाटोको ट्र्याक खोल्ने काम भएको थियो । बेँसीशहर–चामे सडकअन्तर्गत बेँसीसहरबाट खुदीसम्मको करिब सात दशमलव आठ किलोमिटर सडक कालोपत्र गर्न पहिलो चरणको काम भइरहेको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी पुरुषोत्तम अधिकारीले जानकारी दिए । ‘सडक चौडाइ गर्ने, पर्खाल निर्माण, कल्भर्ट हाल्नेलगायत काम भइरहेको छ,’ उनले भने । पाँच दशमलव पाँच मिटर सडक, एक दशमलव एक मिटरको नाली तथा एक मिटर चौडाइको पैदल बाटो निर्माण भइरहेको छ । सो काम सकिएपछि अस्फाल्ट प्रविधिको कालोपत्र गरिनेछ । पहिलो चरणको काम आगामी असारसम्ममा सकिनेछ । आशिष अनेस्ट जेभी चितवनले २०८० असार मसान्तसम्म कालोपत्र सक्ने गर्नेगरी गत असारमा सम्झौता गरेको हो । सो कार्यका लागि कुल ५२ करोड ९६ लाख रुपैयाँ खर्च हुने अधिकारीले जानकारी दिए । बर्खाका कारण असोजदेखि मात्र काम शुरू भएको आयोजनाले बताएको छ । बेँसीसहरदेखि खुदीसम्मको करिब साढे सात किलोमिटर सडक खण्डभित्र पर्ने बेँसीसहर नगरपालिका–६ स्थित ३०० मिटर लामो खरखरेभिरका लागि चाँडै बोलपत्र आह्वान गरिने भएको छ । खुदीबाट मनाङसम्म सडकको ट्र्याक नेपाली सेनाले २०६९ सालमा खोलेर डिभिजन सडक कार्यालय दमौलीलाई हस्तान्तरण गरेको हो । उक्त ६५ किलोमिटर लामो सडकले लमजुङ र मनाङलाई जोडेको छ । लमजुङतर्फ ३५ किलोमिटर तथा मनाङतर्फ ३० किलोमिटर सडक पर्छ । रासस

मनाङको तलेखु–भ्राताङ भीरमा ‘ब्लाष्टिङ’ गरेर ट्र्याक खोलिँदै

मनाङ । मनाङको तलेखु–भ्राताङ भीरमा नयाँ ट्र्याक निर्माण थालिएको छ । नेपाली सेनाको प्राविधिक टोलीले भीरमा बम ब्लाष्टिङ गरी ट्र्याक खुलाउन शुरू गरेको हो । सो सडकमार्ग २ महीनाभन्दा बढी अवरुद्ध हुँदै आएको छ । सेनाको सो टोलीले सडक अन्तर्गतको चट्टान काटेर ट्र्याक बनाउन शुरू गरेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । चट्टानी भीरमा सडक अवरुद्ध हुँदा माथिल्लो मनाङ र तल्लो मनाङ बीचको आवतजावत समेत रोकिएको छ । यसलाई सहज बनाउन नयाँ ट्र्याक खुलाउन लागिएको उनले बताए । सांसद पोल्देन छोपाङले भीरमा ड्रिलिङ कम्प्रेशर मेशिनद्वारा ड्रिलिङ गरी प्वाल बनाइ ब्लास्टिङ थालिएको र केही समयमै ट्र्याक खुल्ने जानकारी दिए ।      जिल्लाको ङिस्याङ गाउँपालिका–१ भ्राताङ भीरमा ब्लास्टिङ शुरुआत गरिएको छ । सडक डिभिजन कार्यालय लमजुङका इञ्जिनीयर सुमन अधिकारीले भने, ‘मनाङको सडकखण्ड अन्तर्गतको सबैभन्दा अप्ठ्यारो र अति जोखिमपूर्ण रहेको तलेखु–भ्राताङ भीरमा बाढीपहिराले पूर्णरूपमा सडकको निशान नै मेटाएको थियो । यसले गर्दा नयाँ ट्र्याक निर्माण गर्न थालिएको हो ।’ यस भीरमा सडकको ट्र्याक खुलाएपछि माथिल्लो र तल्लो मनाङ बीचमा आवतजावतमा सहज हुने उनले बताए । गत असार १ गते आएको बाढीपहिराले गर्दा उक्त भीरको सडक मार्गमा क्षति पुगेको थियो । ‘अन्य समयमा पनि जोखिम मानिएको यस खण्डमा बाढीपहिरोले जोखिम बढ्नुका साथै सडकको निशान हराएको छ । यस भीरमा नयाँ ट्र्याकका लागि बम प्रहार गरी सडक बनाउने कार्य भइरहेको छ । सेनाले उक्त भीरको चट्टान कोपेर र बम प्रहार गरेर बाटो निर्माणको काम सोमवारदेखि थालिएको हो,’ उनले भने । सडक निर्माणका लागि चट्टानमा प्वाल बनाई बम राखेर ब्लाष्टिङ भइरहेको ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले जानकारी दिए । उनका अनुसार एक्स्क्याभेटरको प्रयोगबाट सडक सञ्जाल जोड्ने काम भइरहेको छ । बेँशीशहर–चामे सडक अन्तर्गतको बेँसीशहरबाट माथि ३५ किमी सडक सञ्चालनमा आइसकेको छ ।       यस्तै चामेबाट माथिल्लो क्षेत्रमा सडक सञ्चालन भए पनि तलेखु–भ्राताङ भीरको सडक निर्माणका प्रक्रियामा छ । उक्त सडक क्षेत्रमा सडक मर्मतका लागि गृह मन्त्रालयमार्फत सेनाको हेलिकोप्टरबाट इन्धन ल्याइएको थियो । गत जेठ १४ मा चामेमा सडक विच्छेद भएको थियो । पुनः गत असार १ गते आएको बाढीपहिराले जिल्लाका धेरै स्थानमा पूर्णरूपमा क्षति पु¥याएको थियो । यसका लागि स्थालमार्गको असहजताले गर्दा निर्माण कार्यमा सकस भएको छ । सडक निर्माण तथा मर्मतका लागि आवश्यक पर्ने सामग्री र इन्धन ढुवानीको सहज पहुँच नहुँदा निर्माण ढिलाइ भएको सडक डिभिजन कार्यालयको भनाइ छ । बाढीपहिराको क्षति पुर्‍याएको सडकको अध्ययन अवलोकनपछि नयाँ सडक निर्माण गर्ने प्रस्ताव भए बमोजिम मर्मत थालिएको हो । बेँसीशहर–चामे सडक खण्ड १०७ किलोमिटर रहेको छ । सडक अन्तर्गत केही स्थानमा नयाँ ट्र्याक पनि खुलाउने प्रयासमा रहेको बताइएको छ । रासस

कालीगण्डकी कोरिडोर : मालढुंगा–बलेवा खण्ड मर्मत गरिँदै

बागलुङ । कालीगण्डकी कोरिडोरको मालढुंगा–बलेवा विमानस्थल १० किलोमिटर सडकखण्डको मर्मत शुरू गरिएको छ । नेपाली सेनाले ट्र्याक खोलेर कालीगण्डकी कोरिडोर आयोजनालाई हस्तान्तरण गरेपछि भत्किएका संरचना मर्मतको काम थालिएको हो । चैतको दोस्रो सातादेखि शुरू भएको काम धमाधम चलिरहेको छ । सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय बागलुङले कोरिडोर मर्मतको काम थालेको हो । मालढुंगादेखि बलेवा विमानस्थलसम्म पहिरोका कारण भत्किएका संरचना पुनर्निर्माण हुनेछन् । कोरिडोरमा खसेको पहिरो पन्छाउने काम शुरू गरिएको इन्जिनीयर सुरेन्द्र गौतमले बताए । दुई वर्षअघि नेपाली सेनाले ट्र्याक खोलेर सडक विभाग अन्तर्गत आयोजनालाई हस्तान्तरण गरेपछि भत्किएका संरचना पुनर्निर्माण हुन सकेका थिएनन् । १० किलोमिटर खण्डमा आएको पहिरो पन्छाउने, तारजाली लगाउने र भत्किएका ठाउँमा मेशिनरी पर्खाल बनाउँदा वर्षाको समयमा समेत सडक सञ्चालनमा सहज हुनेछ । ‘ट्र्याक खुला भएका सडक बाह्रै महीना चलून् भन्ने हो,’ इन्जिनीयर गौतमले भने, ‘अवरोध हटाउनकै लागि मर्मतको काम थालिएको हो ।’ विभागले ५ करोडको लागतमा दश किलोमिटर खण्ड मर्मतका लागि अख्तियारी पठाएको थियो । सोही अनुसार ठेक्का प्रक्रिया पूरा गरेर काम शुरू गरिएको गौतमले बताए । लामा÷आईएस÷एसी जेभीले कोरिडोर मर्मतको जिम्मेवारी लिएको छ । २ करोड ६५ लाखमा जिम्मेवारी पाएको कम्पनीले आगामी असार २५ गतेभित्र अनुमान अनुसारका संरचना बनाउनेछ । १३ हजार १३५ घनमिटर पहिरो पन्छाइने, ३७ घनमिटर तारजाली लगाउने र १ हजार ६२२ मिटर मेशिनरी वाल बनाउने अनुमान छ । योजनाअन्तर्गत आवश्यक ठाउँमा रिटेनिङ वाल, कंक्रिट वाल र सडकमा रहेका ढुंगामाटो पन्छाउने काम रहेको इन्जिनीयर गौतमले बताए । मर्मतको काम गरिरहेको कम्पनीले समयमै काम सकिने दाबी गरेको छ । राष्ट्रिय गौरवको आयोजना भए पनि ट्र्याक खुलेर हस्तान्तरण भएपछि मर्मत हुन सकेको थिएन । रासस