तीन वटै सुरक्षा निकायका प्रमुखहरुलाई गृहमन्त्रीको निर्देशन- ‘निर्वाचन सुरक्षा तयारीमा लाग्नु’

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सुरक्षा निकायका प्रमुखहरुलाई १७ र २७ बैशाखका लागि तय निर्वाचनको सुरक्षा तयारीमा लाग्न निर्देशन दिएका छन । सोमबार गृहमन्त्रालयमा भएको बैठकमा गृहमन्त्री थापाले निर्वाचन सुरक्षाकालागि आवश्यक तयारीसहित अघि बढ्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई निर्देशन दिएका हुन । बैठकमा सुरक्षा निकायका प्रमुखहरुले भने आआफ्ना तर्फबाट मौजुदा स्रोत साधन तथा निर्वाचन प्रयोजनमा आवश्यक पर्ने थप स्रोत साधन व्यवस्थापन सम्वन्धमा प्रारम्भिक खाका प्रस्तुत गरे । बैठकमा सहभागी अर्थमन्त्री विष्णु पौडेलले विगतका निर्वाचनमा भएका खर्च विश्लेषण गरी मितव्ययी रुपमा निर्वाचन केन्द्रीत वजेट प्रस्ताव गर्न सुरक्षा निकायका प्रमुखहरुलाई आग्रह गरे । सो क्रममा उनले निर्वाचन सम्पन्न गर्न आवश्यक पर्ने वजेटको अभाव हुन नदिने समेत बताए । कार्यक्रममा गृहसचिव महेश्वर न्यौपाने र तीन वटै सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए । बैठकपछि गृह प्रवक्ता चक्रबहादुर बुढाले प्रेस विज्ञप्ती जारी गर्दै निर्वाचनको पक्षमा माहोल बन्दै गइरहेको भन्दै सबै राजनीतिक दल र सरोकारवालालाई गतिविधि संचालन गर्दा शान्तिपूणर् ढंगले गर्न गराउन भनेका छन ।