२०२४ सम्ममा होटललाई प्लाष्टिकमुक्त गरिने

काठमाडौं (अस) । होटलका कोठाहरूमा एकपटक मात्र प्रयोगमा आउने प्लाष्टिक हटाउन होटल संघ नेपाल (हान)ले अभियान शुरू गरेको छ । होटललाई आगामी २ वर्षभित्र अर्थात् सन् २०२४ सम्ममा एकपटक प्रयोग हुने, तर अर्कोपटक प्रयोग नहुने प्लाष्टिक तथा अन्य प्रयोगका सामग्रीबाट मुक्त गर्ने अभियान हानले शुरू गरेको हो । बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै हानले होटलको कोठालाई प्लाष्टिकमुक्त बनाउने अभियान शुरू गरेको जानकारी दिएको छ । सो कार्यक्रममा हानकी अध्यक्ष सिर्जना राणाले संघका सदस्य होटलका कोठामा प्लास्टिकजन्य सामानको प्रयोग कम गर्ने र यसलाई क्रमश: प्रतिस्थापन गर्दै लैजाने लक्ष्यसहित अभियान शुरू गरिएको बताइन् । दीर्घकालमा सकेसम्म प्लास्टिकजन्य सामग्री प्रयोग नहोस् भन्ने उद्देश्यले अभियान घोषणा गरेको बताइन् । ‘यस कार्यले नेपाली होटल उद्योग र समग्र राष्ट्रको वातावरण संरक्षणमा योगदान पुग्नेछ,’ उनले भनिन्, ‘हामीले गर्ने हरेक क्रियाकलाप तथा व्यवहार वातावरणमैत्री हुनु जरूरी छ ।’ कोभिडपछिको पर्यटनलाई तीव्र गतिमा लयमा फर्काउने उद्देश्यले हानले होटलका कोठामा दैनिक प्रयोग हुने प्लास्टिकजन्य वस्तुलाई न्यूनीकरण गर्न अभियान शुरू गरेको उनले बताइन् । सो अवसरमा उनले भनिन्, ‘अहिले विभिन्न बुकिङमाध्यम, जस्तै– बुकिङ डटकमले प्रकाशित गरेको रिपोर्टमा ६८ प्रतिशत पाहुनाहरूले पर्यावरणमैत्री होटल रुचाउने गरेको देखिन्छ ।’ होटलको कोठामा अत्यधिक मात्रामा एकपटक मात्रै प्रयोगमा आउने सामग्रीलाई पुन: प्रयोगमा ल्याई दीर्घकालीन रूपमा उपयोग हुने सामग्री पनि हानले प्रस्तुत गरेको थियो । वातावारणमैत्री प्रविधि प्रयोग गरेर सुविधासम्पन्न होटलमार्फत वातावरण र दिगो विकासमा उल्लेख्य योगदान पुर्‍याउन सकिने बताइएको छ । हानका महासचिव साजन शाक्यले कोठामा प्रयोग हुने प्लाष्टिकका साथै बाथरूममा राखिने काइँयो, ब्रस, साबुनमा प्रयोग हुने प्लाष्टिक पनि प्रतिस्थापन गरिने बताए । यसको विकल्पमा बाँसका सामग्री, प्लाष्टिकका बोटलको पुन: प्रयोग, साबुनमा कागजको कभर राखिने उनले बताए । यो अभियानलाई हरित पर्यटनको प्रवर्द्धकको रूपमा नेपालमा दिगो पर्यटन र विश्वव्यापी रूपमा यसको प्रतिस्पर्धात्मक ब्रान्डिङमा योगदान पुर्‍याउने अपेक्षा हानको छ ।

सम्बन्धित सामग्री