साउदी अराम्को ८० अर्ब डलर सरकारी लगानी कोषमा हस्तान्तरण गर्ने तयारीमा

फागुन २, रियाद (साउदी अरब) । साउदी अरबको सरकारी तेल कम्पनी साउदी अराम्कोले चार प्रतिशत शेयर बराबरको ८० अर्ब अमेरिकी डलर सरकारी लगानी कोषमा हस्तान्तरण गर्ने घोषणा  गरेको  छ । साउदी अरबले यो कदम आफ्नो ऊर्जामा निर्भर अर्थव्यवस्थामा परिवर्तन ल्याउन उठाएको यहाँका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।सार्वजनिक क्षेत्रको उक्त कम्पनीको मूल्यांकन २ हजार अर्ब डलरमा केहि कम रहेको छ । यो कम्पनी साउदी सरकारको सम्पती कोष पनि हो । साउदी अरबका युवराज मोहम्मद बिन सलमानले कम्पनीको शेयर हस्तान्तरण गर्ने घोषणा गरेका हुन् । त्यहाँको सरकारले युवाहरुको लागि रोजगारी सृजना गर्ने तथा समय परिवर्तनसँगै तेलमा निर्भर  अर्थ व्यवथालाई कम गर्ने लक्ष्य बनाएको छ । विश्वमा आर्थिक गतिविधि विस्तारै खुल्न थालेकै अवस्थामा तेल र ग्यासको भाउ बढेपछि कम्पनीलाई निरन्तर लाभ भइरहेको छ । कम्पनीमा सरकारको सबैभन्दा बढी अर्थात् ९४ प्रतिशत हिस्सेदारी रहेको छ । सन् २०१९ मा कम्पनीले साउदी स्टक एक्सचेञ्जमा आईपीओ सूचीकृत गराएको थियो ।  कम्पनीसँग ठूलो मात्रामा तेल भण्डारण तथा प्रशोधन क्षमता रहेको छ । यो विश्वकै ठूलो कच्चा तेल निर्यात कम्पनी पनि हो । विश्वको सबैभन्दा नाफा कमाउने कम्पनीको रूपमा यो कम्पनी रहेको छ । अहिले कम्पनीको बजार पूँजीकरण १ दशमलव ९८७ खर्ब डलर छ । एजेन्सी