एक महीनाभित्र मिरगञ्ज पुल सञ्चालनमा ल्याउन निर्देशन

विराटनगर  । एक महीनाभित्र मिरगञ्जको पुल सञ्चालनमा ल्याउन भारतका मन्त्रीले निर्देशन दिएका छन् । मोरङ व्यापार संघले बथनाहा–जोगबनी सडक खण्डमा पर्ने परमान नदीमा निर्मित नयाँ पुलको शीघ्र सञ्चालनका लागि एक महीनादेखि उठाउँदै आएको मागप्रति भारतीय सडक, परिवहन तथा राजमार्ग मन्त्री नीतिन गड्करीले सकारात्मक प्रतिक्रिया दिएका हुन् । उनले आगामी एक महीनाभित्र सो पुल पूर्णरूपमा सञ्चालनमा ल्याउने गरी कार्य अघि बढाउन आफूले निर्देशन दिएको बताएका छन् । नेपालस्थित भारतीय राजदूतावासमार्फत भारतका केन्द्रीय मन्त्री गड्करीले उक्त जानकारी गराएका हुन् । भारतस्थित नेपाली राजदूतावासले समेत संघको माग भारतीय पक्षसमक्ष पेश गरेको थियो । भारतीय मन्त्रीको सकारात्मक प्रतिक्रियापछि मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले खुशी व्यक्त गरेका छन् । नेपाली उद्योगी–व्यवसायीले मोरङ–सुनसरी आर्थिक कोरिडोरको दु:ख भनी सम्बोधन गर्दै आएको जीर्ण अवस्थाको मीरगञ्ज पुलको विकल्पका लागि नेपाल र भारतका विभिन्न निकायको ध्यानाकर्षण गराउँदै आएको छ । विगतमा आएका बाढीका कारण मिरगञ्ज पुल क्षतिग्रस्त हुँदा विराटनगर भन्सार कार्यालय मार्फत मालवाहक सवारीसाधनको आवागमन अवरुद्ध हुँदै आएको छ । मिरगञ्ज पुल क्षतिग्रस्त भएपछि तत्कालीन रूपमा भीमनगर–भन्टाबारी नाकामार्फत रि–रूट र क्षतिग्रस्त पुलको जीर्णोद्धार लगायत कार्य गरी सवारीसाधन सञ्चालनमा ल्याइएको छ । संघले त्यसको स्थायी समाधानका लागि मिरगञ्ज पुलको समानान्तरमा ४ लेनको नयाँ पक्की पुल निर्माणका लागि भारत र नेपालका विभिन्न निकायमा पहल गर्दै आएको छ । परिणामस्वरूप २ वर्ष अवधिमै उक्त नयाँ चार लेनको पुलको निर्माण अन्तिम अवस्थामा आइपुगेको छ ।