उच्च अदालत पाटनका मुख्य न्यायाधीशसहित पाँच न्यायाधीशमा कोरोना संक्रमण
उच्च अदालत पाटनका मुख्य न्यायाधीशसहित पाँच न्यायाधीशमा कोरोना संक्रमण भएको छ। शुक्रबार उच्च अदालत पाटनले विज्ञप्ति जारी गर्दै पाँच न्यायाधीशमा कोरोना संक्रमण भएको भन्दै स्वास्थ्य लाभको कामना गरेको छ। ...
काठमाडौं । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्ररूपमा बढ्दै गएपछि विशेष अदालत, उच्च अदालत पाटन, जिल्ला अदालत काठमाडौंले अत्यावश्यक सेवा मात्र सञ्चालन गर्ने भएका छन् । विशेष अदातलका सूचना अधिकारी नारदप्रसाद भट्टराईले बुधवार जारी गरेको सूचनामा थुनुवा भएका मुद्दाको भर्चुअल माध्यमबाट सुनुवाइ गर्ने, आरोपपत्र, अभियोगपत्र दर्ता गर्ने, भर्चुअल माध्यमबाट अभियुक्तको थुनछेक र म्याद थप गर्ने उल्लेख छ ।
त्यस्तै, उच्च अदालत पाटनले पनि आफ्ना सेवा कटौती गरेको छ । उक्त अदालतका रजिस्ट्रार ठगिन्द्र कट्टेलले जारी गरेको विज्ञप्तिमा बन्दीप्रत्यक्षीकरणको निवेदनमा नियमति रूपमा सुनुवाइ गर्ने, मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी कामकारबाही अघि बढाउने उल्लेख छ । यस्तै, जिल्ला अदालत काठमाडौंले पनि अत्यावश्यक मुद्दामा मात्र सुनुवाइ गर्ने भएको छ ।
सर्वोच्च अदालतको मंगलवार बसेको पूर्ण बैठक (फुलकोर्ट)ले पनि अति जरुरी प्रकृतिका मुद्दा मात्र बुधवारदेखि लागू हुनेगरी सुनुवाइ गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार सर्वोच्च अदालतमा एक न्यायाधीशसहित ३४ जना र देशभर न्यायाधीश र कर्मचारी गरी १२५ भन्दा बढीलाई कोरोना संक्रमण भएको छ । रासस