केरामा पानामा रोगको संक्रमण

काठमाडौं । नेपालमा पहिलोपटक केरामा पानामा (ओइलाउने) रोगको टीआर ४ प्रजाति भेटिएको छ । फ्युजारिया अक्सिस्पोरियम क्युबेन्स ढुसीका कारण केरामा लाग्ने रोग नै पानामाको टीआर ४ प्रजाति हो । विश्वका अन्य मुलुकमा समेत व्यापक रूपमा फैलिइरहेको यो रोगको जटिलता गहिरो भएकाले समयमै रोकथाम गर्न नसके १५ अर्ब रुपैयाँ लगानी रहेको नेपालको केरा व्यवसाय धराशयी हुने जोखिम रहेको सरोकारवाला बताउँछन् । यो रोग माटोमा बस्ने ढुसी भएका कारण संक्रमित बिरुवा, माटो, पानी, कृषि औजारबाट समेत सर्न सक्छ । साथै केरा बोक्ने गाडीको टायर र जुत्ता चप्पलमा टाँसिएको माटोबाट समेत एक खेतबाट अर्को खेतमा सर्न सक्छ । एकपटक संक्रमण देखिएको माटोमा २० वर्षसम्म पनि रोगको प्रजाति सक्रिय रहन सक्ने हुँदा यसलाई समयमै रोकथाम गर्न नसके नेपाली केरा व्यवसाय धराशयी हुन सक्ने जोखिम रहेको कृषि वैज्ञानिक राम खड्काले बताए । नेपालका मोरङ, झापा, सप्तरी, चितवन, कैलाली, बर्दिया रूपन्देही र नवलपरासी जिल्लामा सबैभन्दा बढी केरा उत्पादन हुन्छ । अहिले नेपालका ५० हजारभन्दा बढी मानिस केरा व्यवसायमा संलग्न छन् । रोगको प्रजाति जटिल प्रकृतिको र एकपटक संक्रमण भएपछि वर्षौंसम्म असर गर्ने भएकाले ठूलो नोक्सान हुने खड्काले बताए । ‘त्यसकारण यसप्रति सबै सरोकारवाला समयमै सचेत हुन जरुरी छ,’ उनले आर्थिक अभियानसँग भने । अहिले टीआर ४ प्रजाति टीकापुर, कैलालीका नौ जना कृषकको केरा बगैंचामा देखिएको छ । राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र र सुदूरपश्चिम विश्वविद्यालयको कृषि संकायको टोलीले साउन १० गते प्रभावित क्षेत्रका करीब ८ हजार केराका बोट अवलोकन गर्दा त्यसमध्ये करीब ४० प्रतिशतमा रोगको लक्षण देखिएको बताइएको छ । पानामा रोगको यो प्रजाति पहिलोपटक अस्ट्रेलियामा सन् १९९७ मा देखिएको थियो । त्यसबेला रोगको फैलावट रोक्न अस्ट्रेलियाले खेतमा भएका सबै बिरुवा नष्ट गर्नुका साथै प्रभावित क्षेत्रमा १५ वर्षसम्म प्रवेश निषेध गरेको थियो । त्यसको १८ वर्षपछि अस्ट्रेलियाकै क्विन्सल्यान्डमा यो रोग दोस्रोपटक देखियो । छिमेकी मुलुक चीन तथा भारतको विहार र उत्तर प्रदेशमा समेत यो प्रजाति देखिइसकेको छ । के हो टीआर ४ प्रजाति ? वैज्ञानिकहरूका अनुसार केरामा यो प्रजातिको रोग लाग्नु भनेको खेती नै विनाश हुनु हो । हालसम्म उक्त रोगका कारण अस्ट्रेलियासहित अफ्रिकाका सबै केराखेती सखाप भएको वैज्ञानिक खड्का बताउँछन् । तत्कालीन केराका प्रजातिहरूले यो रोगसँग लड्न नसकेपछि वैज्ञानिकहरूले रोगलाई यथावत् छाडेर केराको नयाँ प्रजाति ‘जी–नाइन’ आविष्कार गरेर व्यावसायिक केराखेतीलाई पुनर्जीवन दिएका थिए । विश्वभर व्यावसायिक केराखेतीमा ‘जी–नाइन’ जातको प्रयोग थालिएपछि अन्य रैथाने केरा यही रोगका कारण मासिएको उनी बताउँछन् । पानामा रोगको अन्य प्रजाति नेपालमा १५ वर्षअघि भित्रिएको र त्यसले नेपालको रैथाने मालभोग जातको केरा नष्ट गरेको राष्ट्रिय कृषि अनुसन्धान परिषद् (नार्क) को भनाइ छ । यो रोग लागेमा केराको फेदैदेखि पात पहेंलो हुने र अन्त्यमा रुखै ढल्ने हुन्छ । यसको संक्रमणबाट बच्न रोग देखिएको स्थानलाई तत्कालै बन्द गर्नुपर्ने बताइएको छ ।