२ हजार विन्दु तल झर्‍यो नेप्से, कारोबार रकम पनि निरन्तर घट्दो

काठमाडौं । धितोपत्र दोस्रो बजारको सम्पूर्ण कारोबार मापक नेप्से परिसूचक २ हजार विन्दुभन्दा तल झरेको छ । यो साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १ हजार ९९० दशमलव ५९ विन्दुमा बन्द भएको हो । गत साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २ हजार १३ दशमलव ९३ विन्दुमा थियो । गत साताभन्दा यो साता नेप्से परिसूचक २३ दशमलव ३४ अंक घटेको हो ।  यो साता एक कारोबार दिन सार्वजनिक बिदा पर्दा चार कारोबार दिन मात्र बजार खुला भएको थियो । साताको पहिलो कारोबार दिन २० दशमलव ५४ अंकले घटेको बजार दोस्रो कारोबार दिन भने ५ दशमलव शून्य ९ अंकले बढेको थियो । त्यसपछि तेस्रो कारोबार दिन ५ दशमलव शून्य ५ अंकले घटेको बजार चौंथो दिन २ दशमलव ८२ अंकले घटेको हो ।  नेप्से परिसूचकसँगै यो साता ठूला कम्पनीहरूको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ३ दशमलव ८५ अंकले घटेको छ । गत साताको अन्तिम कारोबार दिन ३८५ दशमलव ५६ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साताको अन्तिम कारोबार दिन ३८१ दशमलव ७१ विन्दुमा झरेको हो । लाभांशको सिजन शुरू भइसकेको छ । केही म्युचुअल फण्डहरूले लाभांश वितरण गरिसक्दा वाणिज्य बैंकतर्फको एक कम्पनी माछापुच्छ्रे बैंकले समेत लाभांश घोषणा गरिसकेको छ । माछापुच्छ्रे बैंकले गत वर्षकै अनुपातमा कुल १४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कुल लाभांशमध्ये १३ दशमलव ७० प्रतिशत बोनस र शून्य दशमलव ७० प्रतिशत नगद लाभांश रहेको छ । लाभांश सिजन शुुरू भइसक्दा निकै कम मूल्य कायम भएका कम्पनीको शेयर खरीदप्रति अझै लगानीकर्ताको मन नलागेको अवस्था छ । यतिबेला हकप्रद शेयरहरू समेत निष्कासनमा रहेकाले कतिपय लगानीकर्ता हकप्रदका लागि दोस्रो बजारबाटै रकम जोहो गरिरहेकाले पनि बजार प्रभावित भएको हुनसक्ने अनुमान ब्रोकरहरूले लगाएका छन् । यतिबेला बैंक तथा वित्तीय संस्थामा पर्याप्त लगानीयोग्य रकम भए पनि चर्को ब्याजका कारण लगानीको माग नभएको लगानीकर्ताहरू बताउँछन् । तरलता बढी भएको अवस्थामा ब्याजदर घट्नुपर्ने लगानीकर्ताहरूको माग छ । यो साता एक दिन कम कारोबार भए पनि कारोबार रकम औसतमा घटेको छ । गत साता औसतमा १ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको ४७ लाख ९ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता १ अर्ब ६ करोड रुपैयाँभन्दा बढीको ३८ लाख ४३ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । गत साताको तुलनामा औसतमा कारोबार रकम ३८ करोड ८३ लाख रुपैयाँभन्दा बढीले घटेको हो । कारोबार कित्ता भने ८ लाख ६५ हजारभन्दा बढीले घटेको छ । यो साता चार कारोबार दिनमा ४ अर्ब २४ करोड ६५ लाख रुपैयाँभन्दा बढीको १ करोड ५३ लाख ७५ हजार कित्ता धितोपत्र कारोबार भएको हो । गत साता भने ७ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको २ करोड ३५ लाख ४८ हजार कित्ता धितोपत्र कारोबार भएको थियो । चार कारोबार दिनमा लगानीकर्ताको सम्पत्ति मूल्य ३४ अर्ब ९२ करोड रुपैयाँभन्दा बढीले घटेको छ । गत साताको अन्तिम कारोबार दिन ३० खर्ब १४ अर्ब ९० करोड रुपैयाँभन्दा बढी रहेको कुल बजार पू्ँजीकरण यो साताको अन्तिम कारोबार दिन २९ खर्ब ७९ अर्ब ९८ करोड रुपैयाँमा झरेको हो । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) । व्यापारिक समूहको परिसूचक १.१७ प्रतिशत बढ्यो यो साता घटेको बजारमा व्यापारिक, होटल तथा पर्यटन र म्युचुअल फण्ड समूहको परिसूचक भने बढेको छ । व्यापारिक समूहको १ दशमलव १७ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ४३ प्रतिशत र होटल तथा पर्यटन समूहको परिसूचक शून्य दशमलव शून्य ९ प्रतिशत बढेको हो ।  यो साता जलविद्युत समूहको परिसूचक भने सर्वाधिक २ दशमलव ६५ प्रतिशत घटेको छ । त्यस्तै उत्पादन तथा प्रशोधनको २ दशमलव शून्य ५ प्रतिशत, अन्यको १ दशमलव ९५ प्रतिशत, लघुवित्तको १ दशमलव ५५ प्रतिशत, वित्तको १ दशमलव ४६ प्रतिशत, जीवन बीमाको १ दशमलव २६ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव शून्य ५ प्रतिशत, विकास बैंकको शून्य दशमलव ५५ प्रतिशत, बैंकिङको शून्य दशमलव ५४ प्रतिशत र लगानीको शून्य दशमलव ४१ प्रतिशत परिसूचक घटेको छ । स्रोत : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ।

सम्बन्धित सामग्री

२९ खर्बभन्दा तल झर्‍यो कुल बजार पूँजीकरण, कारोबार रकम पनि घट्दो

काठमाडौं । धितोपत्र दोस्रो बजार गत साता पनि घटेको छ । केहि सातादेखि बजार निरन्तर घट्दो क्रममा रहेको छ । अघिल्लो साताको तुलनामा गत साता नेप्से परिसूचक ५८ दशमलव १४ अंकले घटेको हो । गत साता चार कारोबार दिनमा नेप्से परिसूचक एक कारोबार दिनमात्र बढेको छ । गत साता एक दिन सार्वजनिक विदा परेकाले चार कारोबार दिन मात्र बजार खुलेको हो । पहिलो कारोबार दिन २९ दशमलव ८१ अंकले घटेको नेप्से दोस्रो कारोबार दिन ७ दशमलव शून्य ४ अंक बढेको थियो । तेस्रो कारोबार दिन ६ दशमलव ४५ अंकले घटेको नेप्से चौथो कारोबार दिन २८ दशमलव ९२ अंकले घटेको हो । अघिल्लो साताको अन्तिम कारोबार दिन १ हजार ९० दशमलव ५९ विन्दुमा रहेको नेप्से परिसूचक गत साताको अन्तिम कारोबार दिन १ हजार ९३२ दशमलव ४५ विन्दुमा झरेको छ । यतिबेला लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको जानकारी ब्रोकरहरूले दिएका छन् । यतिबेला एक दर्जनभन्दा बढी नयाँ ब्रोकरहरू धितोपत्र बजारमा प्रवेश गरिसकेको अवस्था छ । नयाँ ब्रोकरले बजारको माहोल केहि तताईरहेको भएपनि आम लगानीकर्ता भने तरलता बढेसँगै ब्याजदर घट्ने आशामा रहेको देखिन्छ । तरलता बढ्दा ब्याजदर घट्नुपर्ने मान्यता लगानीकर्ता ताराप्रसाद फुल्लेलको छ । यतिबेला बजारमा तरलता प्रयाप्त हुँदा पनि कर्जा लिन सक्ने अवस्था चर्को व्याजदरले गर्दा नभएकाले बजारमा लगानी घट्दै गएको भनाई फुल्लेलको छ । अहिले बजार १ हजार ९०० विन्दु नजिक आईसकेको अवस्थामा ब्याजदर घटे लगानीकर्ता केहि उत्साहित बन्ने अपेक्षा उनले गरेका छन् । लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेसँगै बजार सुस्त बनेको हो । नेप्से परिसूचकसँगै गत साता ठुला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स १० दशमलव १३ अंक घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन ३८१ दशमलव ७१ विन्दुमा रहेको सेक्सेटिभ इन्डेक्स गत साताको अन्तिम कारोबार दिन ३७१ दशमलव ५८ विन्दुमा झरेको हो । कारोबार रकम गत साता चार कारोबार दिनमा ४ अर्ब २३ करोड रूपैयाँभन्दा बढी रहेको छ । अघिल्लो साता चार कारोबार दिनमा ४ अर्ब २४ करोड रूपैयाँभन्दा बढीको भएको थियो । अघिल्लो साताको तुलनामा गत साता कारोबार रकम १ करोड २९ लाख रूपैयाँभन्दा बढीले घटेको हो । कारोबार कित्ता भने अघिल्लो साता १ करोड ५३ लाखभन्दा बढी भएकोमा गत साता १ करोड ३७ लाखभन्दा बढी कित्ता भएको हो । अघिल्लो साताभन्दा गत साता १६ लाख ४० हजार ३५३ कित्ता कम धितोपत्र कारोबार भएको हो । औषतमा अघिल्लो साता १ अर्ब ६ करोड रूपैयाँभन्दा बढीको ३८ लाख ४३ हजार ९८८ कित्ता धितोपत्र कारोबार भएकोमा गत साता १ अर्ब ५ करोड रूपैयाँभन्दा बढीको ३४ लाख ३३ हजार ८९९ कित्ता धितोपत्र कारोबार भएको हो । अघिल्लो साताभन्दा गत साता औसतमा ३२ लाख रूपैयाँभन्दा बढीको ४ लाख १० हजार ८८ कित्ता कम धितोपत्र कारोबार भएको हो । घटेको बजारमा गत साता लगानीकर्ताको सम्पत्ति कुल बजार पूँजीकरण ८७ अर्ब ४ करोड रूपैयाँभन्दा बढीले घटेको छ । कुल बजार पूँजीकरण अघिल्लो साताको अन्तिम कारोबार दिन २९ खर्ब ७९ अर्ब ९८ करोड रूपैयाँभन्दा बढी रहेकोमा गत साताको अन्तिम कारोबार दिन २८ खर्ब ९२ अर्ब ९३ करोड रूपैयाँभन्दा बढी कायम भएको हो ।