जगदम्बा स्टिल्सको चार वर्षको आम्दानी झण्डै डेढ खर्ब, आईपीओ निष्कासनको लागि पायो ट्रिपल बी रेटिङ

काठमाडौं । शंकर ग्रुपको लगानी रहेको जगदम्बा स्टिल्स लिमिटेडले चार वर्षमा झण्डै डेढ खर्ब सञ्चालन आम्दानी गरेको छ । इन्फोमेरिक्स नेपालका अनुसार कम्पनीले चार वर्षको अवधिमा १ खर्ब  ४० अर्ब रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । रेटिङ कम्पनी इन्फमेरिक्स नेपालले कम्पनीलाई ट्रिपल बी इस्युअर रेटिङ दिएको छ । यो रेटिङ प्राप्त गर्ने निकायहरू समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन् । यस्ता निकायहरूमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ ।  कम्पनीले सन् २०२३ मा ४० अर्ब १७ करोड २० लाख रुपैयाँ (अपरिष्कृत) आम्दानी गरेको छ । सन् २०२३ को तुलनामा सन् २०२२ मा कम्पनीको आम्दानी १९ प्रतिशतले घटेको हो । सन् २०२२ मा कम्पनीले ४९ अर्ब ७३ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।  कम्पनीले ३५ अर्ब १४ करोड रुपैयाँ कर्जाको लागि रेटिङ गराएको छ । इन्फोमेरिक्सले कम्पनीको १२ अर्ब ५८ करोड रुपैयाँको दीर्घकालीन कर्जाको लागि ट्रिपल बी र २७ अर्ब ६ करोड रुपैयाँको अल्पकालीन कर्जाको लागि ए थ्री प्लस रेटिङ दिएको छ ।  सन् १९९३ मा स्थापित जगदम्बा स्टिल्सको उद्योग बारामा छ । उद्योगको स्टिलजन्य वस्तुको वार्षिक उत्पादन क्षमता २४ लाख ४४ हजार मेट्रिक टन छ । कम्पनीले कोल्ड रोल्ड प्रोडक्ट, रोलिङ मिल प्रोडक्ट, वायर प्रोडक्ट र मेल्टिङ प्रोडक्ट उत्पादन गर्दै आएको छ । कम्पनीको मुलुकभर नै एक हजारभन्दा बढी डिलर छन् । जगदम्बा ई, राइनो ५०० डी, जगदम्बा सुपर साइन, जगदम्बा पाइप, जगदम्बा वायर लगायतको ब्राण्डमा स्टिलजन्य उत्पादनहरूको विक्री वितरण गर्दै आएको छ ।  कम्पनीको अध्यक्षमा शाहिल अग्रवाल छन् । अग्रवाल शंकर ग्रुपका प्रबन्ध निर्देशक समेत हुन् । शंकर ग्रुपको स्टिल, सिमेन्ट, पोलिमर, व्यापार, बीमा लगायतको क्षेत्रमा लगानी छ ।