असारे विकासको असर

किसानलाई जसरी असार महिना धान रोपाइँ गर्न भ्याइनभ्याइ हुन्छ, यही महिनामा विकास निर्माणका काम सक्न त्यसभन्दा बढी हतार हुन्छ सरकारी निकायका लागि । एकातिर बर्खामा पानी परिरहेको हुन्छ भने अर्काेतिर त्यही बेला सडक कालोपत्रे गर्नेदेखि नाली निर्माण गर्नेसम्मका विकास निर्माणका काम सक्ने चटारो जहाँतहीं देखिन्छ । किसान असारको भल छोपी–छोपी ‘मानो रोपी मुरी फलाउने’ काममा व्यस्त हुन्छन् । ठीक यही बेला सरकारी कर्मचारी र ठेकेदारहरू हतार देखाउँछन्, दुनियाँका आँखामा छारो हाल्न । विकास निर्माणका लागि छुट्ट्याइएको बजेट फ्रिज हुनबाट जोगाउन कर्मचारी र ठेकेदारले विकास निर्माणका काममा यही बेला चासो देखाउने गरेका हुन् । यसरी यो बेला हतारमा गरिएका यस्ता काम दिगो त हुँदैनन् नै बजेट पनि सदुपयोग हुँदैन । त्यसैले त यसलाई अहिले ‘असारे विकास’ भन्न थालिएको छ । असारे विकास भन्नासाथ बजेट सक्ने झारा टार्ने काम हो भनेर सहजै बुझ्न सकिन्छ । र, यही असारे विकासले आर्थिक अनियमितता बढाएको छ । यसरी असार लागेपछि बजेट सक्नकै लागि विकास निर्माणका काममा चासो दिने यो प्रवृत्ति गलत छ जसलाई निरुत्साहित गर्नैपर्छ । यो रोगले कर्मचारीतन्त्र आक्रान्त भए पनि उपचार गर्ने निकायको सक्रियता देखिएको छैन ।

सम्बन्धित सामग्री

असारमा बजेट खर्चमा मनपरी : ४ दिनमै सकियो करीब १४ अर्ब

काठमाडौं । आर्थिक वर्षको अन्त्यमा ठूलो बजेट खर्च गर्ने विगतको परिपाटी यस वर्ष पनि दोहोरिएको छ । पछिल्लो ४ दिनमा मात्रै सरकारले करीब १४ अर्ब बजेट खर्च गरेको छ । गत शुक्रवारदेखि सोमवारसम्मको सरकारी खर्चको तथ्यांक अनुसार कुल १३ अर्ब ८७ करोड बजेट निकासा दिएको देखिन्छ । अघिल्ला आर्थिक वर्ष (आव)हरूमा जस्तै यस वर्ष पनि असारमा ठूलो बजेट खर्च हुन लागेको संकेत यसबाट देखिएको हो ।  सरकारी आम्दानी र खर्चको हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार असार लागेपछि यसपटक पनि निकासाका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयहरूमा चाप बढ्न थालिसकेको छ । यसले अबका दिनमा ठूलो बजेट खर्च हुने सम्भावना छ ।  सरकारले सोमवारसम्म पूँजीगत खर्च ४० प्रतिशत मात्रै गर्दा चालू खर्च ७४ प्रतिशतभन्दा बढी गरेको छ । पछिल्ला दिनमा चालू तथा पूँजीगत दुवै शीर्षकमा अघिल्ला महीनाहरूमा भन्दा बढी खर्च भइरहेको छ । खासगरी असारमा विकास खर्च हुने प्रवृत्ति रोक्न संविधानमै जेठ १५ गते बजेट ल्याउने बाध्यात्मक व्यवस्था गरिएको थियो । त्यसमाथि संसदीय समितिहरूले कुल बजेटको १० प्रतिशतभन्दा बढी खर्च गर्न नपाइने भनेर पटकपटक निर्देशनसमेत दिइसकेका छन् । तर, असारमा बजेटको अत्यधिक रकम खर्च गर्ने प्रवृत्ति रोकिएको छैन ।  विगतमा असार मसान्तमा बजेट सार्वजनिक हुँदा संसद्बाट पारित हुन असोजसम्म लाग्थ्यो भने विज्ञ छनोट, सार्वजनिक खरीद ऐनको प्रक्रिया सक्दा चैतसम्म ठेक्का लाग्ने र असारमा पूँजीगत बजेट खर्च हुने अवस्था थियो । सोही अवस्था रोक्न जेठ १५ मै बजेट ल्याउने बाध्यात्मक व्यवस्था संविधानमै गर्दा पनि खर्चमा सुधार आएको छैन ।  त्यसबाट पनि असारे विकास नरोकिएपछि संसद्का अर्थसमिति तथा लेखा समितिहरूले आवको अन्तिम महीनामा १० प्रतिशतभन्दा बढी बजेट खर्च नगर्न निर्देशन दिइसकेका छन् । तर, असारे विकास संविधानदेखि संसदीय समितिसम्मले रोक्न नसकेको पछिल्ला तथ्यहरूले देखाएका छन् । असारमा कुल बजेटको २० देखि २५ प्रतिशत रकम खर्च हुने गरेको छ । यस वर्ष पनि उही प्रवृत्ति दोहोरिँदा सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ ।  सांसद तथा अर्थविद् डा. स्वर्णिम वाग्ले चालू आवको हालसम्म ४५ प्रतिशत मात्रै पूँजीगत खर्च हुनु दु:खद् भएको बताउँछन् । अनिवार्य दायित्वका कारण ह्वारह्वार्ती चालू शीर्षकतर्फको खर्च बढेपछि विकास खर्च ७५–८० प्रतिशतसम्म पुर्‍याउने सरकारको शैलीदेखि नीतिसम्म बाधक रहेको उनको भनाइ छ । आगामी बजेटमा सरकारले सुधारको केही नीति लिए पनि ती नीतिले तात्विक फरक नपार्ने र ती नितान्तै कर्मकाण्डी तवरका रहेको उनको बुझाइ छ ।  पहिले किन भएन विकास बजेट खर्च ? अघिल्ला बजेटमा जस्तै यस वर्ष पनि अर्थमन्त्रालयले असोजसम्म ठेक्का प्रक्रिया सम्पन्न गर्नुपर्ने प्रावधान राखेको थियो । त्यसअनुसार हरेक मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा बुझाएको कार्ययोजना तथा मन्त्रालयहरूले बजेट सूचना प्रणाली (एलएमबीआईएस)मा अद्यावधिक गरेको विवरणमा पहिलो त्रैमाससम्म सबै ठेक्का प्रक्रिया सम्पन्न गर्ने उल्लेख गरेका थिए । तर, सरकारी निकायहरूले बोलपत्रका कागजात तयार गर्न समयमै तत्परता नदेखाउँदा बजेट खर्चमा त्यसको असर देखिएको भौतिक पूर्वाधार मन्त्रालयका एक उच्च अधिकारीले बताए ।  करीब ३ खर्ब बजेट घाटा जेठ ३२ गतेसम्म विनियोजित बजेटको ६५ दशमलव ५६ प्रतिशत मात्रै खर्च भएको तथ्यांक छ । उक्त अवधिमा सरकारको कुल आम्दानीले कर्मचारीलाई तलबभत्ता खुवाउने खर्च मात्रै जोहो भएको छ । विकास र ऋणको साँवाब्याज भुक्तानी गर्न ऋण नै खोज्नुपर्ने स्थिति छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आवको ११ महीनामा सरकारले ८ खर्ब ३६ अर्ब आम्दानी गर्दा कर्मचारीको तलबभत्ता लगायतमा खर्च हुने चालूतर्फ ८ खर्ब ७७ अर्ब रुपैयाँ खर्च गरेको छ । सरकारले कुल खर्च ११ खर्ब ७६ अर्ब गरेको हुँदा सरकारलाई करीब ३ खर्ब रुपैयाँ खुद घाटा देखिएको छ ।  अब असार मसान्तसम्म विनियोजित बजेटको करीब ६ खर्ब रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । आन्तरिक र बाह्य ऋणको साँवाब्याजको किस्ता, कर्मचारीको तलब भत्तालगायत निर्माण सम्पन्न भएका आयोजनाको बिल भुक्तानी गर्दा सो बराबरको रकम खर्च हुने सम्भावना छ । तर, भुक्तानी दिने स्रोत भने निश्चित नरहेको महालेखाका अधिकारीहरू बताउँछन् ।