८.५ % ब्याजदरको माछापुच्छ्रे बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

असार ३१, काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आज (बिहीवार) देखि ऋणपत्र निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरमा १० वर्षे अवधिको ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ निष्कासन तथा विक्री खुला गर्न लागेको हो ।  कम्पनीले प्रतिकित्ता रू. १ हजार अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये कम्पनीले रू. १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई विक्री गर्नेछ भने बाँकी रू. १ अर्ब ८० करोड बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्ने भएको हो । सर्वसाधारणका लागि निष्कासन गरिएकोमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्याएको छ । छिटोमा साउन ४ गते र ढिलोमा साउन १७ गतेसम्म विक्रीमा रहने विक्रीमा रहने यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्म आवेदन दिन सकिनेछ ।  इक्रा नेपालले यस बैंकलाई न्यून कर्जा जोखिम जनाउने ‘इक्राएनपी आईआर ए माइनस एटदरेट’ रेटिङ प्रदान गरेको छ । सो रेटिङ प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने र कर्जा जोखिम न्यून भएको मानिन्छ । यो ऋणपत्र विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ । उक्त ऋणपत्र विक्रीका लागि कम्पनीले असार १६ गते नेपाल धितोपत्र बोर्डको स्वीकृति पाएको थियो ।