नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको मुलुकमा चिन्ने गरिन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथादेखि ८ हजार मीटरभन्दा अग्ला १४ मध्ये ८ हिमालय नेपालमै छन् । धार्मिक, सांस्कृतिक विशेषता झल्कने थुप्रै मौलिक परम्परा छन् । तर, विश्व पर्यटन संगठन (यूएनडब्ल्यूटीओ) ले विश्वका उत्कृष्ट ५४ गाउँ घोषणा गर्दा नेपालको एउटै परेन । किन यसो भयो ? नेपालको पर्यटन क्षेत्रको विकास र विस्तार गर्ने भनेर नेपाल पर्यटन बोर्ड स्थापना गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय छ । त्यति मात्र नभई हरेक प्रदेशमा पनि पर्यटनको विकास र विस्तारमा काम गर्ने मन्त्रालय स्थापना गरिएका छन् । हरेक स्थानीय सरकारले पनि पर्यटन क्षेत्रको विकासमा काम गरिरहेको बताउने गर्छन् । यतिधेरै सरकारले काम गरेको पर्यटनको अवस्था पक्कै पनि राम्रो हुनुपर्छ । तर, विश्वका उत्कृष्ट गाउँको सूचीमा नेपालको एउटै पर्न नसकेपछि अनेक आशंका उब्जाएको छ । यदि उत्कृष्ट गाउँमा पर्न सकेको भए पर्यटन क्षेत्रको विकासमा योगदान पुग्न सक्थ्यो । यसो नहुनु भनेको सरकारले काम गरेन भन्ने हो, नेपालको पर्यटनमा मौलिकताको कमी छ र सृजनात्मकता कम छ भन्ने हो । पर्यटनको विकासका लागि जसरी आन्तरिक रूपमा काम गर्न आवश्यक छ, त्यसैगरी अन्तरराष्ट्रिय मञ्चको पनि प्रयोग गर्नुपर्छ । उत्कृष्ट गाउँका लागि नेपालले तयारी गरेको भए र त्यसअनुसार काम गरेको भए नेपालको कुनै न कुनै गाउँ उक्त सूचीमा पर्न सक्थ्योे । परेनन् भने पनि प्रतिस्पर्धामा आउँदासमेत पर्यटन क्षेत्रको प्रचारप्रसारमा योगदान पुग्थ्यो । अहिलेको जस्तो कार्यालय कुरेर वा अनावश्यक कुरा मात्र गरेर पर्यटनको विकास हुन नसक्ने भएकाले कार्यशैली सुधार गरी नतीजा निकाल्नतर्फ लाग्नुपर्छ । अक्टोबरमा १ लाख १७ हजार पर्यटन भित्रिए भनेर बस्ने छूट अब हुनु हुँदैन । के नेपालको सम्भावना त्यति संख्यामा मात्रै पर्यटक भित्त्याउने हो त ? नेपालभन्दा कमजोर देशमा यो भन्दा ठूलो संख्यामा पर्यटक भित्रिरहेका छन् । तर नेपालमा किन यस्तो भइरहेको छ ? यतातर्फ ध्यान दिएर कमजोरी सुधार गर्न आवश्यक छ ।
उत्कृष्ट पर्यटन गाउँ चयन गरेर विशिष्ट र यथार्थपरक पर्यटन प्रवर्द्धन गराउने उद्देश्य रहेको छ । यसमा नेपाल नपर्नु भनेको ठूलो अवसर गुमाउनु हो ।
नेपाल गाउँले भरिएको देश हो । मौलिक संस्कृति र रहनसहन पनि छ । मुस्ताङको गाउँ उत्कृष्ट पर्यटकीय गन्तव्यमा परे पनि यूएनडब्ल्यूटीओको सूचीमा भने पर्न सकेन । ग्रामीण पर्यटनका लागि नेपालका गाउँहरू थुप्रै छन् । ग्रामीण पर्यटन बढाउनकै लागि भिलेज टुरिजम प्रमोशन फोरम नेपाल (भीटोफ) को स्थापना गरिएको छ । यसले उत्कृष्ट ग्रामीण पर्यटन क्षेत्र भनेर गाउँहरू छान्ने गरेको पनि छ । तर, सम्भावना भएर पनि नेपाल उत्कृष्ट ग्रामीण पर्यटनमा छानिएन । खासमा यूएनडब्ल्यूटीओेले छान्न यस्तो ग्रामीण पर्यटनमा सूचीमा पर्न दरखास्त दिनुपर्ने हुन्छ । यसरी उत्कृष्ट गाउँ छान्न थालेको ३ वर्ष भयो । यस वर्ष २६० ओटा आवेदन परेका थिए जसमध्ये ५४ ओटा गाउँ छानिए । त्यस्तै २० वर्ष गाउँ स्तरीकरणका लागि छानिएका छन् । ७४ ओटा गाउँ यूएनडब्ल्यूटीओ बेस्ट टुरिजम भिलेज नेटवर्कमा परेका छन् । उत्कृष्ट गाउँमा पर्ने आधार नौओटा छन् । सांस्कृतिक र प्राकृतिक स्रोत, संस्कृतिको प्रवर्द्धन र संरक्षण, आर्थिक दिगोपन, सामाजिक दिगोपन, वातावरणीय दिगोपन, पर्यटन विकास र मूल्य शृंखलामा समायोजन, पर्यटनमा प्राथमिकीकरण र सुशासन, पूर्वाधार र कनेक्टिभिटी, स्वास्थ्य र सुरक्षाजस्ता पक्षको मूल्यांकन गरी उत्कृष्ट पर्यटन गाउँ चयन गरिन्छ । तर, यसमा नेपालले भाग लिएको समेत जानकारीमा आएको छैन । भीटोफ नेपालले यसमा ध्यान नदिएको हो कि आवेदन दिएर पनि जानकारी नदिएको
हो ? स्पष्ट छैन । यसरी उत्कृष्ट पर्यटन गाउँ चयन गरेर विशिष्ट र यथार्थपरक पर्यटन प्रवर्द्धन गराउने उद्देश्य रहेको छ । यसमा नेपाल नपर्नु भनेको ठूलो अवसर गुमाउनु हो । वार्षिक यति लाख पर्यटक भित्त्याउने, भ्रमण वर्ष वा दशक मनाउने जस्ता कुरामा हल्लाखल्ला भए पनि पर्यटनमा मौलिकता दिन र त्यसका लागि दाबी गर्न पाउने अवसर गुमिरहेको छ । यसले नेपालको पर्यटन अद्वितीय छ भन्ने विषयलाई ओझेलमा पारेको छ । निकट छिमेकी चीनका तीन गाउँ र भारतको एक गाउँ यो सूचीमा छनोट हुँदा नेपालको उपस्थितिसमेत नहुनु भनेको लाजको विषय हो । पर्यटनमा नेपाल कति योजनारहित ढंगले अघि बढेको रहेछ भन्ने कुराको उदाहरण पनि हो ।