चितवनका उद्योगी व्यवसायीलाई कोरोनाको त्रासभन्दा बढी लकडाउनको  चिन्ता

वैशाख ९, चितवन । कोरोनाको दोस्रो लहर गुणात्मक रुपमा फैलिन थालेपछि चितवनका उद्योगी व्यवसायीहरु चिन्तित हुन थालेका छन् । चितवनमा पनि विद्यालयमा कोरोना संक्रमित भेटिएपछि यहाँका विद्यालय तथा कलेज पनि भौतिक रुपमा बन्द गरिएको छ । यस्तै होटल रेष्टुरा पनि राती अबेरसम्म खोल्न स्थानीय प्रशासनले निषेध  गरेको छ । पार्टी प्यालेस, सभा तथा अन्य जमघट हुने स्थानमा समेत स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर २५ जनाभन्दा बढी भेला हुन नपाईने आदेश र अनुरोध गरिसकेको छ  ।  जसका कारण दिनप्रतिदिन मानिसको चहलपहल तथा गतिविधि पातलिंदै गएको छ । गतबर्षबाट थलिएको उद्योग व्यवसाय लयमा फर्कनै लाग्दा उद्योगी व्यवसायीलाई कोरोनाको त्रास भन्दा लकडाउन हुन्छ कि भन्ने चिन्ता थपिएको छ । यसका लागि उद्योगी व्यवसायीका छाता संस्थाहरुले उद्योगी व्यवसायी तथा स्थानीय प्रशासनसँग छलफल गर्ने तयारीसमेत गरेका छन् ।  उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठ कोरोनाको त्रास फैलिएसँगै उद्योगी व्यवसायीसँग छलफल गरिएको बताउँछन् । ‘हामीले वस्तुगत सँघका व्यवसायीहरुसंँग एक किसिमको छलफल गरिसकेका छौं ’, उनले भने, ‘अब प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्दैछौं ।’  लकडाउन गरेमा चितवनमा पछिल्लो समय खुलेका ठूला होटल, रेष्टुरेण्टहरुलाई सबैभन्दा बढी क्षति पुग्ने श्रेष्ठले बताए । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर उद्योग व्यवसाय चलाउन र लकडाउन हुने मनोवैज्ञानिक त्रास नलिन सबै उद्योगी व्यवसायीलाई आग्रह गरेको उनले बताए । ‘लकडाउन भएमा नीजि क्षेत्रलाई त असर पर्छनै पर्छ त्यो भन्दा बढी राज्यलाई असर पर्छ’, श्रेष्ठले भने ।  कोरोनासंँग हरेक मानिस अभ्यस्त र अनुभवी भइसकेकोले पनि उद्योगी व्यवसायीलाई पुनः लकडाउन हुन्छ कि भन्ने त्रास पैदा भएको छ । केही दिनदेखिको कारोनाको ग्राफ उक्लिदै जांँदा  कतिपय व्यवसायमा यसको प्रभाव परिसकेको छ त कारोबार पनि घट्दै गइरहेको छ ।  ‘अहिले उद्योग व्यवसाय ८० प्रतिशत  लयमा फर्केको अवस्था थियो, चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले  भने, अब एक महीनामात्रै लकडाउन हुँदा व्यवसाय सन्तुलनमा आउन तीन महीनाभन्दा बढी समय लाग्छ । दैनिक ५ हजारभन्दा कम संक्रमित भए लकडाउन नहुने र गर्न नहुने उनले तर्क गरे । लकडाउन अन्तिम विकल्प नभएको भन्दै सरकार तथा निजी क्षेत्रले यस विषयमा समयमै समन्वय गरेर अघि बढ्नु पर्ने पौडेलले बताए ।  दोस्रो लहरको कोरोना भाइरस फैलिएका कारण व्यापार व्यवसायको कारोबारमा दैनिक रुपमा ह्रास आएको छ । एकातिर व्यवसायीले तिनुपर्ने रकम तिर्न सकेका छैनन त उठ्नुपर्ने रकमसमेत उठ्न सकेको छैन । व्यापारमा निर्भर व्यवसायीहरु पनि खरीदविक्रीमा असन्तुलन देखिसकेको बताउँछन् ।  चेम्बर अफ कमर्स चितवनका उपाध्यक्ष गोपाल भट्टराई भारतमा देखिएको नयांँ प्रकारको कोरोना भाइरसका कारण मनोवैज्ञानिक रुपमा स्वास्थ्य र व्यवसाय दुबैमा असर पुगिसकेको बताउँछन् । विस्तारै गतिलिएको व्यवसायलाई थप लगानी गर्न र व्यवसाय विस्तार गर्न व्यवसायीहरु पछि हटिसकेको उनले बताए ।  ‘अब के हुन्छ भन्ने व्यवसायीहरुमा त्रास छ’, भट्टराईले भने, ‘पहिलेको जस्तो सरकारले लकडाउन गरे हाम्रो व्यवसाय पुरै सखाप हुन्छ ।’ सरकारले लकडाउनलाई नै प्राथमिकतामा नराखेर अन्य विकल्प अपनाउनु पर्ने उनको धारणा छ । ‘उद्योग व्यवसायको लागि लकडाउन गर्नै हुन्न । यसको विकल्प तत्काल खोजिनु पर्छ । लकडाउनलाई अन्तिम विकल्पको रुपमा प्रयोग गरिनुपर्छ’, उनले भने ।