आभूषण व्यवसाय वार्षिक १० प्रतिशतले बढ्दो

काठमाडौं । नेपाल रत्न तथा आभूषण संघले वार्षिक १० प्रतिशतले व्यवसाय बढेको बताएको छ । शनिवार काठमाडौंमा सम्पन्न संघको १७औं वार्षिक साधारणसभामा आन्तरिक कारोबार तथा निर्यात बढ्दै गएको भन्दै व्यवसायीले कच्चा पदार्थको अभाव र प्रविधिमा लगानी कम हुँदा समस्या भएको बताएका छन् । कार्यक्रममा उद्योग सचिव अर्जुनप्रसाद पोखरेलले व्यवसायीसँग सहकार्य गरेरै अघि बढ्ने बताए । रत्न तथा आभूषणको व्यापारका लागि संघले बनाएको निर्देशिकाअनुसार यो व्यवसायको प्रवद्र्धन गर्न सरकारको सहयोगी भूमिका हुने उनको भनाइ छ । सो अवसरमा संघकी अध्यक्ष जोत्सना श्रेष्ठले यो क्षेत्रमा कच्चा पदार्थको अभाव रहेको विषय पटक–पटक उठाउँदै आए पनि सुनुवाइ नभएको बताइन् । आभूषण क्षेत्रका लागि कच्चा पदार्थ पर्याप्त नहुँदा बैंकको ब्याज, घरभाडा, कर्मचारीको तलबभत्ता, उपभोक्ताको माग पूरा नभएको भन्दै उनले गहन अध्ययन गरी समस्याको समाधान खोजिदिन आग्रह गरिन् । ‘हाम्रा लागि कच्चा पदार्थ भनेकै सुनचाँदी हो, तर देशको अर्थतन्त्रमा समस्या आउँदा कोटा घटाइन्छ भने आभूषण व्यवसाय सरकारको दृष्टिमा अनुत्पादक भएको छ ।’ विदेशबाट मागअनुसार कच्चा सुन ल्याएर नेपालमा गहना बनाई पुनः निकासी गर्न सक्ने नीति पनि ल्याइनुपर्नेमा उनले जोड दिइन् । निकासीका लागि जनशक्तिलाई तालीम दिन आवश्यक भएको पनि उनले बताइन् । बैंकिङ प्रणालीमा तरलता अभावले यो क्षेत्रको व्यापार व्यवसायमा पनि असर परेको उनको भनाइ छ । साथै नेपाल राष्ट्र बैंकले हीरा, बहुमूल्य पत्थर र चाँदी आयातमा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गर्दा व्यवसायी मारमा परेको बताइन् । संघले यस्ता वस्तुको आयातमा शतप्रतिशत नगद राख्नुपर्ने व्यवस्था परिमार्जन गरिनुपर्ने बताएको छ । २ वर्षअघि बनेको कार्यदलले दिएको सुझाव अझै कार्यान्वयन नभएको समेत संघले उल्लेख गरेको छ । विदेशमा भएका नेपालीमार्फत पनि नेपाली गहनाको माग बढ्दै गएको भन्दै संघले कच्चा पदार्थको अभाव हुँदा निर्यात गर्न नसकिएको बताएको छ । यसैगरी नेपालमा रहेका बहुमूल्य खानी सञ्चालनका लागि संघले सरकारसँग माग गरेको छ । कच्चा पदार्थ उत्खननमा समेत समस्या रहेको भन्दै संघले उत्खनन भइहाले पनि प्रशोधनका लागि बाहिर पठाउँदा ठूलो रकम विदेशिने गरेको बताएको छ । प्रविधिमा लगानी गर्न पनि संघले माग गरिएको छ ।