प्रविधिको विकासले सांस्कृतिक परिवर्तन गर्छ । प्रविधिको विकाससँगै उद्योग, व्यवसायका नयाँ नयाँ सम्भावना खुल्दै जान्छन् । ठूल्ठूला भौतिक संरचना निर्माणले प्रविधिको प्रसार गरेको हुन्छ । नेपालमा जलविद्युत्, सिँचाइ, खानेपानी, सडक, पुलका ठूला परियोजना निर्माण गर्नेक्रममा नवीन प्रविधि र सामग्रीको प्रयोग गर्न थालिएको छ । यसक्रमममा साना विद्युत् परियोजनाका लागि आवश्यकपर्ने पेन्सकिङ पाइपलगायतका सामग्री नेपालमा बनाइन थालेको छ । यस्ता कामले विश्वमा प्रचलित प्रविधिको विस्तार गर्ने र कतिपय अवस्थामा त्यसको स्थानीयकरण गर्न सहयोग गर्नेछ । नागढुङ्गा–नौबिसे सुरुङ मार्ग नेपालमा नयाँ प्रविधि प्रसार गर्ने परियोजना हुने भएको छ । सुरुङ खन्दा साधारणतया चट्टानी क्षेत्र निकै सुरक्षित, सुरक्षाका दृष्टिले उपयुक्त र तुलनात्मक रूपमा सस्तो हुने गर्छ तर चट्टान नभएका माटे क्षेत्रमा सुरुङ खन्दै जाने र त्यसलाई फलामे ढलानले टेको लगाउनुपर्ने हुन्छ । त्यसका लागि टेको लगाउन फलामका ठूला बिम (रिब्स्) आवश्यक पर्छन् । अन्यथा माटे सुरुङ भत्कने गर्छ । नागढुङ्गा–नौबिसे सुरुङ मार्गका लागि आवश्यकपर्ने यस्ता बिम नेपालमा नै पहिलो पटक बुटवलमा बन्ने भएको छ । यस्तो अवसरले एकातिर नेपालको सडक, जलविद्युत्, खानेपानी तथा सिँचाइमा सुरुङ संस्कृति विस्तार हुनेछ भने यस्ता सुरुङलाई आवश्यकपर्ने बिमजस्ता भारवहन गर्ने आवश्यक सामग्री नेपालमै उत्पादन हुनेछ ।